फुटबलमा रमाए ‘सानी बैनी’

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ फागुन । 
शुक्रबार प्रजातन्त्र दिवस भएकाले सार्वजनिक बिदा थियो । बिदाको दिन भए पनि साटाखानीमा रहेको खाँडदेवी उच्च मावि चौरासेमा फरक दृष्य देखियो । विद्यार्थीहरू विद्यालयको पोशाकमा उपस्थित थिए । त्यतिमात्र होइन, छिमेकी विद्यालयका विद्यार्थीहरू समेत त्यहाँ पुगेका थिए । उनीहरू त्यहाँ पढ्नका लागि जम्मा भएका भने थिएनन् । बिदाको मौका छोपेर आयोजना भएको जिल्लास्तरीय बालिका फुटबल प्रतियोगितामा भाग लिन उनीहरू जम्मा भएका थिए ।
विभिन्न समस्याका कारण बीचमै विद्यालय छोडेका छात्राहरूको शिक्षाका लागि काम गर्दै आएको ग्लोबल एक्सनको आयोजनामा चौरासेमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । संस्थाले जिल्लामा बैनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरेर बालिकाहरूको शिक्षामा सहयोग गर्दै आएको छ । शुक्रवारको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयमा अध्यनरत छात्राहरू (सानी बैनी) ले भाग लिएका थिए । कक्षा ६ देखि ८ सम्म अध्यनरत बालिकाहरूबीच प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा चार वटा विद्यालयको सहभागिता रहेको थियो ।
दिनभर भएको प्रतियोगितामा सानी बैनीहरू फुटबलसँगै रमाएका थिए । प्रतियोगितामा उनीहरू आफूमात्र रमाएनन्, उनीहरूको खेल हेर्नका लागि त्यहाँ पुगेकाहरू समेत रमाएका थिए । बालिकाहरूबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । प्रतियोगिताको उपाधि भने उच्च मावि करैखोलाका बालिकाहरूले हात पारेका छन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल खेलेका उनीहरूले खाँडदेवी उच्च मावि चौरासेलाई हराएर उपाधि चुमेका हुन् । प्रतियोगिताको फाइनल खेलमा दुवैतर्फबाट बराबर गोल भएपछि पेनाल्टीमार्फत् करैखोलाका बालिकाहरूले चौरासेलाई हराएका हुन् । प्रतियोगितामा चौरासे दोस्रो भएको छ । यसअघि करैखोलाले साटाखानीको निमावि पोखरा भञ्ज्याङ्ग र उमावि चौरासेले निमावि नलखोलालाई हराएर फाइनलमा पुगेका थिए ।
बालिकाहरूबीचको उक्त प्रतियोगिता निकै प्रतिस्पर्धात्मक बनेको थियो । प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडी उमावि करैखोलाकी हिरा सोमै घोषित भएकी छन् । यस्तै सबैभन्दा बढी चार गोल गर्न सफल उमावि चौरासेकी निर्मला राम्जाली सर्वाधिक गोलकर्ता बनेकी छन् । प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा निमावि पोखरा भञ्ज्याङ्गले निमावि नलखोलालाई पराजित गरेको थियो । विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । बालिकाहरूमा रहेको क्षमता विकास गर्न र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको ग्लोबल एक्सनले जनाएको छ । संस्थाका कार्यक्रम संयोजक यादव भुषालले बालिकाहरूबीच शनिवार हरिहरपुर र आइतवार रामघाटमा समेत प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिताले बालिकाहरूमा रुहेको प्रतिभा उजागर हुने र उनीहरूबीच ज्ञानको आदान–प्रदान समेत हुने समेत उनको भनाइ छ । 
पहिलोपटक बालिकाहरूबीच मात्र भएको सो प्रतियोगिताले आफूहरूमा थप हौसला बढेको बालिकाहरूको भनाइ छ । साथै उनीहरूले बिदाको दिनमा समयको सदुपयोग भएको र खेलको सीप समेत सिक्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे । यस्ता अवसर र प्रतियोगिताले आउँदा दिनमा बालिकाहरू उत्कृष्ट खेलाडीको रूपमा विकास हुन सक्ने स्थानीय अभिभावकहरूको भनाइ छ । 
प्रकाशित मितिः   ८ फाल्गुन २०७२, शनिबार ११:१२