मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त
सुर्खेत: कर्णाली प्रदेश सरकारको कानुनी सल्लाहकारमा अधिवक्ता नरबहादुर खड्का नियुक्त भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले खड्कालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । दैलेखको महावु गाउँपालिका–३ बासीका स्थायी बासिन्दा खड्कालाई शुक्रवार मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो । उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (५) बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । खड्काले शुक्रवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था रहेको छ ।, त्यस्तै, मुख्यन्याधिवक्ताले कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अधिकारीलाई राय सल्लाह दिनु कर्तव्य हुने संवैधानिक प्रावधान छ । यसअघि कर्णाली सरकारको कानुनी सल्लाहकारमा ध्रुवकुमार श्रेष्ठ थिए । उनले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् । श्रेष्ठलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । हाल नेकपा ‐माओवादी केन्द्र) नेतृत्वको सरकार गठन भएपछि खड्कालाई मुख्य न्यायाधिवक्ता बनाएको हो । कर्णाली सरकारमा हालसम्म चार जना मुख्य न्यायाधिवक्ता बनेका छन् । योभन्दा पहिले विद्याभूषण मानन्धर र मातृकाप्रसाद खनाल मुख्य न्यायाधिवक्ता भइसकेका छन् । उनीहरूले पनि कार्यकाल नसकिँदै राजीनामा दिएका थिए । सरकारको नेतृत्व गर्ने दलले आफू निकट कानुन व्यवसायी तथा अधिवक्तालाई कानुनी सल्लाहकार नियुक्त गर्ने परिपाटी रही आएको छ ।
प्रकाशित मितिः २१ माघ २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।