हिमपातले जनजीवन प्रभावित

मौसमा बदली हुँदा हवाई, सञ्चार, सडक र विधुत सेवामा समस्या

सुर्खेत: कर्णालीका हिमाली जिल्लाहरूमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । हिमपाले हवाइ सेवाका साथै विद्युत र सञ्चार सेवामा समस्या देखिएको छ । मंगलवार बिहानदेखि मौसममा बदली आउँदा परेको झरी तथा हिमपातका कारण डोल्पाको हवाइ सेवा, विद्युत र सञ्चार सुविधा प्रभावित बनेको बताइएको छ । मुगु, हुम्ला र जुम्लामा पनि हवाई, सडक तथा सञ्चार सेवामा समस्या आएको छ । डोल्पा सदरमुकाम दुनैका स्थानीय नन्दलाल थापाका अनुसार मंगलवारदेखि जुफाल विमानस्थलबाट उडान हुन सकिरहेको छैन भने विद्युत र टेलिफोन सुविधा पनि अनियमित भएको छ । डोल्पाका अधिकांश भू–भागमा भइरहेको हिमपात बुधवार पनि जारी रहेको र पानी पर्न केही कम भएपनि चिसो भने अत्याधिक बढेको थापाले जनाए । लामो खडेरीलाई चिर्दै हिउँदे झरी पर्दा कृषि र पशुपालन फाइदा हुने भएपनि चिसो बढ्दा जनजीवन भने कष्टकर बनेको स्थानीयले बताएका छन् ।

त्यस्तै, मुगुका लेकाली गाउँमा बाक्लो हिउँ परेपछि सेताम्य देखिएका छन् । मंगलवार परेको हिउँले घर आँगन खेतबारी रुखहरू सेतै भएका हुन् । समुद्री सतहदेखि करिब २९ सय मिटर उचाइसम्मका बस्ती बाम, रोवा, घट्टलेख, कोटिला, झयारी, ताल्चालगायत बस्तीमा पाँच इन्च हिउँ जमेको छ । त्योभन्दा माथि मुगु, रारा, खमाले, चुचुमारेलेक, क्षेत्रमा आधा फिट हिउँ जमेको छ । बुधवार बिहानदेखि मौसममा केही सुधार आएपछि लेकाली बस्तीका स्थानीय घरको छतमा जमेको बाक्लो हिउँ फाल्न थालेका छन् । छायाँनाथ रारा नगरपालिका–३ हेर्नीकााध गाउँकी रामदेबि बुढा माघमा हिउँ परेपछि खुसी भएकी छन् । गत असोज २३ गते बाट वर्षा र हिमपात नहुँदा बारीको हिउँदे तरकारी र खेतबारीको जौ गहुँ सुक्न थालेपछि चिन्तित बनेकी रामदेवी मंगलवार एक्कासी हिमपात र वर्षा भएपछि बालीनाली सप्रने भन्दै हर्षित भएकी छिन् । ‘हिउँ आया पै सुबिकाल हुन्छ,’ रामदेवीले भनिन्, ‘हामी खेतीपाती गरेर जीवन पाल्ने किसानको लागि हिउँ धेरै आवश्यक छ ।’ हिमाली जिल्लाहरूमा हिमपात भएसँगै सिकानहरूलाई राहत मिलेको छ ।

यसैबीच, झरीका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधवार बिहान झन्डै ११ बजे गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । कालीकोटको तिलागुफा नगरपालिका–४ राचुलीस्थित कर्णाली राजमार्गमा वर्षातका कारण पहिरो आइ सडक अवरुद्ध भएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेशको २९५८ नम्बरको गाडी पहिरोमा फसेको छ । सो जीपको अगाडिको टायर पहिरोमा परेको हो । प्रहरी टोलीले पहिरो खुलाउने पहल गरिरहेको उनले बताए । राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मितिः   १२ माघ २०७९, बिहीबार ०५:०२