बराहतालका ७४ परिवारलाई लालपुर्जा

सुर्खेत: बराहताल गाउँपालिका–५, बड्डीचौरका ७४ परिवारले जग्गाधनी प्रमाण–पुर्जा ‐लालपुर्जा) पाएका छन् । चार दशकदेखि लालपुर्जाको पर्खाइ रहेका बड्डीचौरस्थित भ्याकुले, आपखोली र गिद्धमारेका स्थानीयलाई सोमवार लालपुर्जा वितरण गरिएको हो । बराहताल गाउँपालिका–५ का एक सय ५० घरधुरी लाल पुर्जाविहीन थिए । तीमध्ये एक सय पाँच परिवारलाई जग्गा वितरण गर्ने तयारी गरिएकोमा कतिपयले राज्यलाई दिनुपर्ने दश प्रतिशत राजस्व तिर्न नसकेका कारण ७४ परिवारलाई मात्रै जग्गाको पुर्जा उपलब्ध गराइएको छ ।

तत्कालीन राप्ती अञ्चल क्षेत्रीय बसोबास कार्यालयले २५ वर्षअघि त्यहाँको जग्गा नापजाँच गरेको थियो भने २०४५ सालमा जग्गा नापी भएको थियो । त्यतिबेला लालपुर्जा वितरणको अन्तिम तयारी भएपनि अन्त्यमा स्थानीयको हातमा सेतो पुर्जा थमाइएको थियो । बराहताल–५ की हरिकला नाम्जाली बसिरहेको थातथलोको ४० वर्षपछि लालपुर्जा पाउँदा दङ्ग थिइन् । वर्षौंपछि आफ्नो नाममा जग्गाको स्वामित्व लिन पाउँदा हर्षित भएको उनले बताइन् । ७५ वर्षीय हरिकलाको परिवारले चार दशक अघिदेखि उपभोग गर्दै आएको जग्गा चार रोपनी छ । २०४५ सालमा उनको हातमा यही जग्गाको सेतो पुर्जा परेको थियो । हरिकला भन्छिन्, ‘सेतो पुर्जा मात्रै हुँदा निकै समस्या थियो, रातो पुर्जा पाउँदा खुसी लागेको छ, ठूलो सपना साहाकार भएको छ ।’ उनी उमेरले ७५ वर्षकी भइन् ।

सोही वडाका ७१ वर्षीय टीकाराम लामिछाने मगरले पनि सोमवार लालपुर्जा पाएका छन् । उनले २०४५ सालमा उक्त जग्गाको सेतो पुर्जा पाएका थिए । त्यसबेलादेखि आफ्नो जग्गाको रातो पुर्जा कहिले पाइला भन्ने पखाइमा रहेका उनको पनि धोको पूरा भएको छ । ‘आफ्नो जग्गाको पुर्जा यही जुनीमा पाउँला भन्ने विश्वास लागेको थिएन,’ उनले भने, ‘४० वर्षयता भोगचलन गर्दै आएको जग्गाको बल्ल मालिक बनियो ।’ भूमिसम्बन्धी समस्या समाधान आयोगले सोमवार बराहतालमा जग्गाधनी पुर्जा वितरण गरेको हो । आयोगको सुर्खेत समितिका अध्यक्ष श्रीधर पौड्यालले योसँगै सुर्खेतमा चार सय २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको जनाए ।

प्रकाशित मितिः   २६ पुष २०७९, मंगलवार ०५:०१