‘अबको प्रमुख शक्ति एमाले’

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ फागुन । 
नेकपा एमालेका स्थानीय कमिटी सदस्य एवम् पूर्व सञ्चारमन्त्री शंकर पोखरेलले अब आउने निर्वाचनबाट नेकपा एमाले नै मुलुकको प्रमुख शक्ति हुने दावी गरेका छन् । नेकपा एमाले सुर्खेत क्षेत्र नं. २ ले वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पोख्रेलले कार्यकर्ताहरूलाई स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिए । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको भन्दै उनले त्यसतर्फ ध्यान केन्द्रित गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । पार्टीलाई मुलुकको प्रमुख शक्ति बनाउनका लागि अहिलेदेखि नै तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो । 
एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेलले संविधान कार्यान्वयन, मुलुकको आर्थिक समृद्धि र स्थानीय निकायको निर्वाचन नै एमालेको अहिलेको एजेण्डा भएको बताए । उनले संविधानले एमालेका अधिकांश एजेण्डा समेटेको भन्दै त्यसको कार्यान्वयनको प्रमुख दायित्व पनि एमालेको भएको जिकिर गरे । नेकपा एमाले सुर्खेत क्षेत्र नं. २ का क्षेत्रीय कमिटी अध्यक्ष डम्मर तिवारीको अध्यक्षतामा भएको कार्यक्रम आज(शनिवार)सम्म सञ्चालन हुने जनाइएको छ । 
प्रकाशित मितिः   ८ फाल्गुन २०७२, शनिबार ११:०९