इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा

सुर्खेत: सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रूपैयाँ कटौती गरेको छ । योसँगै हवाई भाडासमेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं–सुर्खेत रुटमा ६ सय ९० रूपैयाँ भाडा घटेको छ । धनगढीको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रूपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र आठ हजार तीन सय ९५ रूपैयाँ तिरिरहेकोमा अब सात हजार पाँच सय १० रूपैयाँ तिरे पुग्नेछ । यस्तै, धनगढीको अधिकतम् भाडा १६ हजार एक सय ४० रूपैयाँमा झरेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६ सय ८५ रूपैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम् भाडा १४ हजार दुई सय पाँच रूपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६ सय रूपैयाँ भाडा घटेको छ ।

अब विराटनगरलाई चार सय ८५, जनकपुरका लागि दुई सय ६०, भरतपुरका लागि दुई सय १५, पोखराका लागि तीन सय २० कम तिरे पुग्नेछ । काठमाडौंबाट भैरहवाका लागि चार सय १०, नेपालगञ्जमा ६ सय ५५, तुम्लिङटारका लागि तीन सय ७०, सिमराका लागि एक सय ८० र राजविराजका लागि चार सय ११ रूपैयाँ भाडा कम भएको छ । यो भाडादर २७ पुसबाट लागू हुनेछ ।

प्रकाशित मितिः   २६ पुष २०७९, मंगलवार ०५:०१