मानवअधिकार उल्लंघन

कर्णालीमा यो वर्ष पनि मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनअनुसार सन् २०२२ मा कर्णाली प्रदेशभर करिब पाँच सय माधवaअधिकार उल्लघनका घटना भएका छन् । वर्षभरी मानवअधिकार उल्लंघन तथा ज्यादतीका चार सय ९६ वटा घटना अभिलेख भएको छ । पीडित भएकामध्ये मानवअधिकार उल्लंघनका घटनामा चार महिला र २९ जना पुरुष गरी ३३ जना तथा ज्यादतीका तीन सय २८ महिला र एक सय ३५ पुरुष गरी चार सय ६३ जना पीडित भएका छन् । प्रतिवेदनअनुसार सन् २०२१ मा प्रदेशमा मानवअधिकार उल्लंघनका घटनामा चार सय ३० जना पीडित भएका थिए । त्यसमध्ये मानवअधिकार उल्लंघनका घटनामा चार महिला ३० पुरुष गरी ३४ जना तथा ज्यादतीका घटनामा तीन सय २० महिला र ७६ जना पुरुष गरी तीन सय ९३ जना पीडित भएका थिए ।

यो वर्ष कर्णालीमा राज्य पक्षबाट भएका कुटपिट घटनामा १५ जना, गिरफ्तारीका घटनामा एकजना, अमानवीय व्यवहारको घटनामा एकजना, संगठित भेलामा १५ जना पीडित भएका थिए भने एक जनाको थुनामा मृत्यु भएको थियो । प्रदेशभर यो वर्ष १६ जनाको हत्या भएको पाइएको छ । अन्य पक्षबाट १३ जना महिला र तीन जना पुरुषको हत्या भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ । गत वर्ष राज्य पक्षबाट एक जना पुरुष र अन्य पक्षबाट २० जनासहित ३४ जनाको हत्या भएको थियो । सन् २०२२ मा बालअधिकारका घटनामा ७७ जना बालिका र तीन जना बालक गरी ८० जना पीडित भएका छन् । भएका बालअधिकारका घटनामा बालविवाह १२, बेचबिखन तथा ओसार–पसारबाट तीन जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट एक जना, बलात्कार घटनामा ४९ जना, यौन दुव्र्यवहारका घटनामा ८३ जना बालिका र एक जना बालक गरी ८४ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्णालीमा विगत वर्षहरूमा जस्तै सन् २०२२ मा पनि पारिवारिक विभत्स घटनाहरूको संख्या उल्लेख्य रहेको पाइएको छ ।

पारिवारिक बेमेलका घटनाहरू बढ्दै आएको पाइएको छ । यो वर्ष घरेलु हिंसाका घटनामा दुई सय ११ जना पीडित भएका छन् । त्यसमध्ये घरेलु हिंसाका घटनामा एक सय ३२ जना, बोक्सी आरोपमा एक जना, बलात्कार घटनामा ३९ जना, बलात्कार प्रयासका घटनामा ११ जना, यौन दुव्र्यवहारको घटनामा आठ, बहुविवाह घटनामा २० जना पीडित भएको उल्लेख गरिएको छ । यो वर्ष कर्णालीमा परिवारजनबाट सात जना महिलाको हत्या भएको छ । गत वर्ष घरपरिवारबाट नौ महिलाको हत्या भएको थियो ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७९, मंगलवार १२:०९