गुराँसले गाउँ प्रहरी भर्ना गर्ने

दैलेख: दैलेखको गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाको योजना कार्यान्वयनका बेला देखिने सुरक्षा चुनौती, शान्ति, सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रेखदेख एवम् संरक्षणका लागि आफ्नै प्रहरी युनिट बनाउन लागेको हो । पालिका प्रवक्ता दीपेन्द्र ओलीले बुधवार सम्पन्न हिउँदे गाउँसभाबाट गुराँस गाउँ प्रहरी सञ्चालनसम्बन्धी कार्यविधि–२०७९ पारित भएको जनाए । ‘गाउँ प्रहरीसम्बन्धी कार्यविधि गाउँसभाबाट पास भएको छ,’ उनले भने, ‘अब यसलाई तत्कालै कार्यान्वयनमा लगिनेछ ।’

ओलीका अनुसार खासगरी गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न गुराँस गाउँ प्रहरी परिचालन हुनेछन् । ठूला समस्या आउँदा नेपाल प्रहरी भएपनि पालिकाभित्र आइपर्ने स–साना समस्या सुल्झाउन गाउँ प्रहरी सक्रिय रहने पालिकाले जनाएको छ । सानो–सानो सुरक्षा चुनौती सामना गर्नको लागि नेपाल प्रहरीलाई परिचालन गर्न पालिकाले नसक्ने भन्दै ओलीले गाउँ प्रहरी भर्नापछि पालिकाको शान्ति सुरक्षा कायम हुने विश्वास लिइएको बताए ।

यसैबीच, गुराँसमा हिउँदे गाउँसभाबाट २४ वटा विभिन्न ऐन र कार्यविधिहरू पास गरिएको छ । गाउँसभाबाट वन व्यवस्थापन गर्न बनेको ऐन–२०७९, न्यायिक समितिको (कार्यविधि) सम्बन्धी ऐन–२०७९, गुराँस कर्मचारी सेवा ऐन–२०७९ पास भएको प्रवक्ता ओलीले जानकारी दिए । त्यस्तै, मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि–२०७९, राउटे समुदायलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, यौनिक अल्पसंख्यकलाई सुविधा उपलब्ध बनाउने सम्बन्धी कार्यविधि र कृषि उपज संकलन केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि लगायतका २० वटा कार्यविधि पास भएका छन् । अघिल्लो कार्यकालको सरकारले बनाएका ३४ वटा विभिन्न ऐन र कार्यविधिसहित गाउँपालिकामा ७९ वटा विभिन्न ऐन र कार्यविधि निर्माण भएको जनाइएको छ । गाउँसभाले वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरूमा अति आवश्यक कर्मचारी सेवा करारमा लिने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मितिः   १३ माघ २०७९, शुक्रबार ०५:०४