कर्णालीको लगातार दोस्रो हार

सुर्खेत: प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगितामा कर्णाली प्रदेशको लगातार दोस्रो हार भएको छ । आइतवार मधेश प्रदेशले कर्णालीलाई आठ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । मधेशको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाउँदा प्रतिमा शाहले अविजित १८ रन बनाइन् । कर्णालीले २२ रन अतिरिक्तमा दिएको थियो । कर्णालीका लागि बिना थापाले दुई विकेट लिइन् ।

त्यस अघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो । २३ रनमा पहिलो विकेट गुमाएको कर्णालीले बाँकी पाँच विकेट गुमाएर ५६ रन जोड्न सक्यो । कर्णालीका लागि तिर्सना विश्वकर्मा १५ रन बनाउँदा अन्जु गुरुङले अविजित १३ रन बनाइन् । किरन कुँवर १३ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेश प्रदेशका लागि भुमी सिंहले चार तथा अमिरान निशाले दुई विकेट लिए ।

कर्णाली प्रदेश दुई खेल खेल्दै अंक विहीन रहँदै समूह ‘बी’को पुछारमा रहेको छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागिता रहने छ । यस प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गराइएको छ । दुई समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।

प्रकाशित मितिः   २ माघ २०७९, सोमबार ०५:०२