उप सभामुखको निर्वाचन आज

सुर्खेत: कर्णाली प्रदेशसभाको उपसभामुख चयनका लागि बुधवार निर्वाचन हुने भएको छ । मंगलवार बसेको प्रदेशसभाको बैठकमा सभामुख नन्दा गुरुङले उपसभामुख चयनका लागि बुधवारको मिति तय गरेकी हुन् ।

सभामुख चयन भइसकेपछि उपसभामुख चयनको प्रक्रिया थालिएको हो । सभामुखमा नेकपा (एमाले) बाट नन्दा गुरुङ निर्वाचित भइसकेकी छिन् । सत्तारुढ गठबन्धनबाट उपसभामुख नेकपा(माओवादी केन्द्र) को भागमा परेको छ । यद्यपि, माओवादीले उम्मेदवारको टुँगो भने लगाइ सकेको छैन । छलफल भइरहेको र बुधवार बिहानसम्म टुँगो लगाइने जनाइएको छ ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधवार बिहान ९ देखि १० बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ताको समय दिइएको छ । सवा १० बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ भने १०ः४५ सम्म उम्मेदवारको प्रस्ताव माथि दाबी विरोधका लागि समय निर्धारण गरिएको छ ।

बिहान ११ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मत विभाजनका लागि पेस गरिनेछ ।

कर्णाली प्रदेशसभाले दोस्रो कार्यकालका लागि उपसभामुख चयन गर्न लागेको हो । सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले लिने सहमति छ । जसअनुसार उपसभामुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सांसद यशोदा न्यौपाने र रणसिंह परियारको नाम चर्चामा छ । न्यौपाने कालीकोट र परियार हुम्लाका हुन् । सभामुखमा महिला चयन भइसकेकाले समावेशीता मिलाउन पनि परियारलाई उपसभामुख बनाउने बलियो सम्भावना रहेको बताइएको छ । माओवादी केन्द्रको भागमा परेको उपसभामुख पदमा को उम्मेदवार बन्छन् भन्ने विषयमा मंगलवार साँझसम्म टुँगो लागेको थिएन । अघिल्लो कार्यकालमा पनि एमालेले राजबहादुर शाहीलाई सभामुख बनाएको थियो भने माओवादी केन्द्रबाट पुष्पा घर्ती विष्ट उपसभामुख बनेकी थिइन् ।

प्रकाशित मितिः   ४ माघ २०७९, बुधबार ०५:०२