पोखरामा विमान दुर्घटना

६८ जनाको शव फेला, आज शोक बिदा

सुर्खेत: यति एयरलाइन्सको विमान आइतवार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँ गाउँमा दुर्घटनामा परेको हो ।

सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले आइतवार साँझसम्म ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ ।

कास्कीका सहाय कप्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको बताए ।

काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र चार चालक दलका सदस्यसहित उडेको यती एयरको विमान १०ः५० दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

यसैबीच जहाज दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर–सैनिकहवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो । जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिर रहने छन् भने सदस्यहरूमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराज जंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनु पर्ने वा गर्नु पर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ । साथै बैठकले नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरूको प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने पनि निर्णय गरेको छ ।

सरकारले आज (सोमवार) शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘मन्त्रिपरिषद् बैठकले घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने ।

प्रकाशित मितिः   २ माघ २०७९, सोमबार ०५:०१