न्याय माग्दै समीक्षाका आफन्त

प्रधानमन्त्रीको स्वागतमा निकालिएको ¥यालीमा ज्यान गुमाएकी छात्रा समीक्षा आचार्यका आफन्तले आफूहरूले न्याय नपाएको गुनासो गरेका छन् । एक महिना बितिसक्दा पनि घटनाको बारेमा छानविन नभएको र दोषीलाई कारबाही नभएको भन्दै आफन्तले तत्काल दोषीमाथि कारबाहीको माग गरे । राज्यले नै घटनालाई बेवास्ता गरेको उनीहरूको दुखेसो छ ।

गत मंसिर २३ गते कर्णाली एक्स्पो तथा व्यापार मेलाको उद्घाटनका क्रममा वीरेन्द्रनगरमा निकालिएको ¥यालीमा धपेडीका कारण १३ वर्षीया समीक्षाको ज्यान गएको थियो । मेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भन्दै विद्यालयले ह्वीप नै लगाएपछि स्थानीय होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत समीक्षा ¥यालीमा सहभागी भएकी थिइन् । सोही क्रममा बेहोस भएकी समीक्षाको उपचारमा ढिलाइ गरिएको र आयोजककै लापरबाहीले छोरी गुमाएको भन्दै आफन्तले दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

‘छोरी गुमाएको एक महिना बित्यो, न घटनाको छानविन भयो न त हामीले न्याय नै पायौं’ मृतक समीक्षाका बुबा विष्णु आचार्यले भने, ‘आजसम्म मेलाका आयोजक सम्पर्कमा छैनन्, स्थानीय प्रशासनले पनि कुनै चासो दिएको छैन । छोरीको कालगतिले मृत्यु भएको होइन, अप्रत्यक्ष रूपमा यो हत्या नै हो ।’ पढ्नका लागि विद्यालयमा पठाएकी छोरीलाई ¥यालीमा लैजानेहरूमाथि छानविन र कारबाही हुनुपर्ने उनको भनाइ छ । विद्यालयले आफूहरूका कुरा सुनेको भए पनि मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघले बेवास्ता गरिरहेको उनले बताए । उनले भने, ‘हामीले अनाहकमा छोरी गुमायौं, अब चाहेर पनि छोरी फिर्ता पाउन सक्दैनौं । तर हामीले न्याय मागेका छौं, अब राज्यले पनि ¥यालीमा बालबालिका प्रयोगमा प्रतिबन्ध लगाओस् ।’

आफूहरूले समीक्षाको नाममा प्रतिष्ठान गठन गरेको भन्दै आफन्तले त्यसमा सहयोगको आग्रह गर्दासमेत घटनासँग जोडिएका निकायले बेवास्ता गरेको गुनासो गरे । मृतक समीक्षाका काका वाइपी आचार्यले भने, ‘¥यालीमा जबर्जस्ती लगिएकाले छोरीको हत्या नै गरिएको हो, यसको जिम्मा मेला आयोजकले नै लिनुपर्छ । घटनाको सत्यतथ्य बाहिर आओस्, दोषीलाई तत्काल कारबाही हुनुपर्छ ।’ आफूहरूले संयम अपनाउँदा कमजोर ठानेर घटनालाई चासो नदिइएको भन्दै उनले अब न्यायका लागि चुप लागेर नबस्ने बताए । समीक्षाको नाममा प्रतिष्ठान गठन गरिएको जानकारी दिँदै उनले प्रतिष्ठानमार्फत् देशभर बालबालिकालाई ¥यालीमा प्रयोग गर्न नहुने भन्दै अभियान सञ्चालन गरिने जनाए । यही प्रतिष्ठानका लागि सहयोग गर्न आग्रह गर्दासमेत मेला आयोजकहरूले बेवास्ता गरेको भन्दै उनले दुःख व्यक्त गरे । उनका अनुसार विद्यालय र प्याब्सनले भने आवश्यक सहयोग गर्ने बाचा गरेका छन् ।

यो घटनाको बारेमा राष्ट्रिय मानवअधिकार आयोगले छानविन सम्पन्न गरेको छ । आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जले स्थलगत अध्ययनपछि छानविन प्रतिवेदन तयार पारेको हो । आयोगको क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले भने, ‘हामीले घटनाको प्रतिवेदन तयार पारिसकेका छौं, अब केन्द्रमा बुझाउने छौं । त्यसपछि केन्द्रले नै आवश्यक कारबाही थाल्नेछ, पीडितले न्याय र दोषीले सजाय पाउनैपर्छ ।’ यसअघि सुर्खेतमै नागरिक तरबाट गठन भएको छानविन समितिले आयोजकको लापरबाही र विद्यालयलको कमजोरीका कारण समीक्षाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । उपचारमा ढिलाइ गरिएकै कारण उनको मृत्यु भएको आफन्तले पनि ठहर गरेका छन् । यो घटनापछि जिल्ला शिक्षा कार्यालयले अब कुनै पनि सार्वजनिक समारोहमा बालबालिकाको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

प्रकाशित मितिः   २६ पुष २०७३, मंगलवार १५:१३