बजेट कार्यान्वयनमा स्थानीय सरकार कमजोर
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १८ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७९÷०८० का लागि पुँजीगततर्फ ५० करोड बजेट विनियोजन गरिएकोमा करिब नौ करोड खर्च भएको छ । पूर्ण बजेट कार्यान्वयनका लागि बाँकी रहेको ६ महिनामा ४१ करोड खर्च गर्नुपर्ने हुन्छ ।
नगरपालिकाले पुँजीगतको तुलनामा चालुतर्फको बजेट खर्च भने बढी गरेको छ । चालु र पुुँजीगत गरी ४१ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए । यो वर्षका लागि वीरेन्द्रनगरले कूल एक अर्ब ९४ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै सल्यानको शारदा नगरपालिकाको विकास बजेट खर्च अझ निराशाजनक छ । नगरपालिकाले गत साउनदेखि पुस मसान्तसम्म १० दशमलव ७२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको हो । यो वर्षका लागि ६७ करोड ५० लाख ८७ हजार बजेट विनियोजन गरेको नगरपालिकाले चालु र पुुँजीगत गरी ४२ प्रतिशत बजेट खर्च गरेको छ । जसमध्ये पुँजीगततर्फ १७ करोड ५६ लाख बजेट विनियोजन भएकोमा एक करोड ८७ लाख २८ हजार मात्रै खर्च गरिएको छ । चालुुतर्फ भने ४९ करोड ९४ लाख ६० हजार विनियोजन भएकोमा ६ महिनाको अवधिमा १५ करोड ९६ लाख खर्च गरेको हो । चालुु बजेट ३२ प्रतिशत कार्यान्वयन गर्दा पुँजीगत बजेट खर्च १० प्रतिशतभन्दा पनि कम छ ।
वीरेन्द्रनगर र शारदाजस्तै दैलेखको भगवतीमाई गाउँपालिका पनि बजेट खर्चमा कमजोर देखिएको छ । हालसम्म पुँजीगत खर्च १५ प्रतिशत मात्र भएको छ । चालुु आर्थिक वर्षमा पालिकाको कूल बजेट ५० करोड ८२ लाख ६३ हजार रहेको छ । पालिकाको चालुु र पुँजीगत खर्च गरी १४ करोड ८९ लाख खर्च भएको छ । पुँजीगत बजेट १९ करोड ९७ लाख १५ हजार रहेकोमा हालसम्म तीन करोड १४ लाख ७० हजार खर्च भएको पालिकाका योजना तथा अनुगमन शाखा प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार हालसम्म पालिकाको कूल बजेट खर्च २९.३१ प्रतिशत रहेको छ ।
दैलेखकै नारायण नगरपालिका गत आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ६ महिनाको खर्च वृद्ध गरेपनि विकास बजेटको कार्यान्वयनमा भने चुकेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म नारायाण्ले कूल बजेटको २४ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा पालिकाले कूल बजेटको ३३ दशमलव तीन प्रतिशत बजेट कार्यान्वयन गरेको हो । पुँजीगत बजेट खर्च भने निराशाजनक नै रहेको छ । नगरले साउनदेखि पुस मसान्तसम्म १३ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।
पहिलो कार्यकालमा जस्तै दोस्रो कार्यकालमा पनि स्थानीय सरकार बजेट कार्यान्वयनमा असफल देखिएका छन् । कर्णाली प्रदेशका अधिकांश पालिकामा चालुतर्फको पर्याप्त खर्च हुने तर पुँजीगत खर्च न्यून हुने विगतकै समस्या दोहोरिएको देखिन्छ ।
विकास बजेट कार्यान्वयनमा मात्रै होइन आन्तरिक आम्दानी बढाउन पनि स्थानीय सरकार सफल हुन सकेका छैनन् । शारदा नगरपालिकाले यो अवधिका लागि निर्धारण गरेको लक्ष्यभन्दा न्यून राजस्व संकलन गरेको छ । पालिकाका लेखापाल श्यामबहादुर सिंहले एक करोड ८० लाख राजस्व उठाउने लक्ष्य लिइएकोमा दश लाख ३३ हजार मात्रै संकलन भएको जानकारी दिए । आर्थिक क्रियाकलाप कम भएकाले विकास बजेट खर्च न्यून देखिएको उनी बताउँछन् । ‘पालिकामा वित्तीय क्रियाकलाप न्यून भएकाले अपेक्षित राजस्व संकलन हुन सकेको छैन । विकास खर्चसमेत अपेक्षित रूपमा हुन सकेको छैन’ सिंहले भने ।
भगवतीमाई गाउँपालिकाले ५३ लाख २० हजार आन्तरिक आम्दानीको लक्ष्य लिएको छ । जसमध्ये हालसम्म पालिकाले १३ लाख ७६ हजार राजस्व संकलन गरेको छ । गाउँपालिकाका योजना तथा अनुुगमन शाखा प्रमुुख खड्काले राजस्व संकलन लक्ष्यभन्दा निकै कम उठ्ने गरेको बताए । उनले भने, ‘कतिपय कर अनलाइनको सिस्टमबाट काट्नुुपर्ने हुुन्छ । इन्टरनेटको पहुुँच नहुँदा समस्या छ । कतिपय स्थानीय सरकारले उठाउनुुपर्ने करसमेत उठ्न सकिरहेको छैन ।’
प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा २८ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । हालसम्म नौ करोड मात्र संकलन गरेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण ढिला गरेकाले कर कम उठेको प्रमुुख प्रशासकीय अधिकृत तिवारीले बताए । उनका अनुुसार पालिकामा वित्तीय क्रियाकलाप न्यून भएकाले अपेक्षित राजस्व संकलन हुन नसकेको हो । राजस्व कम संकलन हुनुमा जग्गा रजिष्ट्रेशन कर नउठ्नु, बाँडफाँट अन्तर्गतको राजस्व प्रदेशबाट प्राप्त नहुनु र तोकिएका लक्ष्यमा राजस्व कम हुनुले अपेक्षित उपलब्धि हासिल नभएको उनको भनाइ छ ।
रजनी याेगी ।