‘कर्णाली प्रदेश’को समृद्धि र जाजरकोटको सम्भावना

deepakजाजरकोट जिल्लाको भू–बनौट नेपालकै कमजोर भएकाले अति संवेदनशील जिल्लामा राखिएको छ । जाजरकोट जिल्लामा सबैभन्दा बढी मकै, त्यसपछि गहुँ अनि धान उत्पादन हुँदै आएको छ । जिल्लाको ठूलो भू–भाग जुम्ला र डोल्पासँग जोडिएबाट उत्तरी जनजीवन चिसो र कठिन छ । तत्कालीन जुम्ला राज्यको कलस्टरसँग मिल्ने जीवनशैली, आयआर्जन, भाषा, संस्कृति तथा भू–बनौट छ । घोडा, भेडा, गाइ, भैंसी, बाख्रा, बादे, च्यांग्रा पाल्नेमात्र हैन चिनो, कागुनो, माटे, लट्टे, कोदो, उवा, जौ, गहुँ, फर्सी, काँक्रो, सिमी, स्याउ, आरु लगायत लेकाली जडिबुटी उत्पादन हुँदै आएका छन् । यहाँका बासिन्दाहरू अहिले पनि खर्क, लेक, बुँकी, पाटनमा पशुहरू पालेर पशुपालन युगको विशेषता झल्काउँदै छन् । कम्मल, राडी, पाखी, स्वीटर, ज्याकेट, पस्मिना, लिउ, मोजा, मफ्लर, झोला बुनेर बेच्ने परम्परालाई कायमै राखेका छन् । जुम्लासँग जोडिएको नलसिंह गाडको जलाधार क्षेत्रको बारेकोटको कम्मल र गावाले जाजरकोटलाई विशेष मौलिक परिचय बनाइदिएका छन् । शाही, सिंह, हमाल, मल्ल, बाहुन, खत्री, दलितको बस्ती संख्या बढी भएको बारेकोट क्षेत्रका लामीडाँडा, गोठगाउँ, जिरी, मैना, कुसमुरे र च्याखुरे लेकका समिपका अति आकर्षक ठाउँ गाउँहरू हुन् ।

पवित्रतम नलसिंहगाडको जलाधारको ¥याफ्टिङले जलक्रिडाको प्रचूर सम्भावना बोकेको छ । यहाँ पाइने असला, तलचाप्रे, बुदुना, कत्ले जातका माछाहरूले उच्च जलप्रवाहमा आफ्नो बासस्थान बनाएका छन् । यी प्रजातिका माछा भेरीमा मात्र नभएर काठमाडौंसम्म ख्याति कमाएका छन् । जलविद्युतलाई मात्र हैन सिँचाइ, पर्यटनसहित बारेकोट क्षेत्रका जलप्रवाहलाई आधुनिक प्रजातिका व्यवसायिक र प्रविधियुक्त तरिकाले पाल्न सक्ने युवाहरूलाई प्रेरणा, मान, सम्मान, बजार लगानी दिनसक्यौ भने त्यस क्षेत्रको भावी भविश्य सुन्दर र उज्यालो छ । अग्ला भिराला, सुख्खा पवित्रतम जाजरकोटी भू–भागमा विश्वमै अतिदुर्लभ र लोपोन्मुख बीरकालिज, चीरकालिज, भ्याकुर लगायत धेरै चराहरू उपलब्ध छन् । बारेकोट क्षेत्र यस्ता चराहरू लगायत मालचरी, गिद्ध, डाँग्रे, काग, हाँस, वनहाँस, कछुवा, तालचरी, भ्यागुताका साथै लेकाली सर्पका प्रजातिहरूको अध्ययन अनुसन्धान क्षेत्रमार्फत् जाजरकोट समृद्धितिर लाग्न सक्छ ।

तर, पिपल, आँप, सिमल, साल, साजजस्ता वृक्षहरूसँग जाजरकोटी जनताको भावना गाँसिएको छ । फाँट, ज्यूला, औल, खेत, बेसी, पाटा, सुर्काहरूबाट जनताको जीवनपद्दति प्रत्यक्ष निर्देशित छ । उकाली, ओराली, देउरालीमा आमजनताका पुर्खाहरूले गुल्जार गरेका छन् । जाजरकोटमा पनि परम्परागत अब्बल, दोयम, सीम र चहार चार प्रकारका भूमिहरूको वर्गीकरण गरिए पनि संवेदनशील भू–बनौटका कारण पूर्वाधारको विकास संरचना निर्माण, बत्तीविकास, जनसंख्या व्यवस्थापन, जनशक्ति विकास गर्न वस्तुगत समस्याहरू देखिएका छन् । चुत्रो, मेल, टिम्मुर, काफल, अम्बा, केरा, एैसेलु, सुन्तला, कागत, निबुवा, जुनार, भोगटे, किम्मु, तुथो, कटहर पहुँचविहीन जाजरकोटी जनताको प्रत्यक्ष जीवन उपयोग आय आर्जन र अनुभवसँग जोडिएका परम्परित वन्य तथा घरेलु फलफूलहरू हुन् । यिनीहरूको जनचेतना, महत्व तथा बजारीकरण समृद्धिको पहिलो प्रारम्भिक पाइला हो । जनताको जीवनस्तर परिवर्तनविना सुख, शान्ति, विकास, समृद्धि एकता, स्थिरता आकाशको फल आँखातरी मर भने जस्तै हो ।

रिम्नाघाटदेखि, छेडागारसम्मको भेरी नदीको उत्तरी, पश्चिमी पाखोमात्रले भावी जाजरकोटी आधुनिक कृषिकर्मको विकसित भूमि बन्नसक्छ । यसक्षेत्रको अनावश्यक तथा अनुत्पादक झाडीलाई वैज्ञानिकीकरण गरी तीव्र प्रवाहशील भेरीको पानीलाई लिफ्ट सिँचाइ तथा सतह सिँचाइका साथ एकीकृत उद्देश्यहरूमो उर्वरशील राता माटोमा सिँचाइ गरी नसानसामा पठाइदिएको खण्डमा यही खण्डले जाजरकोटीलाई पाल्नसक्छ भने अरु बाँकी भू–भागमा खेतीपाती हैन फलफूल, पशुपालन, माछापालन, मौरीपालन, पर्यापर्यटन, जडिबुटी संकलन प्रशोधन होइन, उच्चमूल्यका रक्तचन्दन, रुद्राक्ष, बेलका बोटहरू निःशुल्क रूपमा जनताका पाखा,काल्ना, भिर र आलीमा लगाउन दिएको खण्डमा समृद्धिको गन्तव्य प्राप्त गर्न सकिनेछ । बेलको उत्पादन अहिले पनि जाजरकोटका दक्षिणी सीमानामा भए पनि व्यावसायीकरण, प्रविधिकरण, बजारीकरण यान्त्रिकीकरण हुन सकेको देखिन्न । तेजपत्ता, बवियो, अमला, हर्रो, बर्रो, रिठा, कागरसिंगो, खरी कौडीको मूल्यमा सडेका छन् । कोदो खानेलाई कथित आधुनिकहरूले हेला गरेका छन् । भिमल, भोर्ला, खरी, अल्लो, भाङो, उन लगायतमा आधारित साना तथा घरेलु उद्योगको व्यवस्थापन तथा बजारीकरणद्वारा जाजरकोटी सीप, ज्ञान, प्रविधिले बाहिर ख्याति कमाउन सक्छ । बर्सेनी विदेशिने जाजरकोटी युवाहरूको सुख, समृद्धि र प्रगतिमा निराशा, खिन्नता र उदासिनतालाई परिवारसँगै बसेर सुख–दुःख बाँड्दै उच्चजीवन विताउने सम्भावना छ ।
पीश्चम नेपालकै ठूला टारहरूमध्येको कुदुटारको सिँचाइ, सडक, खानेपानी, भौतिक संरचना निर्माण, कृषिको उत्पादनको पुस्तक तथा बाली पहिचानका साथै कृषि पाठशालामा जाजरकोटका भावी समृद्धिको मुख्य आधार बन्न सक्नेछ । पुष्पलाल लोकमार्ग र छिन्चु–जाजरकोट सडकको संगमस्थल बन्न पुगेको कुदुटारको टाउकोमा रहेको जगतिपुरले धार्मिक, संस्कृतिक, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक, राजनैतिक जीवन्त महŒव बोकेको छ । आचार्यहरूको मूलउद्गमस्थल मानिएको जगतिपुरले मानवशास्त्रीय, समाजशास्त्रीय दलिलहरू बोकेको छ । बदाम, तिल, गहत, माटे, कोदो, घैयामकै, आलु लगायत अन्य कृषिकर्महरूको सम्भावना राम्रो रहेको कुदुको भू–बनौट रातोमाटो, जाजरकोटकै बलियो भू–संरचना, पारिलो ठाउँ, अवीरल बगिरहने भेरीनदीको वैज्ञानिक उपयोगमा नै जाजरकोटको सुन्तुलित, सम्मुनत र समृद्धीको सम्भावना अडिएको छ । पूर्वतिर रहेको चौरजहारीको हवाईमैदान, क्याम्पस, विद्यालय, अस्पताल, व्यापार, उपभोक्ता जाजरकोटी समृद्धिका सहपक्षहरू हुन् । बाझ, प्याज, कटुस, गुराँस जाजरकोटी महाभारतश्रृंखलाका बासिन्दाहरूको जीवनधारहरू हुन् । गुराँस, कटुस, धाइरो, बाँको, तरुल, गिठ्ठा, भ्याकुर, पिंडालु, बेसार, अदुवा, टिम्मुर, वनलसुन, घुयलो, मराइतो, करैफलको वैज्ञानिक आधुनिक व्यवस्थापन, बजार, उपभोग, महŒव तथा जीविकोपार्जनको प्रत्यक्ष आधारका रूपमा बोध गर्न सकेको खण्डमा कालापहाड जाने, वेरोजगार भई सहरतिर भौतिरिने, जीवनमूल्य नबुझ्ने युवाहरूको चिन्तन सकारात्मक रूपमा परिवर्तन हुनसक्छ । कागले कान लग्यो भनेर कान नछामी कागका पछिपछि हौडने समाज अब वस्तुगत हुनुपर्ने स्थिति आएको छ ।

लेकाली मार्सी धान, घैयामकै, चैते धान, बासमति, तिल्की, गट्टेधान, पद्मचाल, गुचीच्याउ, बारेकोटी गाभा, छेडाको माछा, अर्गानिक मह, चिउरीपैयौं, उत्तिसमा गरिने च्याउखेती, स्याउ, खगेनकोटको बदाम, झाप्राको काफल छिमेकी जिल्लामा मात्रै पु¥याउन सक्ने हो भने जाजरकोटी जनजीवनमा स्तरीयता आउन सक्छ । भर्खरै मात्र निर्माण सम्पन्न रिम्ना भेरीपुलको यथाशीघ्र प्रयोग, जाजरकोट–जुम्ला सडक, रातानाङला–धमरपोखरा, पचाली गुराँसे–डोल्पा निर्माणधीन सडक, छेडा–थाल, दटारो दह, नलसिंहगाड पहुँच मार्ग, कुसुमुसे च्याखुरे पर्यटन यात्रा, बार्ेकोट–जुम्ला, बारेकोट–डोल्पा सडकहरूको निर्माणले जाजरकोटी व्यापार, संस्कृति, कला, सम्बन्ध, अनुभवहरू विस्तार हुने सन्देश दिनसक्छन् । छिन्चु–जाजरकोट सडकका अनगिन्ती घुम्ती र मोडले असुरक्षा, समय बर्बाद, अशान्ति, दिने संकेतहरू न्यूनीकरण गर्न सडकलाई वातावरणमैत्री, सुरक्षित, समर्पित, दु्रतगती बनाउन आवश्यक छ । झण्डै पचास किलोमिटरभन्दा लामो जाजरकोट खण्डस्थित पुष्पलाल राजमार्गको निर्माणमा सबैभन्दा ढिला सुस्ती भइरहेको छ । पुष्पलाल लोकमार्गको निर्माणमा तीव्रता ल्याएपछि जाजरकोटीको व्यापार, सम्बन्ध, यात्राले पूर्वतिर कोल्टे फेरेपछि पोखरा, रुकुमकोट, बागलुङ, पर्वत, म्याग्दी, मुसीकोट, चौरजहारी, तकसेरा, दोरपाटनसँग नयाँ आयामहरू थपिनेछन् । जाजरकोट–छिन्चु सडकको चाप घट्न जानेमात्र छैन खसी, माछा, मह, जडिबुटी राडीपाखी व्यापारिकमूल केन्द्र पोखरा बन्नेछ र आर्थिक गतिविधि बढ्नेछ । पूर्वेली व्यापारीहरू विभिन्न विधाका सम्भावनाहरू खोज्न जाजरकोट प्रवेश गरेपछि लेनदेन सम्पर्क, मित्रता, व्यावसायिकतामा नयाँपन आउनेछ । जाजरकोटका खानी, खनिज, जलस्रोत, हावापानी, माटो अनुकुलका आर्थिक गतिविधि र क्रियाकलापहरू बढे पनि पहुँचमा नरहेका जातजाति, भाषाभाषीमा समानुपातिक वितरण बन्न पुगेर पनि समृद्धि केवल कुरामा मात्र सीमित रहने हुन्छ । यसर्थ थाल, भिउस, कार्कीगाउँ, पुन्मा, भूर लगायत विभिन्न क्षेत्रका देवलहरूको संरक्षण आवश्यक छ र पैकमस्टोको अध्ययन आवश्यक छ । यसले प्रस्तावित कर्णाली प्रदेशको समृद्धिमा पनि सघाउने छ ।

प्रकाशित मितिः   २६ पुष २०७३, मंगलवार १५:११