भेरी–बबई डाइभर्सन

विद्युतगृह निर्माणमा तीव्रता

आयोजनाको कूल ३६ अर्ब ८० करोड ७७ लाख रूपैयाँ लागतमध्ये हालसम्म १५ अर्ब ७६ करोड १६ लाख ३१ रूपैयाँ खर्च भइसकेको छ । आयोजनाको वित्तीय प्रगति ४२ दशमलव ८२ तथा भौतिक प्रगति ५८ दशमलव पाँच प्रतिशत हासिल भएको जनाइएको छ ।

सुर्खेत: भेरी–बबई डाइभर्सन आयोजना निर्माण कार्यले तीव्रता पाएको छ । निर्धारित समयअगावै पहिलो चरणको काम सम्पन्न गरेको आयोजनाले अहिले धमाधम दोस्रो चरणका कार्य अघि बढाएको हो । दोस्रो चरण अन्तर्गत बाँध र विद्युतगृहसहितका निर्माण कार्य भइरहेको आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इञ्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिए ।

आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युतगृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभीसँग २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० सम्म सक्नुुपर्ने हुन्छ । हालसम्म आयोजनाको प्रगति उत्साहजनक देखिएको छ । सूचना अधिकारी सुवेदीका अनुसार अहिले आयोजनाको मुख्य काममा दुई सय जनाले नियमित काम गरिरहेका छन् । कामको चाप बढेसँगै कामदारको संख्या पनि वृद्धि हुने सुवेदीले जनाए । त्यसबाहेक अन्य सहायक योजनाहरूमा पनि दुई सयकै हाराहारीका कामदारले काम गरिरहेका छन् ।

आयोजना अन्तर्गत हाइड्रोमेकानिकल तर्फको काम तीव्र गतिमा भइरहेको छ । हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी कामका लागि चीनको ज्हेजियाङ ओरिएन्ट इञ्जिनियरिङ कम्पनीसँग दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार नौ सय १६ रूपैयाँमा सम्झौता भएको थियो । त्यसमध्ये हालसम्म २१ करोड २७ लाख ४५ हजार बजेट खर्च भएको छ ।

त्यसैगरी सिभिलअन्तर्गत ६ अर्ब १६ करोड ५२ लाख रकम सम्झौता भएकोमा दुई अर्ब ४५ करोड ७९ लाख रकम खर्च भएको छ । हेडवक्र्स, विद्युतगृह निर्माणलगायतलाई तीन चरणमा विभाजन गरेर काम भइरहेको सूचना अधिकारी सुवेदीले जनाए । निर्धारित समयभित्रै सम्पन्न गर्नेगरी कार्य सञ्चालन भइरहेको उनले बताए ।

आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको योजना सम्पन्न गर्न तीन अर्ब २८ करोड ८० लाखको सम्झौता गरिएको छ । गत साउनमा सम्झौता गरिएकोमा हालसम्म पाँच करोड ७२ लाख बजेट खर्च भएको छ । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनसाथै सर्ज साफ्ट निर्माणसँगै पाईलिङ्ग लगायतका कामलाई तीव्रता दिएका छौँ’ सुवेदीले भने ।

भेरी–बबई आयोजनाको कूल ३६ अर्ब ८० करोड ७७ लाख रूपैयाँ लागतमध्ये हालसम्म १५ अर्ब ७६ करोड १६ लाख ३१ रूपैयाँ खर्च भइसकेको बताए । आयोजनाको वित्तीय प्रगति ४२ दशमलव ८२ तथा भौतिक प्रगति ५८ दशमलव पाँच प्रतिशत हासिल भएको सुवेदीले जानकारी दिए । चालु आर्थिक वर्षमा सरकारले आयोजनाका लागि कूल दुई अर्ब २७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ । वार्षिक बजेटमध्ये पुष मसान्तसम्म ३३ करोड नौ लाख कूल बजेट खर्च भएको छ ।

यसैबीच भेरी–बबई डाइभर्सन अन्तर्गत मूल आयोजनाको काम धमाधम चलिरहँदा थप आयोजना प्रस्तावको रूपमा राखिएको छ । बबई मानखोला आयोजनालाई प्रस्तावको रूपमा राखिएको हो । मूल आयोजनाको लागतमा बचेको रकम भित्रै पर्नेगरी आयोजना प्रस्तावको रूपमा राखिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनका अनुसार बबई मानखोला आयोजनाको अध्ययनको काम भइरहेको छ । बर्दिया र बाकेको थप क्षेत्रमा सिञ्चित गर्ने र त्यहाँबाट १२ मेघावट विद्युत निकाल्ने उद्देश्य राखिएको छ ।

त्यसैगरी भेरी करिडोर सिँचाइ विकास आयोजना सपोर्टिङ्क आयोजनाको रूपमा अघि सारिएको छ । उक्त आयोजना अन्तर्गत कुलो निर्माणको काम भइरहेको छ । लिफ्टको कार्यक्रमसमेत उक्त आयोजनामा रहेको छ । सहायक आयोजना अन्तर्गत तटबन्धनका काम पनि गर्ने बताइएको छ । यसबाहेक सामाजिक उत्तरदायित्व कार्यक्रमसमेत आयोजनाले सँगसँगै सुरु गरेको छ । ‘वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई पनि राखिएको प्राथमिकतामा राखिएको छ’ सुवेदीले भने ।

सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी–बबई डाइभर्सन जलविद्युत कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । आन्तरिक स्रोतबाट विद्युत र सिँचाइ पु¥याउने उद्देश्यले निर्माण गर्न लागेको यो नेपालकै राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना हो । भेरी नदीको पानी बबई नदीमा खसालेर सिँचाइ र विद्युत उत्पादन गर्ने उक्त आयोजनाको लक्ष्य छ ।

प्रकाशित मितिः   २७ माघ २०७९, शुक्रबार ०५:०५