‘स्मार्ट सिटी’ मै प्रविधिको बिजोग

वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ६४ वटा सिसी क्यामेरा प्रयोगविहीन

सुर्खेत: वीरेन्द्रनगरलाई प्रविधियुक्त नगरका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ । सोहीअनुसार नगरको बजार क्षेत्रमा ‘स्मार्ट सिटी’का आधार तयार गर्न केही वर्षयता विभिन्न निकायबाट प्रयासहरू थालिएका छन् । त्यसमध्येको एक हो, बजार क्षेत्र तथा उपत्यकाका मुख्य चोकमा सिसी क्यामेरा जडान ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर पनि भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यहाँ सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् । मर्मत सम्भारमा ध्यान नदिँदा सिसी क्यामेरा बेबारिसे बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य बजारसहित नगरका ९२ स्थानमा सिसी क्यामेरा जडान भएकोमा हाल तीमध्ये २८ वटाले मात्रै काम गर्छन् । ठूलो लगानीमा जोडिएका ६४ वटा क्यामेरा अहिले प्रयोगमा छैनन् ।

लामो समयदेखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा छ । प्रहरीका अनुसार अहिले २८ वटा क्यामेराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरु क्यामेराको कन्ट्रोल रुमसँग कनेक्सन टुटेको छ । अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरत कार्कीले बताए । नगरका मुख्य चोकमा राखिएका क्यामेरासमेत बिग्रिएको अवस्थामा रहेको उनले बताए । निकै व्यस्त रहने यरिचोकमा जडान गरिएको सिसी क्यामेरासमेत बिग्रिएको छ । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको वीरेन्द्रनगरका विभिन्न ठाउँमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको छ ।

‘स्मार्ट सिटी’ अवधारणामा रहेर विकास निर्माणको काम गरिरहेको दाबी गर्ने नगरपालिकाले त्यसका लागि बनेका संरचना र प्रविधिको उचित संरक्षण गर्न सकेको छैन । वीरेन्द्रनगरलाई आधुनिक प्रविधिसँग जोड्न सुरु गरिएका काम अलपत्र बनेका हुन् । ‘स्मार्ट सिटी’ का लागि सहरका क्रियाकलाप तथा गतिविधिलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ । जसअन्तर्गत वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानी गर्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन । नगरको बजार क्षेत्रलाई रातीमा पनि उज्यालो राख्न यसअघि पटक–पटक जडान गरिएका सोलार बत्तीको उस्तै हालत छ । केहीबाहेक धेरैजसो सोलार बत्ती अहिले प्रयोगमा छैनन् । नगरमा पछिल्लो पटक जडान गरिएका केही हाइमास लाइट पनि बिग्रिसकेका छन् ।

उज्यालो र सुरक्षित नगर निर्माणका लागि नगरपालिकाले दुई वर्षअघिदेखि विभिन्न चोकमा ठूलो क्षमताका लाइट जडान थालेको थियो । मर्मतका लागि ती हाइमास लाइटको अवस्था अध्ययन भइरहेको नगरपालिकाले जनाएको छ । सिस्टममा आएको खराबीका कारण कतिपय ठाउँका लाइटमा समस्या देखिएको बताइएको छ । सिसी क्यामेरा र हाइमास लाइट प्रविधि महँगो तथा मर्मतका लागि जनशक्तिको पनि अभाव रहेकाले समस्या भएको नगर प्रमुख मोहनमाया ढकाल बताउँछिन् । उनी भन्छिन्, ‘नगरमा जडान गरिएका प्रविधिको विस्तार तथा मर्मतका लागि प्रदेश सरकारसँग पनि सहयोग मागिएको छ, बिग्रिएका सिसी क्यामरा र हाइमास लाइटको मर्मत नगरपालिकाले तत्काल गर्नेगरी तयारी गरेको छ ।’ उनले वीरेन्द्रनगर राजधानी सहर भएकाले यसलाई प्रविधिमैत्री बनाउन प्रदेशको पनि उत्तिकै सहकार्य आवश्यक रहेको जनाइन् ।

अहिले सवारी आवागमनलाई सहज बनाउन मुुख्य बजार क्षेत्रमा सडक चौडा बनाउने काम भइरहेको छ । निर्माणाधीन सडकका कारण पनि बजार क्षेत्र अस्तव्यस्त छ । राजधानी सहरका लागि आवश्यक पर्ने अन्य आधारभूत पूर्वाधार निर्माणको प्रक्रिया पनि धमाधम अघि बढाइएको नगर प्रमुुख ढकाल बताउँछिन् । उनी भन्छिन्, ‘प्रविधिको मर्मत सम्भार निकै कठिन छ, मर्मतका लागि सामान र जनशक्ति बाहिरबाट झिकाउनुपर्छ, प्राविधिक जनशक्ति नहुुँदा सिसी क्यामेराजस्ता प्रविधि मर्मतमा ढिलाइ हुने गरेको छ ।’ सिसी क्यामेराले काम नगर्दा घटना भइसकेपछि अनुुसन्धानको क्रममा प्रमाण जुटाउन समस्या हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका नायब उपरीक्षक कार्की सिसी क्यामेराको सहायताले बजार क्षेत्रमा हुने तस्करी, आपराधिक व्यक्तिहरूको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्ने बताउँछन् । उनले भने, ‘बजारमा सडक दुर्घटना हुन्छ, धेरै ठाउँका सिसी क्यामेरा बिग्रिएका छन्, जसले गर्दा चालक फरार हुने गरेका छन् ।’ चोरीका घटनामा अनुसन्धान गर्न पनि समस्या हुने गरेको उनले बताए ।

प्रदेश राजधानीको सहर भएकाले यहाँ आपराधिक गतिविधि पनि बढी नै हुुने गरेका छन् । सुरक्षा निकायको आँखा छलेर चोरी, तस्करी र लागुऔषधको ओसारपसारसमेत हुँदै आएको छ । सिसी क्यामेरा जडानपछि त्यसको सञ्चालनका लागि आवश्यक पर्ने स्रोतको अभाव र सरोकारवालाको बेवास्ताले मर्मत सम्भार हुन सकेको छैन । प्रहरी नायब उपरीक्षक कार्की अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएकाले यसको सञ्चालनमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउँछन् । २०७३ सालमा पहिलो पटक सुर्खेत उद्योग वाणिज्य संघको पहलमा नगरमा सिसी क्यामेरा जडान सुरु गरिएको थियो । बजार क्षेत्रको निगरानी र नागरिकको सुरक्षाका लागि त्यतिबेला ३१ स्थानमा सीसी क्यामेरा जडान गरिएका थिए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल सिसी क्यामेरा मर्मत र बाँकी क्षेत्रमा जडानका लागि नगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए । कँडेलले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सिसी क्यामेरा किनेर जडान गर्ने प्रस्ताव संघले अघि बढाएको जनाए ।

प्रकाशित मितिः   ३० पुष २०७९, शनिबार ०५:०५