सत्ताको चास्नी

जनताद्वारा जनताका लागि जनताकै रायबाट चलाइने शासन व्यवस्था नै प्रजातन्त्र हो । कलिलो स्कुले जीवनमा बुझेको यो बुझाई यथावत कायम छ । प्रजातन्त्र खोसेर खाने, राजनैतिक दलहरूलाई प्रतिबन्ध लगाउने, आफू र आफ्नै परिवारको मात्र ख्याल राख्ने दुष्ट, चण्डाल प्रवृत्ति भन्दै कटुवचनले दलको पक्षपाती भएर राजा महेन्द्रलाई उतिखेर गाली गरियो, जतिखेर देशमा आमूल परिवर्तनको संकेत देखिएको थियोे । यतिखेर वास्तविकता सबै नियालि हेर्दा महेन्द्र राजा त देशप्रेमी र साँच्चै दूरदर्शी रहेछन् भनेर बुझियो ।

२०१७ सालमा प्रजातन्त्र खोसेपछि उनको ठूलो आलोचना भएको हो । जुनसुकै बाध्यात्मक परिस्थिति आइपरेको भएपनि त्यस्तो नगरेको भए सदाकाल कलंकको भारी बोकिरहनु पर्ने थिएन, तर छिमेकीको किचकिच र दवाव झेलेर भएपनि महेन्द्रले समय काल र परिस्थिति अनुसार देश विकासमा गरेको योगदानलाई नजरअन्दाज गर्नु पूर्वाग्रह मात्र हुन्छ । यति फरक हुँदोरहेछ हल्ला सुन्नु र यथार्थ बुझ्नुमा ।

पञ्चायती शासनविरुद्ध २०४६ सालको परिवर्तनले, दलहरूमा प्रतिबन्ध लागेको बन्धनलाई चुटाल्यो र देशमा पुनः प्रजातन्त्र ल्यायो । प्रजातन्त्र सँगसँगै बेरिएर आएको विकृतिको वनमारा झार पनि निकै मौलायो । त्यो विकृतिले देशका उद्योग कलकारखाना कौडिमा फाल्यो, महाकाली बेच्यो, टनकपुर खायो, धमिजा काण्ड चपायो, लाउडा काण्ड पचायो । खसीबोका झैँ सांसदहरूको किनबेच ग¥यो र अन्तिममा प्रजातन्त्रलाई नै राजाको पाउमा चढायो । यसो भनिरहँदा कांग्रेस र कम्युनिष्टका इमानदार कार्यकर्तालाई अप्रिय लाग्ला तर सत्य अनिवार्य स्वीकार्नु पर्छ । किनकि सत्य स्वीकारेपछि मात्र आलोचना पचाउन सक्ने पाचन प्रणालीको विकास हुन्छ । देशलाई कंगाल बनाउने ती विकृत मानसिकताका अनैतिक पात्रहरू कोही मरेर गए, कोही जिउँदै छन् र अझ दाँत माझ्दैछ्न् ।

राजाको निरंकुश शासनलाई उक्काइ फाल्न र प्रजातन्त्रसँग गाँसिएर आएको विकृतिलाई नामेट पार्न त्यो शासन प्रणाली नै फेरिनु पर्छ भन्दै २०६३ सालमा जनआन्दोलन भयो । पछिल्लो यो परिवर्तनले देशबाट राजतन्त्रलाई बिदा गरेर गणतन्त्रको स्थापना ग¥यो । गणतन्त्रले ‘संसद् भनेको खसीको टाउको देखाइ कुकुरको मासु बेच्ने थलो हो’ भन्ने मान्यता राख्ने क्रान्तिकारीलाई सत्तामा हुल्यो । तबदेखि क्रान्तिकारीले खुब चपाइ रहेछन् कुकुरको मासु । मासुको डकार, पद पैसा र सत्ताले उन्मत्त भइ डर–दकस, लाज–सरम सबै त्यागेर २०४६ सालमा भित्रिएको विकृतिलाई समेत उछिन्दै धेरै अगाडि पुग्यो प्यारो गणतन्त्र ।

६ वर्षमा करिब ६ सय अर्ब रकम सकेर संविधानसभाले २०७२ सालमा विश्वकै महँगो तर जनताको लागि अत्यन्त निकृष्ट संविधान दियो । पछिल्ला दिनहरूमा संविधान निर्माण गर्न टाठाबाठा १०÷१२ जना बाहुन र २÷४ जना अन्य जातिका चतुर सभासदहरूले सिंहदरबारमा होइन राति राति कहिले तारे होटल त कहिले रिसोर्टहरूमा दौडादौड गरे । रिसोर्टमा कस्तो संविधान लेखिन्छ जनतालाई के थाहा ? संविधान लेखनका लागि जनताबाट संकलन गरिएको राय सुझाव सबै दबाइयो, त्यसो गरेर नेपाली जनतालाई कहिल्यै बिर्सन नसक्ने अपमानको उपहार दिएको छ संविधानले । ६ सय एकजना सभासदहरू मध्ये चतुर र टाठाबाठा करिब १४÷१५ जना कतै बन्द कोठामा बसेर जनताको दुहाई दिँदै आफूहरूलाई अनुकुल पारी संविधान लेखे । बाँकी पाँच सय बयासी या चौरासी जना सभासदलाई ताली बजाउन लगाए । त्यही एक दिन ताली बजाउने कामका लागि उनीहरूले ६ वर्षसम्म तलबभत्ता खाइरहे, तब पो देशले उन्नति प्रगतिमा खुबै फड्को मा¥यो । जनताको भावना अनुरूप संविधान संशोधन हुने कुरा पनि धागो चुटेर हावामा हराएको चंगा झैँ भयो । केही विद्वानहरूको ठम्याइ छ, यो संविधानमा कसैले आफूलाई बादशाहको रूपमा कल्पना गरेको छ र चलाकी पूर्वक अनेकौं छिद्रहरू राखेको छ, जो सामान्य आँखाले देखिँदैन । यस विषयमा संविधानमै दत्तचित्त दिइरहने संविधानका मर्मज्ञ तथा विशेषज्ञहरूलाई ज्यादा जानकारी होला । ऐन र संविधान बाझिएका कारण स्थानीय चुनाव पर सर्छ भनि गत स्थानीय निर्वाचन गर्नका निम्ति मिति तोक्ने सन्दर्भमा अत्तो थापिएको कुरा सबैमा जानकारी छदैछ ।

हिजो ४० सुत्रीय प्राय असम्भव माग राखेर जसकाविरुद्ध जसरी आन्दोलन छेडियो आज उनै व्यक्ति र प्रवृतिसँग घाँटी जोडेर स्थानीय र संसदीय दुवै निर्वाचनमा गठबन्धन गर्नुपर्ने भयो । गठबन्धनबाट अपेक्षित परिणाम नपाएपछि प्रतिगामी भनेर चुनावमा जसलाई सराप्दै घेराबन्दी गरिएको थियोे स्वार्थका लागि उसैका चरणमा शरण लिनुप¥यो । निष्ठा र नैतिकता पतन हुने यस्ता घृणित गतिविधिलाई हजम गर्न र दुनियाँ छल्न राजनीतिलाई सम्भावनाको खेल हो भनियो । यस्तो रद्दी सम्भावनाको खेल त पञ्चायत कालदेखि प्रजातान्त्रिक कालसम्म सूर्यबहादुर थापाले घरीघरी खेली नै रहेका थिए । थापाकै अनुसरण गर्नु थियोे भने दसवर्षे युद्धको औचित्य के हो ? राजनीतिको भिडमा केही नयाँ मान्छेहरू थपिएर स्थापित हुनका लागि मात्रै थियोे त त्यत्रो नरसंहार ? यो प्रश्नले नेतृत्वलाई सधै डसिरहने छ ।

पुष्पकमल दाहाल प्रचण्ड यो समीकरणसहित तीन पटक प्रधानमन्त्री भइसकेका छन, तर पनि द्वन्द्वपीडितका समस्या ज्युँका त्युंँ छन् । २०७१ सालमा गठनभएका बेपत्ता छानबिन आयोग र सत्य निरूपण तथा मेलेमिलाप आयोगका कर्मचारीले हाजिर गरेर तलब बुझ्नु बाहेक ठोस कार्य केही गर्न सकिरहेका छैनन् जबकि संचार माध्यमका अनुसार ती न्यायीक निकायमा ६० हजार उजुरी दर्ता गरिएको छ । १६ वर्षसम्म ती द्वन्द्व पीडितका समस्या सम्बोधन हुन नसक्नु विडम्बना होइन ? दाहालले पटकपटक अवसर पाएर पनि सत्तामा पुगेपछि यो विषयलाई यथावत रूपमा ओझेल पार्न खोजेको देखिन्छ । सुकाम गरेर उनलाई राजनेता बन्न सक्ने ठूलो अवसर समयले दिएकै हो, तर छोरीबुहारी, ज्वाईं, सम्धी र नातागोतालाई सरकारी पदमा व्यवस्थापन गर्नुपर्ने तुच्छ र क्षुद्र कारणले उनको उचाई निरन्तर घटीरहेको छ । पार्टीका स्वाभिमान नेता कार्यकर्ताको मन भाँचेर दाहालले आफ्ना प्रियपात्रलाई दोहो¥याई तेह¥याइ घरीघरी सत्तामा तानिरहेका छन् ।

एउटै व्यक्ति कहिले अर्थमन्त्री, कहिले उर्जामन्त्री, कहिले गृहमन्त्री, कहिले सभामुख बनेको घटना सबैमा छर्लङ्ग छ । श्रीमान मन्त्री हुँदा श्रीमतीलाई सभामुख बनाइएको छ । त्यत्रो पार्टीमा योग्य व्यक्ति अरु नभएर हो त निश्चित व्यक्तिहरू मात्र योग्य हुने ? अवश्य होइन, अरुलाई पेलेर जान सकिन्छ भन्ने मानसिकता हो । यस्तै थिचोमिचो र ज्यादतीले गर्दा पार्टीका बफादार नेता कार्यकर्ता छेउ लागेका पलायन भएका मात्र छैनन् पार्टी पनि कमजोरी भैरहेको छ, जनाधार घटिरहेको छ । तब पनि उनको मनमा प्रचण्ड नामको ब्राण्ड मात्रै बिक्छ भन्ने विश्वासले जरा गाडेको छ । त्यसकरण भित्रभित्रै पार्टीको नाम र चुनाव चिन्ह फेर्ने जोखाना पनि हेर्दैछन् । पार्टी निर्माणमा भन्दा पनि समीकरणबाट कसरी सत्तामा पुग्ने र चास्नीमा डुबुल्की मार्ने भन्ने ध्याउन्नमा उनी एकोहोरो लागि रहेका देखिन्छन् । मान्छेको ईमान जमान सिद्धान्त निष्ठा नैतिकता लाज–सरम संकोच सबै सत्ताको चास्नीमा बिलाउँदो रहेछ । परिवर्तनका लागि हिजो ज्यानको बाजि थापेर लडेका पार्टी नेता र कार्यकर्ता अनेक बहानामा लगातार पछाडि पारिएका छन् । आज मुर्तिचोर सुदखोर र बिचौलियाहरू पैसाले किनेर अवसर फुत्काइ रहेका छ्न । यस्तो अवस्थामा कार्यकर्ता कसरी जुरमुराउनु सक्छन् !

देश विकासमा कुनै राजनीतिक पार्टी र नेताको ध्यान जान सकेन । ढुकुटी लुटेर नीतिगत निर्णय गरी टाउको जोगाउनु मा तल्लीन देखिए सबै । हिजो अर्थमन्त्रालयको सीसीटिभी फुटेज हराउनु र एम अधिकारी कतै पनि फेला नपर्नु यसको ज्वलन्त उदाहरण हो । देशको राजनीति सङ्लनुको सट्टा झन् झन् धमिलिदै गएको छ । चुनावी परिणाम पछि पनि यो व्यवस्थामा आम जनताले गौरव गर्न सकिरहेका छैनन् । दिन प्रतिदिन मनमा घृणा र वितृष्णा बढ्दै गइरहेको छ । घृणाको भलले बाँध फुटाल्यो भने यो व्यवस्था बाँकी रहला नरहला भविष्यले बताउला ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७९, आईतवार ०५:०४