४० जना बढीलाई क्षमता विकास तालिम

सुर्खेत: लेखापरीक्षकहरूका लागि वीरेन्द्रनगरमा तीन दिनसम्म क्षमता विकास तालिम सञ्चालन गरिएको छ । शुक्रवारदेखि सुरु भएको तालिमको आइतवार समापन गरिएको हो । लेखापरीक्षकलाई पेसागत शिक्षा र उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको थियो । नेपाल अडिटर्स एशोसिएसन (अडान) ले आयोजना गरेको प्रदेशस्तरीय उक्त तालिममा कर्णालीका विभिन्न जिल्लाबाट ४० जनाभन्दा बढी लेखापरीक्षकहरू सहभागी बनेका थिए । समापन कार्यक्रममा बोल्दै अडानका केन्द्रीय प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले यस किसिमका क्षमता अभिवृद्धि तालिमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । उनले अडानले तालिम तथा क्षमता विकासका योजना बनाउँदा कर्णालीलाई उच्च प्राथमिकतामा राख्ने बचन दिए । दाहालले लेखापरीक्षकहरूको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को शाखा कार्यालय सुर्खेतमा स्थापना गर्न पहल गर्नेसमेत प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   ९ माघ २०७९, सोमबार ०५:०२