पारिश्रमिकबाट सामाजिक सेवा
सुर्खेत: भेरीगंगा नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष गणेश भण्डारीले आफ्नो पारिश्रमिकसहितको सेवा, सुविधा सामाजिक कार्यमा खर्च गर्ने भएका छन् । निर्वाचनको समयमै जनता सामु मत माग्दा सरकारी सेवा, सुविधा सामाजिक कार्यमै खर्च गर्ने गरेको बाचा अहिले पूरा गरेका हुन् । जनताको बीचमा गरेको बाचा अनुसार अध्यक्ष भण्डारीले आफ्नो सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्न सुरु गरेका छन् ।
वडाअध्यक्षको हैसियतले प्राप्त गर्ने पारिश्रमिकसहित अन्य सेवा, सुविधाको रकम विद्यार्थीलाई छात्रवृत्ति, ज्येष्ठ नागरिकलाई सम्मान, शहिद परिवारलाई सम्मान र अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गर्ने जस्ता सामाजिक कार्यमा खर्चिएका छन् । अध्यक्ष भण्डारीले आफूले हालसम्म पाएको सेवा सुविधाको रकम र अन्य समाज सेवी व्यक्तिहरूबाट संकलन भएको सहयोग रकमबाट आमा वा बुवा अथवा दुवै गुमाएका वडाभित्रका कक्षा एक देखि १२ सम्मका ६६ जना विद्यार्थीहरूलाई पैतिस सयका दरले दुई लाख ३१ हजार रूपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको जानकारी दिए ।
त्यस्तै, वडाका ८० वर्षमाथिका ६२ जना ज्येष्ठ नागरिक, ११ घरका शहिद परिवार र अन्तर जातिय विवाह गर्ने सात वडा जोडीलाई नगदसहित सम्मान गरिएको छ । ‘निस्वार्थ भएर समाज सेवा गर्छु भनेर राजनीतिमा होमिएको हुँ, त्यसैले आफ्नो सेवा सुविधा कटौती गरेर मैले समाज परिवर्तनका निम्ति आफैँबाट सुरुवात गरेको हुँ’ भण्डारीले भने ।
वडा अध्यक्ष भण्डारीले पाँच वर्षे कार्यकालबाट पाएको पारिश्रमिक र अन्य सेवा, सुविधाको रकम यसै गरी सामाजिक कार्यमा खर्चिने प्रतिवद्धता गरेका छन् । आफ्नै पारिश्रमिक र सेवा, सुविधाबाट निकट भविष्यमा अक्षयकोषको समेत स्थापना गरिने जानकारी दिए । ‘मैले पाँच वर्षे कार्यकालमा पाउने जति पनि सेवा सुविधा हुन्छ, सधै सामाजिक कार्यमा खर्च गर्ने योजना बनाएको छु’ उनले प्रतिवद्धता जनाउँदै भने, ‘अब छिटै वडामा अक्षयकोषको स्थापना गर्छु ।’
प्रकाशित मितिः ५ फाल्गुन २०७९, शुक्रबार ०५:०१
साझा बिसौनी ।