प्राङ्गारिक मलले उत्पादन दोब्बर

सुर्खेत: जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ का लक्ष्मीचन्द्र विष्ट विगत लामो समयदेखि फलफूल खेति गर्दै आएका छन् । उनका चार वटा स्याउ बगैचा छन् । स्याउ खेतिमा प्राङ्गगारिक मलको प्रयोग गर्छन् । यसले उत्पादन दोब्बर भएको उनको अनुभव छ । ‘प्राङ्गगारिक विषादी प्रयोग गर्दा स्याउको उत्पादन पनि बढेको छ, स्वादमा पनि सुधार भएको छ’ उनले भने ।

दैलेखको दुल्लू नगरपालिका वडा नम्बर ११ की सिता थापाले पनि अहिले खेतबारीमा प्राङ्गगारिक विषादी मात्रै प्रयोग गर्छिन् । पहिले गोठेमल प्रयोग गर्दा उत्पादन घट्छ भन्ने गलत बुझाइ थियो, तर त्यही प्राङ्गारिक मल नै खेतिका लागि सबैभन्दा उत्तम रहेछ भन्ने उनले अहिले बुझिन् । उनले भनिन्, ‘प्राङ्गगारिक खेतीमा कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद प्रयोग गर्ने गरेका छौँ ।’ प्राङ्गगारिक मलको प्रयोगले उत्पादन दोब्बरले वृद्धि हुने गरेको उनले सुनाइन । खाद्यन्न बाली तथा फूलफूलका खेतिका लागि प्राङ्गगारिक मल नै उत्तम हुने गरेको उनको बुझाइ छ ।

सोही वडाकी पिपला बोगटीले सुुन्तला खेति गर्दै आइरहेकी छिन् । कर्णालीमा प्राङ्गगारिक प्रवद्र्धनका लागि सरोकारवाहरूको क्षमता अभिवृद्धि उपलब्धि एवम् भावी कार्यदिशा विषयक गोष्ठीमा सहभागी बोगटीले प्राङ्गगारिक मलले लाभ पुगेको बताइन् । उनले भनिन्, ‘पहिले एक दिनको बाटो हिँडेर सदररमुकाम पुगेर रासानिक मल ल्याएर प्रयोग गरिन्थ्यो । केही वर्ष राम्रै उत्पादन भयो । अहिले बालीसँगै माटोनै बिग्रिने अवस्थामा पुग्यो । पुनः प्राङ्गगारिक मलको प्रयोग गर्न थालेका छौँ ।’ प्राङ्गगारिक मलको प्रयोग गर्न थालेपछि खाद्यन्न तथा फलफूल खेतिको उत्पादन बढेको भन्दै अहिले उत्पादन दोब्बर हुने गरेको उनले सुनाइन् ।

यसैबीच कर्णाली प्रदेश सरकारले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएको छ । प्राङ्गारिक प्रदेश बनाउने निर्णय गरेको सरकारले सोहीबमोजिमका नीति तथा कार्यदिशा निर्माण गर्दैछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले रासानिक मल आयात शून्य पार्नेगरी नीति तथा कार्यक्रम अघि सारिने जनाएका छन् । किसानको जीवनस्तर सुधार गर्ने लाखका कार्यक्रम कार्यन्वयन हुने उनको भनाइ छ ।

कर्णाली आफैमा अर्गानिक प्रदेश भएकाले प्राङ्गगारिक मलको प्रयोग मूल्यवान अर्गानिक खाद्यवस्तु उत्पादनमा जोड दिनुपर्ने मन्त्री शर्माले बताए । कर्णालीमा प्राङ्गगारिक प्रवद्र्धनका लागि उपलब्धि एवम् भावी कार्यदिशा विषयक गोष्ठिमा बोल्दै मन्त्री शर्माले गैरसरकारी संस्था सहयोगी बन्न सक्ने बताए । उनले भने, ‘अब बन्ने योजना ठोस, लक्ष्य हासिल गर्ने र प्रतिफल आउनसक्ने बनाइने छ । मन्त्रालयले नयाँ ढाचाअनुसार कार्यक्रम सञ्चालन गर्नेछ ।’

कृषि क्षेत्रको विस्तारका लागि विज्ञसहितको अध्ययन आवश्यक रहेको मन्त्री शर्माले बताए । भूगोल र माटो सुहाउँदो खेती गर्नका लागि सम्बन्धित क्षेत्रमा अध्ययन गरिने उनको भनाइ छ । कर्णालीमा उत्पादन भएका वस्तु अर्गानिक हुने गरेको भएता पनि यसको उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने बेला आएको शर्माले बताए ।

कृषि प्रणालीलाई वैज्ञानिक रूपमा अघि बढाउन जनशक्ति अभाव रहेको मन्त्रालयका सचिव डा. लेखराज दाहालले जनाए । उनकाअनुसार कर्णालीमा विशेषज्ञता, स्रोत व्यवस्थापन, जनशक्ति अभाव मुख्य चुनौती बनेका छन् । आगामी वर्षको कार्यक्रम तर्जुुमाका विषयमा सरोकारवालाहरूको सुुझाव महŒवपूर्ण हुने उनको भनाइ छ । उनले भने, ‘आगामी कार्यक्रम सरोकारवालाको सुुझाव, विज्ञसहितको अध्ययनको आधारमा गरिनेछ ।’

बुधवार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्राङ्गारिक कृषि प्रवद्र्धनका भावी कार्यदिशा सम्बन्धी बृहत् संवाद कार्यक्रममा आमन्त्रित सरोकारवालाले आवश्यक अध्ययन गरेर मात्र कृषि क्षेत्रको विकास र विस्तार गर्न सुझाव दिएका छन् । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका तालिम विशेषज्ञ मधुसुधन पौडेलले कार्यपत्र प्रस्तुत गर्दै कर्णालीमा प्राङ्गगारिक मलको प्रयोग गर्ने कृषकले उत्पादन दोब्बरले वृद्धि गरेको बताए । उनका अनुसार कर्णालीमा उत्पादन हुने रैथाने कृषि वस्तुको पहिचान मौलाउँदै गएको छ । ‘कर्णालीमा उत्पादन हुने फलफूल र खाद्यवस्तुको चिनारी, उत्पादन पहिलेको तुलनामा बढेको छ’ उनले भने, ‘अर्गानिक प्रदेशको अवधारणालाई आत्मसाथ गर्दै नयाँ प्रविधिको खेति आवश्यक छ ।’

प्रकाशित मितिः   ४ फाल्गुन २०७९, बिहीबार ०५:०५