पूर्वाधारको पर्खाइमा पर्यटकीय क्षेत्र

स्थानीय सरकारसँग पर्यटकीय स्थलको विकास तथा प्रवद्र्धनका योजना भएपनि पूर्वाधारमा लगानीको अभाव

सुर्खेत: महाबुधाम कालीकोटको मुख्य पर्यटकीय स्थल हो । महाबै गाउँपालिकामा पर्ने उक्त पर्यटकीय गन्तव्यसम्म पुग्न निकै असहज छ । भरपर्दो सडक सञ्जाल र खान बस्नका लागि होटलहरू छैनन् । धामसम्म पुग्नलाई पर्यटकहरूले निकै सास्ती खेप्नुपर्छ । थुप्रै अप्ठ्याराहरू झेलेर भएपनि आस्थाको केन्द्र र मनमोहक दृश्यको अवलोेकन गर्न त्यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गइरहेका छन् । कालीकोट र दैलेखको सीमानामा रहेको धाममा आवागमनमा खुबै सास्ती हुने गरेको हो । सोही अवस्थालाई मध्यनजर गर्दै पर्यटकहरूको सहजताका लागि महाबै गाउँपालिकाले गत वर्षदेखि धामसम्म पुग्न मोटर बाटो निर्माणको काम थालेको छ । पर्यटकलाई आवागमन र आवासका लागि संरचना निर्माणको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुुर सिंह बताउँछन् । सडक विस्तार र होटलहरू सञ्चालनका काम थालिए पनि पालिकाको बजेटले मात्रै पूर्वाधार निर्माण भने सम्भव नहुने उनले जनाए । उनी भन्छन्, ‘हाम्रो पालिकामा थुप्रै ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलहरू छन्, प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा छन् ।’

महाबै गाउँपालिकासँग पर्यटकीय स्थलको विकास र प्रवद्र्धनका योजना भएपनि स्रोत–साधन सीमित हुँदा आवश्यक लगानी हुन सकेको छैन । महाबुधामका लागि पूर्वाधार निर्माण गर्न अहिले तीन तहकै सरकारले पहल थालेका छन् । पालिकाले गत वर्ष महाबुधामसहित गाउँपालिका भित्रका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि १० लाख बजेट विनियोजन गरेको थियो । बजेट थोरै हुँदा अपेक्षित काम गर्न नसकिरहेको अध्यक्ष सिंहले जनाए । उनका अनुसार पालिकाले चालु आर्थिक वर्षमा पनि पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा विकास शीर्षकमा १० लाख बजेट छुट्याएको छ । गत वर्ष पालिकाको बजेटले शौचालय र पर्यटकहरूका लागि टेन्ट निर्माण गरिएको थियो । अहिले तीन वटै तहका सरकारको संयुुक्त लगानीमा पाँच वटा आवास निर्माणको काम अघि बढाइएको छ ।

कालीकोटकै चंखेली गाउँपालिका पनि पर्यटकीय क्षेत्रको विकासमा पहल गरिरहेको छ । पालिकामा रहेको तातोपानी क्षेत्रलाई प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न योजनाहरू अघि सारिएको छ । तर, त्यसका लागि लगानी गर्ने बजेटको भने अभाव छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले पर्यटन मन्त्रालयसँग आवश्यक बजेटको माग गरिएको जनाए । उनले भने, ‘पालिकाको सीमित बजेट भएकाले पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्न सक्ने अवस्था छैन, भएका धार्मिक तथा ऐतिहासिक स्थलहरूको सामान्य मर्मत सम्भार र संरक्षणका लागि मात्रै पालिकाले लगानी गरिरहेको छ ।’ उनका अनुसार पर्यटकका लागि सडक र आवासजस्ता पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारको मुख ताक्नुपर्ने बाध्यता छ ।’ स्थानीय तहमा रहेका पर्यटकीय स्थलको विकास गर्न सके आन्तरिक आम्दानी स्रोतसमेत बढ्ने अपेक्षा गरिएको शाहीको भनाइ छ ।

दैलेखको नौमुले गाउँपालिका–३ स्थित द्वारी झरना पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । भौगोलिक विकटताले गर्दा झरना ओझेलमा परेको छ । पालिकाले उक्त स्थानसम्म पुग्न सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । पर्याप्त बजेट नहुँदा लामो समयदेखि सडक निर्माणले पूर्णता पाउन सकेको छैन । संघीय सरकारको समपूरक बजेटमा पालिकाले काम सुरु गरेपनि बजेट अपुग छ । पालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानीमा मोटर बाटो निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले बताए । उक्त झरना अग्लोको हिसाबले नेपालकै ११औँ स्थानमा पर्छ । झरनालाई पर्यटकीय गन्तव्य बनाउनका लागि पालिकाले सडक निर्माणदेखि अन्य पूर्वाधारको विकासमा प्रयास गरिरहेको अध्यक्ष सुवेदी बताउँछन् । ‘हामीले पर्यटकीय क्षेत्रहरूको विकासका लागि योजना र कार्यक्रम बनाएका छौँ,’ उनी भन्छन्, ‘लगानीका लागि समस्याहरू छन्, पर्यटकीय पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भएकाले माथिल्लो तहका सरकारको सहयोग र सहकार्य आवश्यक पर्छ ।’ स्थानीयस्तरका पर्यटकीय क्षेत्रको विकासमा बजेट नै मुख्य समस्या रहेको उनको भनाइ छ ।

पालिकाहरूमा रहेका पर्यटकीय स्थलहरूमा कतिपयमा पूर्वाधारको अभाव छ भने केही प्रचारप्रसारको अभावमा ओझेलमा छन् । आर्थिक विकासको आधार पर्यटन क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनका लागि स्थानीय सरकारले प्राथमिकता दिएका छन् । दैलेखकै नारायण नगरपालिका पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक योजना र कार्यक्रमका लागि त्यसक्षेत्रका विज्ञहरूसँग परामर्श लिइरहेको छ । पर्यटन क्षेत्रका विज्ञहरूको सुझावका आधारमा ठोस योजना बनाएर पर्यटकीय क्षेत्रको विकासमा लाग्ने योजना बनाइएको नारायण नगरपालिकाका प्रमुुख लोमन शर्माले बताए । पर्यटकीय क्षेत्रको विकासका लागि कोटिला, शिरस्थान हुँदै पञ्चदेवलसम्मको पदमार्ग निर्माणको काम सुरु गर्न लागिएको शर्माले जानकारी दिए । उनका अनुसार जीर्ण बन्दै गइरहेको ऐतिहासिक कोतगढीको मर्मत सम्भार र नयाँ सामग्री जडानका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ४० लाख बजेट दिएको छ । प्रदेश सरकारसँगको सहकार्यमा कोतगढीको मर्मत कार्य गरिने भएको हो । नगरपालिकाको वडा नं. ९ मा पर्ने कोटिलादेखि शिरस्थानसम्म पर्यटन करिडोर निर्माण गर्न पूर्वाधार विकास निर्देशनालयले दुई करोड बजेट विनियोजन गरेको छ । अबको केही दिनमा निर्माण सम्झौता गरेर कामको थालनी गरिने नगरप्रमुख शर्मा बताउँछन् ।

प्रकाशित मितिः   १३ माघ २०७९, शुक्रबार ०५:०५