चुनिँदै सभामुख

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख र उपसभामुखको चयन प्रक्रिया थालिएको छ । सभामुखको निर्वाचनका लागि आज (शनिवार) मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सभामुखको निर्वाचन भोलि ‐माघ १) गते हुनेछ । गएको सोमवार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठकले सभामुख चयनका लागि निर्वाचन मिति तय गरेको थियो । प्रदेशसभाको अधिवेशनको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम माघ १ गते दिउँसो १ बजे सभामुखको निर्वाचन हुने बताइएको हो । सभामुख चयन नभएकाले प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभाअध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए । शाह बिहीवार मन्त्री नियुक्त भइसकेका छन् । प्रदेशसभा नियमावली, २०७९ को नियम ७ (१) बमोजिम प्रदेशसभा सचिवालयले सोमवार सूचना जारी गरी सभामुखको मनोनयन दर्ताको समय पुस ३० ‐आज) का लागि दिएको छ । आजै मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन र उम्मेदवार उपर दाबी विरोधको कार्यतालिका रहेको छ । त्यस्तै, भोलि उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र प्रदेशसभाको बैठक प्रारम्भ भइ मत विभाजन र निर्वाचन परिणाम घोषणा हुनेछ । कर्णाली प्रदेशसभाको बैठक भोलि बिहान ११ बजे बोलाइएको छ । उपसभामुखको निर्वाचन भने सभामुखले तोकेको मितिमा गर्ने व्यवस्था छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सभामुख चयन भइसकेपछि माघ २ गते उपसभामुखको निर्वाचन गर्ने तयारी छ ।

सत्ता साझेदार दलको सहमतिअनुसार कर्णालीमा सभामुख नेकपा (एमाले) र उपसभामुख नेकपा ‐माओवादी केन्द्र) ले लिनेछन् । यी दुवै दलभित्र सभामुख र उपसभामुखको उम्मेदवार को बन्ने भन्ने टुँगो लागिसकेको छैन । सभामुख र उपसभामुखमा कसलाई पठाउने भन्नेमा छलफल जारी रहेको नेताहरूले बताएका छन् । प्रदेशसभाको अंकगणित हेर्दा सभामुख एमालेले पाउने निश्चितजस्तै भएपनि प्रतिपक्षी दल कांग्रेसले पनि उम्मेदवारी दिने बुझिएको छ । एउटा मात्रै उम्मेदवारी परेमा मत विभाजनमार्फत सभामुख निर्विरोध निर्वाचित हुनेछन् भने दुई वा दुईभन्दा बढी उम्मेदवार बनेमा प्रत्येकलाई दर्ताको प्रस्तावका आधारमा प्रक्रियामा लैजाने व्यवस्था छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सत्ता गठबन्धनसँग २५ र कांग्रेससँग १४ सांसद छन् । त्यस्तै, एक जना स्वतन्त्र सांसद छन् । सभामा पाँच दलको प्रतिनिधित्व छ । माओवादी केन्द्र नेतृत्वको सरकारलाई एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा ‐एकीकृत समाजवादी) ले समर्थन गरेका छन् ।

प्रकाशित मितिः   ३० पुष २०७९, शनिबार ०५:०४