आजदेखि कर्णाली उत्सव

सुर्खेत: कर्णाली उत्सवको चौथो संस्करण आज (शुक्रवार) देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । आयोजक ऋति फाउन्डेसनले बिहीवार पत्रकार सम्मेलन गरेर उत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा कर्णाली उत्सवका संयोजक कमल लम्सालले सार्वजनिक बहसमार्फत कर्णालीका विविध विषयको उठान गर्न हरेक वर्ष उत्सव आयोजना गर्ने गरिएको जनाए । शुक्रवार बिहान ११ बजे उत्सवको उद्घाटन समारोह हुँदैछ । त्यसअघि बिहान १० बजे बाजासहित ¥याली निकालिने जनाइएको छ ।

उत्सवको पहिलो दिन ६ वटा बहसमूलक सत्र सञ्चालन हुनेछन् । जसमा कर्णाली चिन्तन, कर्णाली खेल्दोछ, यो सहरः त्यो सहर, भोट–भेट, शिक्षा र समर्पण रहेका छन् । सत्रहरूको बीचमा ‘पैकेलो’का कथा सुनाउने गरिएको छ । हरेक दिन एक–एक जना पैकेलोको कथा सुनाइने संयोजक लम्सालले जानकारी दिए ।

उत्सवको दोस्रो दिन शनिवार दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघीयताको पाँच वर्ष, कति विस्मात, कति हर्ष, कर्णाली नदी प्रणाली र कर्णालीमा लगानी सत्र सञ्चालन हुनेछन् भने तेस्रो अर्थात् अन्तिम दिन रूपान्तरणः पुस्तान्तरण, सग्लो समाज, सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौंसम्म सत्र सञ्चालन हुनेछन् । उत्सवको चौथो संस्कराणको पहिलो र दोस्रो दिन दुई वटा विद्वत प्रवचन पनि रहने जनाइएको छ । जसअन्तर्गत पहिलो दिन निर्वाचन र लोकतन्त्र विषयमा प्रवचन रहनेछ भने दोस्रो दिन विकास र सुशासन विषयमा हुनेछ । उत्सवको तीन दिनसम्म अन्तिममा कर्णाली कन्सर्ट सञ्चालन गरिनेछ । जसअन्तर्गत पहिलो दिन सांगीतिक साँझ, दोस्रो दिन कविता साँझ र तेस्रो दिन गजल सन्ध्या चल्नेछन् ।

बुलबुले उद्यानमा २०७६ देखि हरेक वर्ष कर्णाली उत्सव सञ्चालन गर्ने गरिएको छ । ‘कुडा कर्नालीका’ नारा रहेको उत्सवमा हालसम्म ५० भन्दा बढी विषयमा छलफल गरिएको आयोजकले जनाएको छ । यसपटक पनि उत्सवमा देशभरबाट ५० जनाभन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरू अतिथि वक्ताको रूपमा सहभागी हुने उनले जानकारी दिए ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७९, शुक्रबार ०७:५९