सभामुखको निर्वाचन माघ १ गते

सुर्खेत: कर्णाली प्रदेशसभाको सभामुख चयनका लागि आउँदो माघ १ गते निर्वाचन हुने भएको छ । सोमवार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठकले सभामुख चयनका लागि निर्वाचन मिति तोकेको हो । कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन हुने बताएका हुन् । प्रदेशसभाको अधिवेशनको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सोमवार बसेको प्रदेशसभाको बैठकले सभामुखको निर्वाचनको मिति तोकेको हो ।

सभामुख चुन्न बाँकी रहेकाले अहिले ज्येष्ठ सदस्य शाहले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन् । निर्वाचन सम्पन्न गर्नका लागि प्रदेशसभा नियमावली, २०७९ को नियम ७ (१) बमोजिम प्रदेशसभा सचिवालयले सोमवार नै सूचना जारी गरिसकेको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सभामुखको निर्वाचन कार्यतालिका अनुसार पुस ३० गते मनोनय दर्ताको समय दिइएको छ । त्यस्तै, पुस ३० गते नै मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन र उम्मेदवार उपर दाबी विरोधको कार्यतालिका छ । माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र प्रदेशसभाको बैठक प्रारम्भ भइ मत विभाजन र निर्वाचन परिणाम घोषणा हुनेछ । सत्ता साझेदार दलका शीर्ष नेताको आइतवार सम्पन्न बैठकले कर्णालीमा सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले लिने सहमती भएको छ । कर्णाली प्रदेशसभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्नेछ ।

प्रकाशित मितिः   २६ पुष २०७९, मंगलवार ०५:०२