स्वास्थ्य सेवामा सुधार
कर्णालीका नागरिकको स्वास्थ्य सेवामा पहुँच कमजोर मानिन्छ । स्वाँस्थ्य संस्थाहरू भएपनि पर्याप्त छैनन् । भौतिक पूर्वाधारको अभाव छ । औषधि र जनशक्तिको अभाव सधै रहँदै आएको छ । भौगोलिक रूपमा पनि विकट बस्ती धेरै भएको हुनाले बिरामीलाई समयमै स्वास्थ्य संस्था पु¥याउन समेत समस्या हुन्छ । स्वास्थ्य संस्था लैजादै गर्दा बाटोमै मृत्युवरण गर्नेहरूको संख्या पनि ठूलो छ । यावत समस्याकाबीच पछिल्लो समय भने केही मात्रामा भएपनि स्वास्थ्य सेवामा सुधार देखिएको छ ।
संघीयताको कार्यान्वयनसँगै मुलुकमा तीन तहका सरकार बने । स्थानीय सरकार पनि अधिकारसम्पन्न भने । स्थानीय सरकार बनेसँगै गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । अहिले त गाउँँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएका छन् । बिरामी हुँदा बित्तिकै स्वास्थ्यचौकी पुगेर जाँच गर्ने गरिएको छ । स्वास्थ्यचौकीमा उपचार सम्भव नभए स्वास्थ्यकर्मीहरूको सुझावअनुसार अन्य अस्पताल पु¥याइन्छ । सामान्य रोग लाग्दा पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अहिले छैन । स्वास्थ्य चौकी नभएका स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएका छन् । जसले गर्दा नागरिकले सहज रूपमा सेवा पाइरहेका छन् । जुन सेवा लिन पहिले जिल्ला अस्पताल जानुुपथ्र्यो अहिले घरआगनकै स्वास्थ्य संस्थाहरूबाट नागरिकले सेवा पाइरहेका छन् । ‘गाउँका अस्पताल’ को रूपमा परिचित स्वास्थ्यचौकीहरूले पछिल्लो समय भौतिक संरचनाका साथै सेवामा समेत सुधार र विस्तार गरेका छन् । स्थानीय सरकारले जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्दै गाउँगाउँमा बर्थिङ्ग सेन्टर र सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने काम पनि अगाडि बढाएका छन् । बर्थिङ्ग सेन्टरको स्थापना भएसँगै गर्भवती महिलाहरूले नियमित गराउनुपर्ने स्वास्थ्य जाँच पनि प्रभावकारी भएको छ । पछिल्लो समय स्वास्थ्य संस्थामै बच्चा जन्माउने महिलाहरूको संख्यामा पनि वृद्धि भएको छ ।
स्थानीय स्वास्थ्य संस्थाहरूले स्वास्थ्य संस्थाबाट मात्रै होइन विभिन्न समयमा गाउँबस्ती र टोलटोलमा पुगेर समेत सेवा दिने गरेका छन् । यसले नागरिकलाई सहज त भएको छ नै, स्वास्थ्य जनचेतना बढाउन पनि सघाउ पुर्याएको छ ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । यसकारण राज्यले पनि यसलाई प्राथमिकतामा राखेको छ । तर ग्रामिण भूगोलमा पर्याप्त मात्रामा सेवा उपलब्ध छैन । यो अवस्थामा सुधार ल्याउन जरुरी छ । यसका लागि तीनै तहका सरकारले सहकार्य गरेर आवश्यकता अनुसार स्वास्थ्य संस्था स्थापना र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी छ । आधारभूत स्वास्थ्य उपचार स्थानीयस्तरबाटै पाउने नागरिक अधिकारको सुनिश्चितता गर्नु आवश्यक छ ।
प्रकाशित मितिः २७ माघ २०७९, शुक्रबार ०५:०३
सम्पादकीय ।