भ्रमणको औतित्य

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधि मण्डल भारतको ६ दिने भ्रमणमा छ । ओलीको पहिलो विदेश भ्रमणलाई विशेष महŒवका साथ हेरिएको छ । भारतले लामो समय नेपालमाथि गरेको नाकाबन्दीपछिको प्रधानमन्त्रीको यो भ्रमणलाई चासोका साथ हेरिनु स्वभाविक हो । यो भ्रमणलाई ओलीको राष्ट्रवादसँग समते जोडेर हेर्ने गरिएको छ । नाका खोलिएपछि ओलीको भ्रमणको तिथि तोकियो । दूरगामी महŒव राख्ने वा असर पार्ने सम्झौताहरूको आशंका पनि गरिँदैछ । नाका खोल्ने विगतमा केही भित्री सम्झौताको वाचा त गरिएको छैन ? ओलीले देशको दूरगामी हितलाई ध्यानमा राखेर भारतसँग सुमधुर सम्बन्ध राख्नु अनिवार्य छ । तर, यसो भन्दैमा नेपालले आफूमाथि छिमेकबाट लादिएको पीडाको विषय उठाउन छाड्नु हुँदैन । व्यापार र राजनीतिक मुद्दाको कुटनीतिक छलफल छँदैछन् । विशेषगरी सुरक्षाका सवाललाई गम्भीरताका साथ उठाउनुपर्छ । भारतले नेपाली भूमिमा आफूविरूद्धका गतिविधिबारे निकै चासो राख्छ । जाली नोटको कारोबार, सीमापार अपराध, भारत सरकारले आतङ्कवादी घोषणा गरेकाहरूले बेलाबेलामा नेपालमा आश्रय लिनेगरेको सवालका साथै भारतीय भूमिमा गैरकानुनी सामानको ओसारपसार नेपाली बाटो भएर हुने गरेको तर्फ प्रश्न उठाउने गर्छ । नेपालले चाहीं नेपाल विरोधी गतिविधि गर्नेहरूले भारतीय भूमिको दुरूपयोग गर्न खोजेकोतर्फ गम्भीरताका साथ मुद्दा उठाउनुपर्छ ।
भारतले नेपालको सुरक्षा र एकताका सवालमा बनाएको दृष्टिकोण उत्तिकै चासोको विषय हो । भारतीय सुरक्षाविज्ञहरू त्यहाँको सुरक्षाबारे चिन्तन गर्दा नेपाललाई सुरक्षादृष्टिले शीरजत्तिकै ठान्छन् । तीनतर्फ सीमा जोडिएको हिमालको काखमा रहेको देशबाट आफूलाई सुरक्षा चुनौती हुने गतिविधितर्फ सधैं चनाखो हुने गर्छन् । चीन या अन्य शक्तिराष्ट्रले प्रभाव बनाएर असजिलो पार्न सक्नेतर्फ सतर्क हुन्छन् । नेपालले भारतको सुरक्षा चासोमा सधैं जसो सहयोगी भूमिका निर्वाह गर्दै आएको इतिहास साक्षी छ । भारत विरोधि गतिविधि गर्नेलाई नेपालमा ठाउँ बनाउन नदिन सुरक्षा निकाय उत्तिकै गम्भीर छ । नेपाली भूमिमा लुकेर बसेका कतिपय भारत विरोधिहरू पक्राउ गरी सुपुर्दुगी गरिएका छन् । खुल्ला सीमाको दुरूपयोग गरी प्रवेश गरेका आतंककारी गतिविधिका आरोपीदेखि भारतको विभाजनमा सक्रियहरू समेत नेपाली भूमिमा प्रवेश गर्ने बित्तिकै पासोमा परेका घटना छन् । नेपालले कहिल्यै पनि भारत विरोधि गतिविधिलाई छुट नदिने नीति व्यवहारमै कार्यान्वयन गरेर देखाएको छ । के भारतले नेपालको सुरक्षा र एकतामा यस्तै गम्भीरता देखाएको छ ? भारतका पछिल्लो गतिविधिले नेपालमा निकै शंका उब्जाएको तीतो सत्य हो । सिक्किमीकरणको प्रसंग उठाएर राष्ट्रवादी बन्नेहरू नेपालमा निकै बलियो भएका छन् । नेपालको विभाजनमा सक्रिय सशस्त्र र निशस्त्र गतिविधि गर्नेहरूको भारतीय भूमिमा शंकास्पद ओहोरदोहोरलाई गम्भीरताका साथ लिएका छन् । नेपाली सुरक्षा अधिकारीहरूले यसलाई निकै गम्भीरताका साथ लिएको हुनुपर्छ । उच्च तहको भेटघाटमा यी सवालहरू प्राथमिकताका साथ उठ्नुपर्छ ।
प्रधान मन्त्री ओलीले भारत भ्रमणमा सुरक्षाका विषयलाई कसरी उठाउलान् प्रतिक्षाको विषय छ । भौतिक विकास सम्बन्धी सम्झौता गर्दैमा र त्यसको कार्यान्वयन हुँदैमा देशमा शान्ति र स्थायित्व आउँछ भन्ने छैन । सुरक्षा र आन्तरिक एकता नहुँदा विनाशकारीहरू जन्मिएर संरचना ध्वस्त पारिदिन्छन् । १० वर्षे माओवादी हिंसाले प्रष्ट पारिसक्यो । अर्कोतर्फ राजनीतिक स्थायित्व र शान्तिबिना विकास निर्माणले गति लिन सक्दैन । सुरक्षाबिना विकास असम्भव छ । देशको अखण्डतामाथि चुनौती दिन खोज्नेहरूको सक्रियता र शंकास्पद भ्रमणहरूले खतरनाक अवस्था ल्याउन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्छ । देशमा जातीय घृणाको बीउ रोपेर विभाजनको मार्ग खोल्न हिंसात्मक द्वन्द्वको प्रतिक्षा गरिरहेकाहरूले बाह्य महŒव पाउनु सामान्य हुन सक्दैन । यो गम्भीर विषय हो जसले कालान्तरमा देशमा अर्को विनाश निम्त्याउन सक्छ ।
प्रकाशित मितिः   ९ फाल्गुन २०७२, आईतवार १२:४५