प्रजातन्त्र दिवसमा प्रभातफेरी
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ फागुन ।
६६ औं प्रजातन्त्र दिवस शुक्रवार सुर्खेत लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । एक सय चार वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य भइ प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा वीरेन्द्रनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला विकास समिति सुर्खेतको संयोजनमा शुक्रवार बिहान वीरेन्द्रनगरमा प्रभातफेरी आयोजना गरियो । स्थानीय मंगलगढीचौकबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समितिको सभाहलमा पुगेर समापन गरिएको हो । प्रभातफेरीपछि अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलले राष्ट्रिय दिवसलाई प्रतिनिधिमूलक नबनाउन आग्रह गरे । एमाओवादी सुर्खेतका अध्यक्ष एवम् पूर्व सभासद् नरबहादुर विष्टले अहिलेको संविधान कार्यान्वयन गरेमा मात्र प्रजातन्त्र दिवसले सार्थकता पाउने बताए । उनले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्रको मौलिक भिन्नता रहेको भन्दै प्रजातन्त्र नै अहिलेको गणतन्त्रको जग भएको बताए ।
कार्यक्रममा नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवाल, महिला समन्वय समितिका उपाध्यक्ष नन्दा गिरी लगायतले आफ्नो भनाइ राखेका थिए । यसैबीच प्रजातन्त्र दिवसका अवसरमा हिजो स्थानीय रंगशालामा सम्पन्न भएको मैत्रीपूर्ण फुटबलका सहभागीहरूलाई प्रमाणप्रत्र प्रदान गरिएको छ । निमित्त स्थानीय विकास अधिकारी शम्भु मिश्रको सभापतित्वमा भएको कार्यक्रममा बागीना समूह सुर्खेतले राष्ट्रिय गीतहरू प्रस्तुत गरेका थिए ।
साझा बिसौनी संवाददाता ।