स्वास्थ्य सेवामा सुधार
विकासका अन्य पूर्वाधारमाजस्तै स्वास्थ्य सेवामा पनि पछि परेको प्रदेश हो, कर्णाली । यहाँ पर्याप्त स्वास्थ्य संस्था छैनन् । भएका स्वास्थ्य संस्थाहरूमा पनि गुणस्तरीय सेवा उपलब्ध छैन । पूर्वाधारदेखि जनशक्तिको अभाव सधैँ रहन्छ । तर पछिल्लो समय केही मात्रामा पनि सुधार भएको छ । यसको उदाहरण हो कर्णाली प्रदेश अस्पताल । प्रदेश अस्पतालले स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको छ । अस्पतालले पूर्वाधार विकासमा समेत सुधार गरेको छ भने अस्पतालबाट दिइने सेवामा पनि सुधार भएको छ । सेवा विस्तार गर्ने क्रममा अस्पतालले मानव अङ्ग प्रत्यारोपणजस्तो जटिल खालको स्वास्थ्य उपचार सेवा पनि दिने भएको छ । हाल मृगौलाका बिरामीहरूलाई डाइलासिस सेवा दिइरहेको अस्पतालले अब भने मृगौला प्रत्यारोपण सेवा नै दिने तयारी थालेको हो ।
आगामी शनिवारदेखि मृगौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । प्रदेशमै पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुुरु गर्न लागिएको हो । मृगौलाको प्रत्यारोपण सुर्खेतबाटै हुने भएपछि बिरामीले सहजै उपचार पाउने र आर्थिक भारसमेत कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा दिने तयारी गरिएको छ । आउँदो शनिवार प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीले प्रदेश अस्पतालमा दुुई जनाको मृगौला प्रत्यारोपण गरेर सेवा सुरु गर्नेछन् । प्रदेश अस्पतालले उक्त सेवा विस्तारका लागि लाइसेन्स प्राप्त गरिसकेको छ । स्वास्थ्य सेवा विभागबाट केही दिन पहिले आएको टोलीले मृगौला प्रत्यारोपण गर्न सकिने नसकिनेबारे अस्पतालको अवस्था अनुुगमन तथा निरीक्षण गरेको थियो । मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएपछि सेवा सञ्चालन गर्ने तयारी थालिएको हो । अहिले मृगौलाका बिरामीले बाहिर गएर उपचार गर्नु पर्दा अनेकन झन्झटको सामना गर्नुपरिरहेको छ । प्रदेश अस्पतालबाट प्रत्यारोपण सुरु भएमा कम खर्चमा समयमै आफ्नै ठाउँमा बिरामीले सहज उपचार पाउने अपेक्षा गर्न सकिन्छ । यो स्वास्थ्य सेवा सुधारमा एक फड्को नै हो ।
प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षहरूमा कर्णालीवासीलाई उपचारका लागि निकै सहज भएको छ । केही वर्ष पहिलेसम्म कर्णालीका बिरामी जटिल रोगको उपचारका लागि नेपालगञ्ज, काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अहिले सबैजसो उपचार सेवा यतै सम्भव भएपछि उक्त बाध्यता हटेको छ । कर्णाली सरकारको एकमात्र आफ्नो ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेको हो । स्वास्थ्य क्षेत्रमा एकपछि अर्को सेवा थप्दै जाँदा नागरिकहरूको स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुँदै गएको छ । प्रदेश अस्पतालले निकट भविष्यमै मुटु रोगको जटिल उपचार पनि थाल्ने जनाइएको छ । त्यसका लागि आवश्यक ‘क्याथ ल्याव’ स्थापनाको पहल भइरहेको छ ।
प्रकाशित मितिः ११ माघ २०७९, बुधबार ०५:०३
सम्पादकीय ।