सीपालु टक्कः दुनियाँ छक्क
२०५६ सालमा जुम्ला विमानस्थलमा नेकोन एयर दुर्घटना भयो । तातोपानी–५ लाम्राका टक्क नेपाली त्यही समय खलंगामा नुन लिन पुगेका थिए । उनले पहिलो पटक दुर्घटनाग्रस्त जहाज देखे । जहाज देखेपछि टक्कलाई आफै जहाज बनाउने रहर पलायो । उनी रहर पूरा गर्नतर्फ लागे । नेकोन एयरको ध्वस्त जहाजको पाता संकलन गरे । त्यसका काठको प्रयोग गरेर जहाज बनाए । जुन जहाजलाई क्यासेटको रिलबाट पंखा घुम्ने बनाइएको थियो ।
१४ वर्षको उमेरमा काठको जहाज बनाउँदा जुम्ली समाजमा उनको चर्चा चुलियो । जिल्ला शिक्षा कार्यालयले आयोजना गर्ने विज्ञान प्रदर्शनीमा समेत टक्कको कलाले सबैलाई दंग बनाउन्थ्यो । केहि समयपछि काठको हेलिकप्टर निर्माण भयो, जसलाई घरको छतबाट खसाल्दा बिस्तारै जमिनमा बस्थ्यो ।
उमेर बढ्दै जाँदा टक्कको इच्छाले पनि आकार लिन थाल्यो । युटुब टक्कबहादुरको पाठशाला बन्यो । दैनिक ८–९ घण्टा इन्टरनेटमै झुम्मिन थाले, तर नेट स्लो चल्न थालेपछि चित्र त हेर्न सके तर भेउ पाउन सकेनन् । युटुब हेर्नकै लागि नेपालगञ्जसम्म पुगेको टक्कबहादुर बताउँछन् । नेपालगञ्जमा इन्टरनेटको पहुँच राम्रो भएकोले प्याराग्लाईडका बारेमा सबै जानकारी हासिल गर्न सफल भए । उनले भने, ‘त्यसपछि प्याराग्लाईडिङ निर्माण गरेर जुम्ली आकाशमा उडाउने अठोट बोकँे, सामान खरिदको प्रक्रियालाई अघि बढाएँ ।’
पहिलो चरणमा प्याराग्लाईड कसरी बनाउने, सामान कहाँ पाउछ र खरिद प्रक्रियाका बारेमा घोत्लिएर हेर्न थालेका टक्कबहादुर अर्काले बनाएका प्याराग्लाईड हेरेर देखासिकी गर्न थाले । उनले भने, ‘युटुबले जुम्लीको गरिब छोरोलाई प्याराग्लाईड उडाउने सम्मको भरोसा दियो ।’ युटुबभित्र संसार अटेकोले आफूले निर्माण गर्न चाहेको सबै वस्तुको इतिहास सहजै रूपमा हेर्न सकिने उनी बताउँछन् ।
युटुब हेर्दा कुनै विश्वविद्यालयमा प्रत्यक्ष रूपमा सिकिरहेको, सहजकर्ता आएर कम्पनीमै सहजीकरण गरिरहेको जस्तो हुन थाल्यो । उनी भन्छन्, ‘युटुब हेर्दा कसैले प्रत्यक्ष रूपमा पढाइरहेको छ, म सिकिरहेको छु जस्तै लाग्न थाल्यो ।’
जुम्लामा व्यावसायिक रूपमा प्याराग्लाईडिङ गर्ने योजनाले भने मुर्त रूप लिन सकेको छैन । व्यावसायिक रूपमा प्याराग्लाईडिङ गर्न पाईलटको अभाव छ । जुम्लामा पर्यटनको राम्रो सम्भावना भएपनि आर्थिक विपन्नताका कारण प्याराग्लाईडिङ गर्न सकिएको छैन । पाइलट उत्पादनमा सहयोगको खाँचो रहेको उनले बताए । टक्क नेपाली विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान दिएको भन्दै २०७७ मा राष्ट्रिय यूवा प्रतिभा सम्मान बाट विभूषित भएका थिए । ‘त्यो समय सम्झन लाएक छ, जतिबेला सामान्य परिवारमा हुर्किदै, अनेक दुःख र कष्टको सामना गरेको एउटा दुर्गममा जन्मेको ठिटो संघीय राजधानी पुगेर राष्ट्रिय यूवा प्रतिभा सम्मानबाट विभूषित भयो, मलाई सपना जस्तो लागिरहेको थियो’ उनी सम्झिन्छन् ।
खोज र अनुसन्धानमा जोडिएका प्रतिभाको संरक्षण गर्न जरुरी रहेको छ । टक्क तातोपानीकै मात्र नभइ राज्यको सम्पती भएकोले उनको प्रतिभालाई त्यसै मर्न नदिइने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताए । ‘टक्क नेपालीसँग अद्भुद क्षमता छ, वाल्यकालदेखि हालसम्म विभिन्न कलात्मक सिर्जनाले चकित पारेका छन्, आगामी दिनमा गाउँपालिकाले यस प्रकारका प्रतिभाको संरक्षण गर्ने छ ।’
मानबहादुर कुँवर ।