महिला सशक्तिकरणलाई प्राथमिकता

सुर्खेत: सल्यानको कालीमाटी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि महिला सशक्तिकरण शीर्षकमा १५ लाख बजेट छुट्याएको छ । लक्षित वर्गका महिलाहरूको जीवनस्तर उकास्न विभिन्न सीपमूलक कार्यक्रम सञ्चालनका लागि पालिकाले उक्त बजेट विनियोजन गरेको हो । पछिल्ला वर्षहरूमा महिलाहरूको सशक्तिकरणको पाटोलाई प्राथमिकता दिँदै आएको पालिकाले यो वर्ष पनि विभिन्न क्षमता विकास तालिम तथा गोष्ठीहरू सञ्चालन गरिरहेको छ । महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउनका लागि थुप्रै कार्यक्रमहरू अघि बढाइएको गाउँपालिका अध्यक्ष दानबहादुर केसी बताउँछन् । उनले महिलाहरूको सीप तथा क्षमता विकासका लागि नीति–कार्यक्रम र बजेटमा प्राथमिकता दिएको जनाए । ‘लक्षित वर्गका महिलाहरूको सशक्तिकरण आवश्यक रहेको महशुस गरेर यो वर्ष विगतभन्दा धेरै र व्यवहारिक कार्यक्रमहरू ल्याएका छौँ,’ उनले भने, ‘खासगरी बेरोजगारको दर कम गर्न सीपमूलक तालिममा जोड दिइएको छ ।’ महिलाहरूलाई आत्मविश्वासी बनाउन सशक्तिकरणका कार्यक्रम आवश्यक रहेको केसीले बताए ।

कालीमाटी गाउँपालिकाले विशेषगरी सीमान्तकृत समुदायका महिलाहरूलाई लक्षित गरेर होटल व्यवसाय, साबुन उत्पादन, सिलाइकटाई, पटरी उत्पादनलगायतका तालिम सञ्चालन गरिरहेको छ । पालिका र गैरसरकारी संस्थासमेतको लगानीमा महिलाहरूलाई स्वरोजगार बनाउन कार्यक्रमहरू सञ्चालन भइरहेका हुन् । सीप विकासका अवसर सिर्जना गरेर महिलाहरूको जीवनस्तर उकास्ने तथा विकराल रूपमा रहेको बेरोजगारी समस्याको दर न्यूनीकरण गर्ने पालिकाको उद्देश्य रहेको जनाइएको छ । आर्थिकस्तर सीप र उद्यमसँग जोडिने भएकाले उक्त सवाललाई प्राथमिकता दिएर अघि बढिएको अध्यक्ष केसीको भनाइ छ । अहिले गाउँपालिकाका सातवटै वडामा महिला तथा युवाहरूका लागि लघुउद्यमका कार्यक्रम सञ्चालन गरिएका छन् ।

सल्यानकै छत्रेश्वरी गाउँपालिकाले पनि महिला सशक्तिकरणका लागि सीपमूलक तालिम कार्यक्रममा जोड दिएको छ । महिलाहरूले दैनिक जीवनमा आइपर्ने व्यक्तिगत र पारिवारीक समस्याहरू आफैले समाधान गर्न सक्ने खालको अवधारणाअनुुसार विभिन्न कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष ओजबहादुर बुुढाथोकीको दाबी छ । ‘महिला सशक्तिकरणलाई आर्थिक उपार्जनसँग जोडेर गरिबी हटाउने प्रयास थालिएको छ,’ उनले भने, ‘हाम्रो मूल उद्देश्य महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने हो ।’ अहिले पनि पालिकामा घरायसी काम र मेलापातमा मात्रै सीमित महिलाहरूको संख्या ठूलो रहेकाले उनीहरूका लागि व्यावसायिक सीप विकासका तालिमहरू सुरु गरिएको जनाइएको छ । पालिकाले यो वर्ष लक्षित वर्गका महिला र युवाहरूका लागि क्षमता विकासलगायतका कार्यक्रममा लाखौ रकम विनियोजन गरेको छ । त्यसमध्ये कतिपय बजेट र कार्यक्रम कार्यान्वयन भइसकेका छन् भने केही सञ्चालनको तयारीमा रहेको पालिकाले जनाएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकाले महिला सशक्तिकरण अन्तर्गत विभिन्न शीर्षकमा गरी चालु आर्थिक वर्षमा झन्डै १० लाख बजेट विनियोजन गरेको छ । महिलाहरूलाई आत्मनिरर्भरको बाटोतर्फ अगाडि बढाउन सीप तथा सशक्तिकरण अभियान थालिएको नगर प्रमुख राजुसिंह कठायत बताउँछन् । उनी भन्छन्, ‘महिलाहरूलाई आत्मनिर्भर बनाउन उनीहरूको चेतनास्तरसँगै सीप विकासमा जोड दिइएको छ ।’ अध्यक्ष सिंहका अनुसार महिलाहरूको लागि सशक्तिकरण, सीप तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालनलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको हो । अघिल्लो कार्यकालमा नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन कुखुरा, बाख्रा पालनलगायतका अनुुदानका कार्यक्रम ल्याएको थियो । ती कार्यक्रम खासै प्रभावकारी नभएको पाइएपछि यस पटक भने सीप विकासमा जोड दिइएको छ । ‘अनुदान बाँडेर बानी बिगार्नुभन्दा सीप दिएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने उद्देश्य लिइएको छ,’ अध्यक्ष सिंहले भने । नगरपालिकाले अहिले विभिन्न प्रकृतिका सीपमूलक तालिमहरू दिइरहेको छ भने त्यस्ता कार्यक्रममा महिलाहरूको सहभागिता पनि उल्लेखनीय छ । सिलाइबुनाइदेखि आधुनिक प्रविधिका तालिमसमेत नगरपालिकाले सञ्चालन गरिरहेको बताइएको छ । यो पालिकामा महिलालाई उद्यमसँग जोड्नका लागि लघुउद्यमका कार्यक्रममा बढी जोड दिइएको छ ।

महिलाहरूको सशक्तिकरणमा लगानी गरिरहेका यी केही प्रतिनिधिमूलक पालिका मात्रै हुन् । पहिलो कार्यकालमा पूर्वाधार निर्माणमा जोड दिएका अधिकांश स्थानीय सरकारले दोस्रो कार्यकालमा भने आर्थिक र सामाजिक विकासमा पनि लगानी बढाउन थालेका छन् । अहिले पालिकाहरू पूर्वाधार निर्माणसँगै सामाजिक विकासका सवालहरूको नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा जुटेका हुन् । पहिलोभन्दा दोस्रो कार्यकालमा महिला सशक्तिकरणका मुद्दामा जनप्रतिनिधिहरू बढी जिम्मेवार बन्दै गएको पाइएको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञावलीले बताइन् । अहिले पालिकाहरूले देखासिकी भन्दा पनि स्थानीय आवश्यकताको आधारमा कार्यक्रम बनाएर अघि बढ्न थालेका छन् । जसले गर्दा महिला तथा लक्षित वर्गका कार्यक्रम स्थानीय सरकारको प्राथमिकतामा पर्न थालेको ज्ञवालीको भनाइ छ ।

महिला सशक्तिकरण मञ्च नेपालका कार्यक्रम संयोजक लक्ष्मी जिसीले पालिकाहरूमा राम्रो अभ्यासको थालनी भएपनि महिलाहरूको जीवनस्तर उकास्न अझै थुप्रै कार्यक्रम आवश्यक रहेको बताउँछिन् । उनले महिला लक्षित कार्यक्रमका लागि अहिले पनि न्यून बजेट विनियोजन हुने गरेको जनाइन् । पर्याप्त बजेट तथा कार्यक्रमको व्यवस्था गरेर ज्ञान, सीप प्रदान गर्न सके सीमान्तकृत महिलाहरूको अवस्थामा क्रमिकरूपमा सुधार ल्याउन सकिने जिसीको भनाइ छ । समाजको समग्र विकासका लागि महिलाहरूको आर्थिक र सामाजिक सशक्तिकरणमा जोड दिन आवश्यक रहेको अधिकारकर्मीहरूले बताउने गरेका छन् । ग्रामीण भेकमा कानुनी सचेतना, महिला जागरण, सीपमूलक तालिम जरुरी रहेको उनीहरूले बताउने गरेका हुन् ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७९, शनिबार ०५:०५