दुर्घटनामा चार जनाको मृत्यु

सुर्खेत: गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी शनिवार राती २ बजे दुर्घटनामा परेको हो । झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । दुर्घटनामा परेर दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र भैरवी गाउँपालिकाका २७ वर्षीय सागर शाहीको ज्यान गएको छ । दुर्घटनामा भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते छन् । गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो । साढे २ बजे राती दुर्घटनाको खबर प्रहरीलाई आएको कार्कीले बताए । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

पारिवारीक स्रोतका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना सहपाठी थिए । मृतकमध्ये तीन जना सरकारी स्वास्थ्य संस्थामा कार्यरत थिए । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिवार एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरूलाई वीरेन्द्रनगर बोलाएको थियो । त्यसै गोष्ठीमा सहभागी हुन उनीहरू वीरेन्द्रनगर आएका थिए । धेरै समयपछि भेट भएको भन्दै उनीहरू भेरीगंगा नगरपालिका–१ मा रहेको एक कटेजमा रमाइलो गर्न साँझ ६ बजेतिर वीरेन्द्रनगरबाट भेरीगंगातिर गएका थिए । राती अबेर वीरेन्द्रनगर फर्कदै गरेका उनीहरू दुर्घटनामा परेका हुन् ।

प्रकाशित मितिः   ९ माघ २०७९, सोमबार ०५:०१