समावेशी अभ्यासमा कर्णाली अगाडि

प्रदेशसभाको इतिहासमै पहिलो महिला सभामुख बनिन् गुरुङ

सुर्खेत: कर्णाली प्रदेशसभाको सभामुखमा महिला चयन भएसँगै यसलाई समावेशी अभ्यासको सबल पक्षका रूपमा हेरिएको छ । नेकपा (एमाले) की समानुपातिक सांसद नन्दा गुरुङ आइतवार कर्णाली प्रदेशसभाको सभामुख चयन भएकी छन् । प्रदेशसभाको दोस्रो कार्यकालका लागि कर्णालीको सभामुख बनेकी सुर्खेतको वीरेन्द्रनगर–२ निवासी गुरुङ प्रदेशमा पहिलो महिला सभामुख भएकी हुन् । यसअघि कुनै पनि प्रदेशमा महिला सभामुख बनेका छैनन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा सात वटै प्रदेशमा पुरुष सभामुख थिए ।

कर्णालीमा समावेशीताको मूल उद्देश्य सभामुखको निर्वाचनबाट पूर्ण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले बताइन् । शाहीले सभामुख चयनको दिन महिला नेतृत्वका लागि ऐतिहासिक भएको भन्दै खुसी व्यक्त गरिन् । उनी भन्छिन्, ‘कर्णालीले आइतवार महिला सभामुख पाएको छ, महिलाले सभामुख पदको प्रतिनिधित्व गर्ने मौका गौरवको विषय हो ।’ उनले कर्णालीमा नयाँ अभ्यासको थालनी भएको बताउँदै समावेशीताको यस्तो नमुना हरेक दल र नेतृत्वका लागि पाठ भएको बताइन् ।

प्रदेशसभा सदस्यहरूले प्रदेशको इतिहासमै सभामुख पद महिलाले पाउँदा आफूहरूलाई काम गर्ने हौसला मिलेको प्रतिक्रिया दिएका छन् । प्रदेशसभा सदस्य यशोधा न्यौपाने समावेशी प्रतिनिधित्वमा नेकपा एमालेले देखाएको नमुना कामले महिलाहरूको आँट र हौसला बढेको बताउँछिन् । राजनीतिमा निरन्तरता, योगदान र इमान्दारिताको कदर भएको भन्दै न्यौपानेले आगामी दिनमा यसले सबै महिलाहरूमा ऊर्जा थप्ने अपेक्षा व्यक्त गरिन् । नेतृत्वदायी भूमिकामा महिला पुुग्न जरुरी रहेको उनको भनाइ छ ।

सत्तारुढ गठबन्धनको भागबन्डामा कर्णालीको सभामुख एमाले र उपसभामुख माओवादीले लिने सहमति भएको थियो । सोहीअनुसार एमालेले गुरुङलाई सभामुखको उम्मेदवार बनाएको थियो । प्रदेशसभाको आइतवार बसेको बैठकमा सत्तारुढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । सो दलभित्र सभामुखका लागि पुरुष सांसदहरू पनि आंकाक्षी थिए । अरु आकांक्षीलाई पाखा लगाउँदै गुरुङ उम्मेदवार बन्न सफल भएकी थिइन् । उनीसँगको प्रतिस्पर्धाका लागि नेपाली कांग्रेसले सुर्खेतबाट निर्वाचित खड्गबहादुर पोख्रेललाई अघि सारेको थियो । सभामुखका उम्मेदवार पोख्रेलले १४ मत मात्रै प्राप्त गरे । सभामुखमा निर्वाचित गुरुङलाई माओवादी केन्द्रका १३, एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २४ सांसदले मतदान गरेका हुन् । ४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसदहरू मत विभाजन प्रक्रियामा सहभागी बनेका थिए । सभाध्यक्षको रूपमा बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्ट र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही मत विभाजन प्रक्रियामा सहभागी भएनन् । यस्तै, यसअघि मुख्यमन्त्रीको नियुक्तिमा सत्ता गठबन्धनलाई समर्थन गरेको नेकपा ‐एकीकृत समाजवादी) ले भने सभामुखको निर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मत दिएको छ । कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद कल्याणी खड्काले पोख्रेलको पक्षमा मतदान गरेकी हुन् । सभामुख चयनका लागि शनिवार मनोनयन दर्ता भएको थियो ।

प्रदेशको सभामुख महिला बनेसँगै कर्णालीमा समावेशी अभ्यासको थालनी भएको महिला अधिकारकर्मी टीका विष्ट बताउँछिन् । प्रदेशमा महिला सभामुख चयन भएको दिन महिला आन्दोलनकै ऐतिहासिक दिन बन्न पुुगेको उनले जनाइन् । उनी भन्छिन्, ‘यसलाई महिलालाई उपमा सीमित गर्ने प्रवृत्तिको परिवर्तित अंशका रूपमा लिइएको छ, अवसर, इच्छाशक्ति र क्षमता भए नेतृत्वदायी भूमिकामा जान सकिन्छ भन्ने दरिलो उदाहरण बनेको छ ।’

अर्की अधिकारकर्मी पवित्रा शाहीले पनि महिलालाई सभामुख बन्नुले निकै सकारात्मक सन्देश प्रवाह भएको बताइन् । ‘कर्णाली प्रदेशसभामा ऐतिहासिक निर्णय भएको छ, अरु प्रदेशले समेत यसको सिको गर्न आवश्यक छ,’ उनले भनिन् । शाहीले गुरुङ सभामुख बन्दा महिला आन्दोलनले सार्थकता पाएको रूपमा हेरिएको बताइन् । महिलाहरूलाई हरेक निकायको नेतृत्वका लागि राजनीतिक दलहरूले पनि अवसरको वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले जनाइन् । ‘एमालेको पार्टी नेतृत्वले गरेको निर्णय निकै सान्दर्भिक छ, अन्य पार्टीले पनि महिलाहरूलाई अगाडि बढाउन यस्ता अवसरहरू प्रदान गर्नुपर्छ, राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिताको सवालमा सबै गम्भीर बन्नुपर्छ’ उनले भनिन् ।

संघीयता कार्यान्वयनपछि प्रदेशहरूमा सभामुख बन्ने पहिलो महिला बनेकी गुरुङ एमाले कर्णाली प्रदेश कमिटी सदस्यसमेत हुन् । थुप्रै संघर्षबाट उदाएकी उनी विद्यार्थीकालबाटै राजनीतिमा होमिएकी थिइन् । २०४८ सालदेखि सक्रिय राजनीतिमा लागेकी गुरुङले यो पदसम्म आइपुग्दा धेरै संघर्ष गर्नुपरेको एमालेका नेता कार्यकर्ताहरू बताउँछन् । जनजाती समुुदायबाट प्रतिनिधित्व गर्ने उनलाई कुनै बेला घरबाट बाहिर निस्किनै मुुश्किल थियो । सकसकाबीच राजनीतिलाई निरन्तरता दिएकी गुरुङ २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएकी थिइन् । साविक उत्तरगंगा गाउँ विकास समितिको वडा नं. ४ बाट उनी वडाको महिला सदस्य निर्वाचित भएकी थिइन् । गुरुङले वर्षाैंसम्म पार्टीका तल्लो कमिटीहरूमा रहेर काम गरेकी छन् । प्रारम्भिक कमिटी, वडा तथा गाउँ कमिटी, इलाका एवम् क्षेत्रीय कमिटी र जिल्ला कमिटीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव उनीसँग छ । हाल पार्टीको प्रदेश कमिटीमा रहेकी उनले लामो समय अखिल नेपाल महिला संघको जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी प्राप्त गरेकी थिइन् ।

नवनिर्वाचित सभामुख गुरुङ भन्छिन्, असहज परिस्थितिकाबीच राजनीतिमा होमिएकी थिएँ, पार्टीमा इमान्दारिताका साथ निरन्तरतापूर्वक काम गर्दै जाँदा यो ठाउँसम्म आइपुगेकी छु ।’ गुरुङ एकल महिला हुन् । २०५४ सालमा श्रीमान्को निधन भएपछि पारिवारिक र सामाजिक जिम्मेवारीसँगै राजनीतिलाई अघि बढाउन उनलाई अनेक कठिनाइहरू आए । ‘महिला, जनजाती र त्यसमा पनि एकल भएकाले समाजको हेर्ने दृष्टिकोणले निकै असहज अवस्थाहरू ब्यहोर्नु प¥यो,’ उनले भनिन् । कुनै समय उनलाई पार्टी र घरव्यवहारको कामको तालमेल मिलाउन हम्मेहम्मे थियो । कैयन् दिन भोको पेटले समेत पार्टीको काम गरेको अनुभव उनीसँग छन् । पार्टी र पारिवारिक जिम्मेवारी एकैसाथ समालेकी गुरुङले अध्ययनलाई पनि उत्तिकै प्राथमिकता दिइन् । अध्ययन र आत्मनिर्भर नभइ सशक्तिकरण अभियान सफल नहुने बुझेकी उनी अहिले स्नातकोत्तरमा अध्ययनरत छन् । उनी भन्छिन्, ‘मैले पार्टीका लागि गरेको योगदानको कदर भएको छ, जसरी पार्टीले सही मूल्याङ्कन गरेको छ त्यसैगरी मैले पनि सभामुखको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रयास गर्नेछु ।’

प्रकाशित मितिः   २ माघ २०७९, सोमबार ०५:०५