पदक विजेता खेलाडीले पाएनन् पुरस्कार

सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका कर्णालीका खेलाडीले घोषित पुरस्कार पाएका छैनन् । कर्णाली प्रदेश सरकारले नवौंमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने औपचारिक निर्णय गरेको थियो । तर खेलाडीहरूले अहिलेसम्म पुरस्कार रकम नपाएका हुन् ।

प्रदेश खेलकुद विकास परिषद्ले गण्डकी प्रदेशमा आयोजना भएको प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई जनही दुई लाख, रजत जित्ने खेलाडीलाई जनही एक लाख ५० हजार र कास्य पदक जित्ने खेलाडीलाई जनही एक लाख रूपैयाँ दिने निर्णय गरेको थियो । प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले नवौं राष्ट्रिय खेलकुदको ट्रफी अनावरण कार्यक्रममा प्रतियोगिता अघिनै कर्णालीले पुरस्कार रकम घोषणा गरेर खेलाडीको मनोबल बढाउने निर्णय गरेको सार्वजनिक रूपमा घोषणा गरेका थिए । तर अन्य अधिकांश प्रदेशले खेलाडीलाई नगदसहित सम्मान गरेपनि कर्णालीका खेलाडीले अझै पुरस्कार पाएका छैनन् ।

प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार दिने विषय प्रक्रियामा रहेको र खेलाडीले चाँडै पुरस्कार वापतको रकम प्राप्त गर्ने बताउँछन् । ‘सबैलाई थाहा छ, प्रतियोगिता लगत्तै चुनाव भयो । आचार संहिता लाग्यो । प्रक्रियाबाट जान प¥यो । यसले गर्दा समय लाग्यो’ उनले भने, ‘पुरस्कारको रकम भनेर छुट्याएको थिएन । अब कागजात समेत समयमै बन्न सकेन । त्यसले गर्दा ढिला भयो ।’

अधिकांश प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिसकेका छन् । तर कर्णालीले अहिलेसम्म खेलाडीलाई पुरस्कार वापतको रकमसहित सम्मान कार्यक्रम गर्न सकेको छैन । प्रदेश खेलकुद विकास परिषद् कर्णालीका सदस्य सचिव विश्वमित्र सञ्जेलले खेलाडीलाई प्रोत्साहन गर्ने कुराको निर्णय सरकारले लिनुपर्ने बताउँछन् । ‘कति जना खेलाडीले कति पदक ल्याए भन्ने विवरण सहित पुरस्कार रकम उल्लेख गरेर कार्तिक महिनामै परिषद्बाट सामाजिक विकास मन्त्रालयमा पठाएको हो । अहिलेसम्म सो विषय टुँगोमा नलाग्ने कारण थाहा पाउन सकेको छैन ।’ उनले भने, ‘कहिले आर्थिक मामिला मन्त्रालयले बजेट छैन भन्छ । कहिले सामाजिक विकास मन्त्रालयले बजेट व्यवस्था नभएर मन्त्री परिषद्मा लैजान मिल्दैन भन्छ । यस विषयमा सरोकारवाला मन्त्रालय र मुख्यमन्त्रीलाई जानकारी गराएको छु ।’

नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्य पदक जितेको थियो । उसुका दिपक हमाल र एथलेटिक्सका दुर्गबहादुर बुढाले तीन सय मिटर स्टिबल चियर्समा स्वर्ण पदक हात पारेका थिए । कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारीसहित पूर्वाधारको कामलाई द्रुत गतिमा अघि बढाएको छ । तर नवौंमा पुरस्कार सहित खेलाडी सम्मान गर्ने सन्दर्भमा प्रदेश सरकार उदासिन देखिएको छ ।

प्रकाशित मितिः   २६ पुष २०७९, मंगलवार ०५:०४