कृषिकर्ममा रमाउँदै युवा

सुर्खेत: दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका ३५ वर्षीय रोहित भण्डारी व्यावसायिक तरकारी खेती गर्छन् । झन्डै एक दशकदेखि तरकारी खेतीमा लागेका उनी जिल्लामा सफल कृषकको रूपमा परिचित छन् । युवा उमेरका उनको दैनिकी खेतबारीमै बित्छ । मौसमी र बेमौसमी दुवै सिजनमा तरकारी उत्पादन गर्ने भण्डारीले यही पेसाबाट वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएका छन् । उनको बारीमा हरेक सिजनमा काउली, बन्दा, मुुला, गाजर र टमाटर उत्पादन हुन्छ । १५ रोपनी जग्गामा तरकारी खेती गरिरहेका उनले पाँच वटा टनेल बनाएका छन् । जहाँ मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । खेती गर्ने क्षेत्रफल अझै विस्तार गर्ने सोच बनाएका भण्डारीले चार वटा टनेलमा तरकारी र एउटामा नर्सरीको ब्याड राख्ने गरिएको बताए । उनी भन्छन्, ‘मेरो उमेरका धेरै युवाहरू रोजगारीका लागि भौतारिएको देख्छु, मेरो दैनिकी भने आफ्नै बारीमा लगाएको तरकारीको स्याहार गर्नमै बित्छ ।’ उनले विगतका वर्षहरूजस्तो व्यावसायिक खेती गर्न अब असहज नरहेको जनाए ।

भण्डारीले पनि केही वर्ष पहिलेसम्म उत्पादन गरेको तरकारीको बजार पाएनन् । तरकारी डोकोमा बोकेर बजारसम्म पुु¥याउनुु पथ्र्यो । ‘बजारीकरणको निकै समस्या थियो,’ उनी भन्छन्, ‘अहिले सहकारीको गाडी तरकारी खोज्दै बारीमै आइपुुग्छ ।’ गाउँ–गाउँमा सडक सञ्जाल पुगेसँगै पछिल्लो समय कृषकलाई निकै सहज भएको भण्डारीले बताए । कृषि प्रविधिले पनि पछिल्ला वर्षहरूमा युवाहरूलाई यो पेसाप्रति आकर्षित गरेको छ । रोग किराबाट बचाउन प्लाष्टिक टनेल र जोत्न हाते ट्याक्टरको प्रयोग हुन थालेपछि व्यावसायिक खेतीका लागि सजिलो हुँदै गएको हो । खुल्ला रूपमा तरकारी खेती गर्दा रोगकिराले सताउने समस्या हुन्थ्यो । चर्को घाम, अधिक वर्षा, शीतलहर तथा तुसाराले पनि तरकारीमा असर गथ्र्यो । अहिले भण्डारीजस्ता अधिकांश व्यावसायिक कृषकले प्लाष्टिक टनेलभित्र तरकारी खेती गर्छन् । यसले उत्पादन बढ्नुका साथै घाम पानी र रोगकिराको आक्रमबाट सुरक्षा दिन्छ ।

भण्डारीको परिवारले विगतमा धान मकै र गहँुजस्ता खाद्यान्नको परम्परागत खेती गर्थे । त्यसबाट गुजरा मात्रै चल्थ्यो । ‘परम्परागत बालीबाट सन्तोषजनक आम्दानी हुन नसकेपछि चिन्तित थियौँ,’ भण्डारीले भने, ‘तरकारी खेती गर्न थालेपछि केही वर्षयता उब्जनी र आम्दानी दुवै राम्रो छ ।’ उत्पादन भएको तरकारी सहकारीको संकलन केन्द्रमा लैजाने गरिएको छ । संकलन केन्द्रमार्फत तरकारी दैलेख बजार, सुर्खेत र नेपागञ्जसम्म पुग्ने गरेको छ । भण्डारीले बजारको मागअनुसार तरकारी उत्पादनमा चुनौती रहेको बताए । उनी बारीबाटै तरकारीका बेर्ना बिक्री–वितरणसमेत गर्छन् । व्यावसायिक कृषिकर्ममा लागेका उनले आफूजस्तै चार जना युवालाई रोजगारी पनि दिएका छन् । सरकारी अनुुदानको लाभसमेत लिइरहेका उनले युवाहरूलाई सरकारी अनुदानले थप सहज बनाएको बताउँछन् । भण्डारीले कृषि विकास कार्यालय र नारायण नगरपालिकाबाट तरकारी खेतीका लागि अनुुदानका कार्यक्रम पाएका छन् ।

दैलेखको जाहारकोट तरकारीका लागि जिल्लामै प्रख्यात ठाउँ मानिन्छ । यहाँका कृषकहरू पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ बढी आकर्षित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेको स्थानीयको भनाइ छ । उक्त गाउँमा तरकारी उत्पादनमा सहजताका लागि जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रममार्फत सहयोग गर्र्दै आएको छ । कार्यालयले कृषकहरू आवद्ध सहकारीको भवन निर्माणका साथै अनुदानमा बिऊ तथा विभिन्न कृषि सामग्री दिने गरेको छ ।

वीरेन्द्रनगर–२ की रमा आचार्य ३० वर्षकी भइन् । उनी व्यावसायिक च्याउ खेती गर्छिन् । उच्च शिक्षा हासिल गरेकी उनी रोजगारीको बाध्यता भन्दा पनि रहरले कृषिकर्म गरेको बताउँछिन् । रमाले २०७५ सालमा व्यावसायिक रूपमा च्याउ खेती सुरु गरेकी हुन् । च्याउ खेतीका लागि सुरुमा दुुई लाख लगानी गरिन् । त्यतिबेला उनले एक हजार डल्ला च्याउ उत्पादन गरेकी थिइन् । दुुई लाख लगानी गरेकी उनले सुरुकै वर्ष लगानी छोडेर एक लाख नाफा गरिन् । रहरले थालेको च्याउ खेतीले राम्रो आम्दानी दिएपछि उनलाई थप हौसला मिल्यो । अनुुदानका लागि कृषि विकास निर्देशनालय र प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगिन् । व्यावसायिक रूपमा फर्म दर्ता नगरेकी उनले अनुुदान सुविधा भने पाइनन् । ‘पछि आफ्नै लगानीमा व्यवसायलाई निरन्तरता दिए,’ उनले भनिन्, ‘रहरले थालिएको च्याउ खेतीलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउँदै लगेकी छु ।’

अहिले घरपरिवारको सहयोगमा च्याउ खेती मात्र गरिरहेकी आचार्य सरकारी अनुुदान पाएको खण्डमा व्यवसायलाई थप अगाडि बढाउने सोचमा छिन् । उनी भन्छिन्, ‘अनुुदान पाउन निकै समस्या छ, च्याउको टनेल दर्ता जग्गामा नहुुँदा फर्म नै दर्ता गर्न सकिएको छैन । फर्म दर्ता नहुुँदा अनुुदानबाट वञ्चित हुनुपरेको छ ।’ पछिल्लो समय स्थानीयस्तरमा उत्पादित च्याउको बजार खस्केकाले व्यवसाय भनेजसरी भने नचलेको उनले जनाइन् । आचार्यका अनुसार बाहिरबाट च्याउको मूल्य घटेर आएकाले स्थानीय च्याउले बजार पाउन मुस्किल छ । वार्षिक आम्दानी तीन÷चार लाखको च्याउ बेच्ने उनले अहिले बजार राम्रो नभएपछि उत्पादन पनि घटाएकी छिन् ।

बराहताल गाउँपालिका–५ का युवा गंगाराम लामिछाने कृषि पेसामा तल्लीन छन् । झन्डै दुई दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनको व्यवसाय फस्टाएको छ । दुुई रोपनीबाट खेती सुरु गरेका लामिछानेले अहिले ६ रोपनीभन्दा बढी जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्छन् । तरकारी खेती थाल्नुअघि उनी पनि निर्वाहमुुखी खेती गर्थे । परम्परागत खेतीबाट खासै आम्दानी नहुने भएपछि आधुनिक खेती प्रणाली अपनाएर व्यवसायलाई निरन्तरता दिएको उनले जनाए । मौसमीभन्दा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने उनको अनुुभव छ । प्राङ्गगारिक मलको प्रयोग गरेर बेमौसमी खेती प्रणाली अंगाल्दै आएका उनी कृषि पेसामा राम्रो भविष्य रहेको बताउँछन् ।

तरकारी खेतीबाटै परिवारको खर्च चलाएर बचतसमेत गरिरहेका लामिछाने मासिक ५० हजार आम्दानी गर्दछन् । ‘वार्षिक चोखो एक लाखसम्म बचत हुन्छ, यही आम्दानीबाट छोराछोरी पढाइ र घर खर्च चलेको छ,’ उनले भने । पछिल्लो समय कृषिमा युवाको आकर्षण बढ्दो छ । सरकारले दिने सहुलियत तथा अनुदानका कार्यक्रमले पनि युुवालाई व्यवसाय गर्न थप टेवा पुगेको छ । आफ्नो जमिन नहुनेहरूले बाँझो जग्गा भाडामा लिएरसमेत तरकारी खेती गरिरहेका छन् । सरकारी अनुदानका कार्यक्रमहरू भने अझै प्रभावकारी बनाउन आवश्यक रहेको कृषि पेसामा संलग्न युवाहरू बताउँछन् ।

प्रकाशित मितिः   ३ माघ २०७९, मंगलवार ०५:०५