कसुर
केही छिनअघि मात्र बस बिसौनीमा लाहुरेसँग उसको मोलतोल सकिएको थियो । खाजा–खाना नखाएर अढाई सय पाउने कुरामा दुबै पक्ष सहमत हुँदा उसले बाकसमा नाम्लो बेरेको हो ।
‘भाइ ! बक्सा ज्यादा गरुँगो त छैन नि ?’ लाउरेले सोध्यो ।
‘गरुँगै छ सर तर पेटले त्यसो भन्न दिन्नर पो ।’
‘ठीकठीक । भित्र फुट्ने सामान छ जतन गर्नु है ?
ल जाउँ बिस्तारै ।’ लाउरेले भारी अड्याइदियो, बिसाएको ठाउँबाट उसले फेरि बोक्यो ।
‘हिन्नुस् सर अगाडि । नहिन्ने बानी सरलाई पो बरु अलि धौ होला ।’
‘उकालोमा चाहिँ सास्ती नै हुन्छ भाइ । अच्छा तिम्रो नाम के अरे ?’
‘धनबादुर ।’
‘परिवार कति छन् ?’
‘एउटी सानी छोरी जाहान र म तीन जना ।’
‘बा–आमा ?’
‘नाइँ । बा थिए, परार साल थलिएर बिते ।’
‘आमा नि ?’
‘आमा बितेको त सानैमा हो अरे । उति चाल पाउँदिन । मलाई दिदीले धरालो गरेर हुर्काकी ।’
‘दिदी नजिकै छन् कि ?’
‘छैन सर । डाँडोखोलो काटेर गई उँधै मधेसतिर । अब त देखे पनि म चिन्दैनहुम्ला ।’
‘सम्झना त आउँछ नि, हैन धनबहादुर ?’
‘उल्कै आउँछ सर । चाडबाडमा त मन असाध्यै धर्किन्छ, थाम्नै सकिन्न । मेरा लेखी त दिदी पनि त्यही आमा पनि त्यही । बा मर्दा पनि आइन, त्यति निस्ठुरी त होइन आफू, मेसै नपरेर त होला ।’
‘लेकिन तिमीले कति पढेका छौ त ?’
‘छैन सर । हामीले पढे साहुको हलो कोले जोत्नी ?’
‘अच्छा, जग्गा जमिन कति छ ?’
‘क्यै छैन सर, यिनै हात पाखुरा हुन् ।’
बात मार्दै ती दुई जना उकालोको थाप्लोमा पुगे । एकछिन तेर्सो हिँडेपछि चाय पिउँछु भन्दै लाहुरे बाटामुनिको होटलमा पस्यो । उसले खाजा खाना नखाने सर्तमा रकम दाबी गरेकोले केही पर सल्लाघारीको एउटा बुटामा भारी अड्यायो । लामो सुस्केरा हालेर टोपीले मुख पुछ्यो ।
‘काँ पु¥याउने भारी हो ?’ पल्लो बुटाको फेदबाट भारी उचाल्ने तर्खर गरिरहेको अर्को भरियाले सोध्यो ।
‘हुइँ बजारमै ।’
‘कसको भारी हो ?’
‘लाहुरेको ।’
‘कतिमा हो नि ?’
‘दुई–ढाइ सय दिन्छन् कि ।’
‘ठीकै हो ।’ ऊ बाटो लाग्यो ।
‘आफ्नो भारी कसको नि ?’ भरिया अलि टाढा पुगेकोले धने तीखो स्वरमा बोल्यो ।
‘व्यापारीको’ उस्तै स्वरमा जवाफ फर्कायो ।
लाहुरे आउने बाटोमा एक छिन टोलायो अनि देब्रे हत्केलामा गाला अड्याएर सुस्त गीतको लय हाल्यो ।
मनमा मया कति छ कति
भरम् भने नौ मुरी तील जति
भारी बोकेर उठ्ने क्रममा रुखको जरा समाइ तान्यो । जरो भाँचिएर सन्तुलन बिग्रेपछि भारीसहित पछारियो । पाखुरा ददा¥यो । ढुङ्गामा थेच्चिएपछि दुखाइले मुख बिगा¥यो । दुखाइ त सहन सकिन्थ्यो तर लाहुरेको बक्सा पनि तलबाट कुच्चियो । भित्रका सामान पनि केके भए कुन्नि ? लाहुरेले के भन्ला ? फिक्री मान्न थाल्यो, भुतभुतायो सायद आफैलाई सराप्यो । बल्लतल्ल उठेर खोच्याउँदै हिँड्यो । सुसेली हाल्दै लाहुरे नजिक आयो ।
‘धनबहादुर तिमी लोट्यौ क्यारे ?’
‘खुट्टो चिप्लेर सर, लोट्न त लोटिएन ।’
‘बक्सा त तलबाट कुच्चिएछ नि ?’
‘अलिकति कुच्चियो सर ।’
‘कहाँ अलिकति हुन्छ, त्यत्रो कुच्चेको छ । बर्बाद भयो नि यार ।’ लाहुरे रिसायो । ‘तिमीलाई पैसा दिने भनेको छु, फोकटमा त होइन नि यार । नसक्ने भए भन्नुपथ्र्यो । अब यो के काम लाग्यो । ल लैजाउ तिमी आँफै ।’
‘के गरौं त, गल्ती भैहाल्यो सर ।’
‘गल्ती भयो भन्दैमा मेरो बक्सा अब ठीक हुन्छ ? भित्रको सामान पनि फुट्यो होला ।’ लाहुरे भुन्भुँनाउँदै अगाडि गयो, ऊ रिसाउनु अस्वभाविक पनि थिएन । घरीघरी जतन गर्नु भनिरहेकै थियो । त्यसपछि लाहुरे ऊसँग पटक्कै बोलेन ।
खाना खाने ठाउँ आइपुग्यो । नबोलेरै लाहुरे एउटा होटेलमा छि¥यो । धने चुपचाप अगाडि बढ्यो । टाढा खोलाकिनारमा भारी बिसायो । ढुङ्गामा टुक्रुक्क बसी अञ्जुलीमा पानी उबाउँदै मुख धोयो । बाकसमा झुण्डाइराखेको आफ्नो पोको खोल्यो । ढुङ्गामा बसेर सातु खायो । खाँदाखाँदै एक हातले पिँडुला माड्यो । अर्को हात उठाएर ददारेको घाउ हे¥यो । कलकल बगेको पानी हेर्दै टोलायो । खै के सोच्यो कुन्नि आफ्नै निधारमा धारे हातले हान्यो । बेलुकी घर आइपुग्दा समेत पनि लाहुरे बोलेको थिएन । पेटीमा बाकस अड्यायो धनेले । लाहुरे सरासरभित्र पस्यो केहीछिन अलमलिएर परिवारसहित निस्कियो ।
‘तिमीलाई पैसा दिनैपर्ने त होला हैन ?’ मन नलागीनलागी कबोल रकम दियो । धनले दाँत ङिच्याउँदै हात थाप्यो ।
झमक्क साँझ घर पुग्यो धने । जहान र छोरी पिँढीमा उसकै बाटो हेरिरहेका थिए ।
‘के छ ठूली चालामाला ?’ धनेले गरुँगो झोला पेटीमा बिसायो । ऊ जहानलाई ठूली भनेर बोलाउँथ्यो ।
‘किन यति ढिलो आज ?’ ठूलीले सोधी ।
छोरीलाई काखमा राख्यो, गालामा म्वाइँ खायो अनि बोल्यो ‘त्यस्तै प¥यो ।’
‘भालेको डाँकोसँगै हिँनेको मान्छे बल्ल यतिबेला !’
‘खान्कीको मेलोमेसो के छ ठूली ? कालीले खाइ कि खाइन ।’ दुवै जना छोरीलाई काली भन्थे ।
‘बा आएपछि सँगै खाने भनेर मान्दै मानिन ।’
‘हो र ?’
सस्तो खाले बिस्कुटको पुरिया पाकेटबाट झिकेर कालीलाई दियो । कालीले पुरिया च्याती । दुई वटा बिस्कुट आमालाई दिई, एउटा बाउलाई खुवाई । धनेले सुनायो दिनभरीको इतिवृती । लाहुरेको बाकस बोक्दा लोटेको चोट लागेको अनि मन दुखेको कहानी । ठूली केही नबोलीभित्र पसि । काली बाउको घाउ फू फू फुक्न थाली ।
भित्र पसेकी ठूलीले कटौरोमा तेल ल्याई । धने पर्दैन पर्दैन भन्दैथ्यो, पिडौंला मालिस गरिदिन थाली ।
‘कस्सो ग्रहदशा सोझा रैछन् ।’ सप्कोले आँसु पुछी ।
‘नभनेसम्म सुख दिन्नस्, भन्योकी रुन्छेस् । किन हो र ? मलाई के भाछ र रोको ? तेरो यस्तो अवस्था छ, दुई–चार दिनमा बटुलबाटुल पार्न सकिएन भने पछि उछारै हुन्न त ।’
दुई जीउकी आफू केही दिनमा हलुका हुँदै छे । खुराक जुटाउनुकै लागि लोग्ने मरिहत्ते गरिरहेछ, उसलाई थाहा छ ।
‘नुन ल्याउनुभो की बिर्सनुभो ?’
‘ल्याएँ । दुई किलो नुन एक पोको तेल र एक नम्बर चामल । त्यत्तिमै चिलिम भयो अढाई सय रूपैयाँ ।’
‘ठूलाघरेबाट जोतेको पैसा ल्याउनुभो ?’
‘नाइँ, त्यहाँबाट पैसा ल्याउने होइन । दुई माना घिउ भन्या छु । रानाको घराँ तीनोटा चल्लालाई पैसा बुझाछु । अब अलिकति चामल बटुल्न पाए ढुक्कै हुन्थ्यो ।’
‘अब पुग्छ धेरै सास्ती गर्नुहुन्न । अनि बिहान खाना काँ खानुभो ? लाहुरेले खुवाएर ?’
‘खाना ? अँ लाहुरेले खुवाए’ जहानलाई थोरै खुसी मिल्छ भने हानी नहुने झुट बोल्न के नोक्सान ।
‘थैलामा चामल पटक्कै थेन र रोटी हालेकी छु । तपाईंलाई थोरै भात पकाइदिन्छु सितलो हुन्छ ।’
‘पर्दैन, चामल खर्च हुन्छ । कर्म सितलो छैन भातले उपती पर्ला ।’
‘तिहुन पनि केही पाइनँ । नुनखुर्सानीमा लसुन मिसाएर अचार पिसेँ ।’
‘नुन भए भै त गो नि तिउन ।’ सुखा रोटी अचारसँग चोबेर खाँदै थिए । बाहिर गल्याङमल्याङ आवाज आयो । चाल मारेर ध्यान दिए ।
‘को हुनुहुन्छ भित्र । ल बाहिर आउनुस् न ।’ धनेले बत्ती उचालेर बाहिर हे¥यो ।
‘मैले कसैलाई चिन्न सकिन त ?’
‘तपाईंका दाजुभाइ हौं हामी ।’ एउटाले भन्यो ।
‘साँझका पाहुना ।’ अर्को बोल्यो ।
‘एक छाक खान र रात काट्न तपाईंको शरणमा आएका छौँ ।’ फेरि अर्को बोल्यो । धनेले सबैलाई सरसर्ती हे¥यो १२ जना थिए । लामालामा झोला बोकेका बन्दुक भिरेका उसको ओठमुख सुक्यो ।
‘खानपिन त ह्याँ क्यै छैन केरे हजुर । चार पाँचोटा रोटी थे हाम्ले खाइम् । माना दुई पिठो छ भोलि आफैलाई चाहिने होला । अप्ठेरो प¥यो कसो गरम् !’
‘कस्तो कुरा गर्नुहुन्छ…!’ बसेको एउटा उठेर कड्किंदै बोल्यो, ‘… हामीले जीवन बलिदान गरेका छौँ क्रान्तिमा । तपाईं एक छाक खाना खुवाउन सक्नुहुन्न ?’
‘अन्नै नभएर पो त । म काम गरी खाने मान्छे खेतीपाती क्यै छैन । बेसाहा मानो खानुपर्छ त्यै भएर…।’
‘ए…त्यसो भए जे छ खोजेर खान्छौँ नि । तपाईंको घर पनि हाम्रै त हो नि, कि कसो ?’
किनी ल्याएको अलिकति चामल उनीहरूले आफुखुसी सबै खन्याए । पानी ओसारे भान्साको सुर्सार गरे । धने र ठूली हेरिरहे । काली डराएर बाआमाको माझमा बसि । यस्ता मान्छेको गाउँमा बिगबिगी छ भन्ने सुनेको मात्र थियोे धनेले । त्यो रात आफै बेहोर्नु प¥यो ।
भात पाकुञ्जेल उनीहरूले पालैपालो धनेलाई लामालामा ज्ञान र उपदेशका कुरा सुनाए । देश विकासको मुख्य बाधक सामन्ती राजसंस्था नै हो, अनिवार्य जरो उखेल्नुपर्छ । त्यही विश्वासले क्रान्ति गरिएको छ भन्ने किसिमको बयान गरे । धनेले बुझ्यो कि बुझेन ट्वाल्ल हेरिरह्यो । भात पाकेपछि उनीहरू घिरिम्म बसेर पेट पूजामा जुटे । धनेले पुर्लुक्क स्वास्नीलाई हे¥यो । ठूलीले पनि त्यसै गरी । थुक निल्दै कालीले बाआमाको मुख ताकी ।
खाना खाइसके पछि पनि लामो समयसम्म उनीहरूले फेरि सिद्धान्त र नैतिकताका कुरा छाँटिरहे । देशको चिन्ता गरेर फलाकी रहे । तर धनेलाई उहि चामलकै चिन्ता थियो । केही बोलेन, बस सुनिरह्यो । पाहुना बाहिर सुते धनेको परिवार भित्र ।
‘आफू ताक्छु मूढो बन्चरो ताक्छ घुँडो’ धने सुस्तरी बोल्यो, ‘गाउँका धनिमनी मान्छे छोडेर यिनले पनि हामी गरिपलाई सताउनुपर्ने । हुन त दैवले ठगेलाई पेल्न सजिलो हुने भो त ।’
‘हाम्रो घर पुच्छारमा प¥यो सबैलाई सजिलो । बाँदरलाई तेर्सो हाँगो ।’ ठूली बोली । लोग्ने स्वास्नी धेरै बेर गुनगुनाए कुरा गरेर मन बुझाए । भर्खरै आँखा लागेका मात्रै थिए, झिसमिसैमा पाहुनाले धनेलाई बोलाए ।
‘दाइ हामी अब बिदा हुन्छौँ, लौ हात मिलाउनुस् ।’ बाह्रै जनाले पालैपालो उसको हात झ्याँके । अनि बाटो तताए । धने ऊनीहरू गएतिर हेरिरह्यो । ठूली दैलो कुचो गर्न लागि ।
लुसुक्क करेसातिर पसेको धने त्यतैबाट गाउँतिर उक्लियो । झलमल्ल उज्यालो भैसक्दा पनि फर्किएन । ठूली आत्तिई । कालीलाई उठाएर गाउँमा खोज्न पठाई । केही बेरपछि कालीलाई काँधमा बोकेर बात मार्दै आयो धने । कालीको हातमा सानसानो पोको थियो ।
‘बिहान उठेर कता हो के ? मान्छेलाई त्यसै ह¥याङब¥याङ पार्दिनी त नि ।’
‘थपेनी फुपूले दाउरा चिर्देस भनेकी थिइन्, दाउरा चिर्दिएँ माना दुई पिठो हाल्देकी छन् ।’
‘यस्तो ठाँ जान्छु भने हुन्थ्यो नि त ।’
‘हो केरे । बाहिर गाथेँ त्यतैबाट उक्लेँ । ल पिठो मुछेर रोटी हाल चाँडै । ढिलो गए काम पाइन्न फेरि ।’
खान्की खाइवरी नाम्लो समाएर हिँड्यो धने । जुठोभाँडो सकेर ठूली घरधन्दामा लागि । धन्दा भ्याएर सिउन थाली । काली ढुङ्गालाई छोरो बनाएर आँगनमा खेल्दै थिइ ।
‘बा आउनु भयो बा आउनुभयो…।’ काली खुसीले कराई ।
‘ए, सबेरै आउनुभो त, आज काम पाइएन ए ?’
‘बिहानै ढिलो भो के । बस फुत्केछ ।’
‘ज्या ! थै ।’
‘अनि मुस्किलले ट्रकमा ढुङ्गा बोक्ने काम मिल्यो । पैसा पनि उति नपर्ने ज्यानको पनि हैरानी ।’
‘अनि के हो त झोलाको ?’
‘तीन किलो चामल ल्याछु । कालीलाई यो पनि ल्याइदेको छु ।’ भनी चप्पल देखायो ।
चप्पल भेटेपछि काली खुसीले ताली पिट्दै आँगनमा उफ्रिइ । खुट्टामा कति राम्रो सुहायो भनी ठूलीले पनि फुर्काइ । लोग्ने स्वास्नी मुखामुख गरेर मुस्काए । स्वास्नीको चिउँडो मुसा¥यो धनेले । लोग्नेको हात चिमोटी ठूलीले । आज दिउँसो पनि खाजा खाने मेसो मिलेनछ धनेलाई । ठूलीले खान्कीको चाँजो मिलाई । साँझको खाना खाने तर्खरमा लागे । चामल खर्च भएकोमा कुँडिएको धनेको मन अझै पलाएको थिएन । दम्पती त्यही गुनासो गर्न थाले ।
‘दुःख गरेर खान पनि नपाइने भो, इँ बरै कस्तो जमना आयो ।’
‘हो त नि । अब त अन्नपात खाल्टो खनेर लुकाउन प¥यो । त्यति नगरे भोकभोकै परिन्छ केरे’ धने बोल्दाबोल्दै आँगन तिर जुत्ता बजेको आवाज आयो ।
‘ए धने भन्ने को होस् बाहिर निस्की ।’ आवाज घरीघरी दोहोरिए पछि धने हिम्मत गरेर बाहिर आयो ।
‘धने भन्ने तैँ होस् ?’ कसैले सोध्यो ।
‘मै हुम् हजुर’ थुरथुर धनेले एकनासका लुगा लगाएका सबैलाई सरसर्ती हे¥यो । यिनीहरूले पनि चामल खाने पाहुनाले झैं झोला बोकेका र बन्दूक भिरेका । ठूली र काली पनि धनेका पछिपछि आए ।
‘तैंले हाम्रा दुश्मनलाई खाना खुवाएर पाल्ने ? गोप्य मिटिङ गर्ने ?’ एउटाले हानिहाल्यो ।
‘जबरजस्ती खाए हजुर, हाम्रो के दोष !’
‘ढाँट्छस् तेरिमा…तँ ।’ मनपरि गाली गर्दै अर्कोले लात हान्यो । धने ढुन्मुनिदै लोट्यो । काली चिच्याएर रोइ ।
‘म गरिपको केही कसुर छैन हजुर ।’ हात जोड्यो ।
‘बहाना बनाउँछस् गधा कुकुर…।’ झन भकु¥यो ।
‘हाम्रो हरामबिराम क्यै छैन हजुर । यस्तो अत्याचार नगर्नुस् पाप लाग्छ ।’ धनेलाई जोगाउन ठूलीले रुँदै अंगालो हाली ।
‘खाल्टो खनेर लुकाउने भनेको केहो ? त्यो भन नढाटेर ।’
‘अन्न लुकाउने भनेको ।’
‘हो हजुर । तिनीहरूले चामल सबै सिध्याइ दिएकाले अब खाल्टामा लुकाउनी भनेको ।’ रुँदै ठूलीले प्रष्ट्याउन खोजी । ‘अन्न पनि कसैले खाल्टोमा लुकाउँछ ? भन् हतियार कहाँ दबाएकोछस् ?’
‘हतियारको कुरा मलाई थाहा छैन । म निर्दोष छु ।’ चारै तिरबाट बन्दूकले घेरिएको धने पालैपालो बुटले भकुरियो । ठूली डाँकै छोडेर रोइ । खुट्टामा परेर बिन्तीभाउ गरि बिलौना गरी, भगवान पुकारी तर केहि सीप लागेन ।
‘म छोरीलाई काखमा राखेर जे किरिया खान पनि सक्छु हजुर । बेकसुर छु ।’
‘खाल्टोमा दबाएको हतियार देखा…।’
अन्यायको पराकाष्ठा नाघेर स्वास्नी र छोरीका अगाडि नराम्ररी पिटियो धने । धनेलाई ओतिरहेकी ठूलीलाई झपार्दै आँगनमा थेचारे ऊनीहरूले । धनेलाई घिच्याउँदै लगे । दुई जीउकी गलित र थकित ठूली रुँदै पेटीमा आई । थचक्क बसेर लामो लामो सुस्केरा हाली । काली पनि रुँदै आमासँग टाँसिई । अँगालो हालेर आमाछोरी सँगै रोइरहे ।
ढड्याम्म ! निष्पट अन्धकारमा कपुरे डाँडातिर बन्दुक पड्कियो । टोलभरका कुकुर एकस्वरमा भुके । बाँसघारीमा बास बसेका चराहरूले ठूलै खैलाबैला गरे । ठूली यन्त्रवत् पेटीमा ढली ।
‘आमै उठ ! उठ के आमै । कानमा कीरा पस्छ भैंमा नसुत ।’ काली आमालाई झकझकाउन थाली । काली भुइँमा पल्टिँदा आमा यसै भनेर सम्झाउँथी । आमाकै बेहोरामा छोरीले पनि सम्झाउँदै थिइ ‘कानमा कीरा पस्छ के नसुत ।’
तर ठूलीले छोरीको अनुरोध सुनिन चलमलै गरिन । घरीघरी हिक्का छोडेर रातभर जुनकीरीकाई हेरिरही सानी बच्ची ।
टाढा कतै भाले बास्यो । पूर्व क्षितिज उज्यालियो । गाउँले कपुरे डाँडातिर उक्लिए । हातगोडा फालेर उत्तानिएको लास । बायाँतिर रगतको भल जमेको । खुट्टा खाली हरमा जाँगे र कमिज । दायाँतिर कोल्टिएको टाउको नजिकै टोपी खसेको । सबैले अनुहार हेरे । धने चीर निन्द्रामा मस्त निधाए झैँ थियो । मुहारमा माखाले रजाइँ गरिरहेका थिए ।
तलबाट उक्लंदै गरेको एउटा गाउँलेको काँधमा रेडियो घन्कँदै थियो– …कपुरे डाँडा गस्तीमा रहेकोे सुरक्षाफौजलाई लक्षित गर्दै सकेटबम प्रहार गर्न खोज्ने एक आतंककारीको जवाफी कारबाहीमा मृत्यु… अब सुन्नुस पूरा समाचार ।
प्रकाशित मितिः २१ माघ २०७९, शनिबार ०५:०४
उमालाल आचार्य ।