मन्टेश्वरी सञ्चालक संगठित

सुर्खेत: सुर्खेतमा सञ्चालित मन्टेश्वरीहरूलाई संगठित गरिएको छ । मन्टेश्वरी शिक्षाका प्रतिनिधिहरूको भेलाबाट जिल्लास्तरीय एसोसियसन गठन भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) लाई थप मजबुद संस्था बनाउन मन्टेश्वरीहरूलाई पनि संगठित गरिएको जनाइएको छ । नेशनल प्याब्सन नेपालको २५सौँ वार्षिकोत्सव एवम् रजत जयन्तीको पूर्वसन्ध्यामा आइतवार नेशनल प्याब्सन एशोसिएसन अफ मन्टेश्वरी गठन गरिएको हो ।

नेशनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष कुसुम भट्टराईले नौ सदस्य जिल्ला कमिटी गठन गरिएको बताए । ज्ञानदय मन्टेश्वरीकी सञ्चालिका जीवन विसी अध्यक्ष रहेको जिल्लास्तरीय कमिटी बनाइएको छ । शिक्षण सिकाइमा तल्लो तहदेखि नै नयाँ शैली अपनाउने र रचनात्मक विषयमा संगठित भएर काम गर्ने उद्देश्यले एसोसियसन गठन गरिएको भट्टराईले बताए । पछिल्लो समय बालबालिकाको शिक्षामा मन्टेश्वरी विधिको प्रयोग प्रभावकारी मानिएको छ । साधारणतयाः पाँच वर्षबाट बालबालिकालाई विद्यालय भर्ना गर्ने गरेको पाइन्छ । मन्टेश्वरीहरूमा भने १८ महिनादेखि नै बालबालिकालाई पठाउने गरिएको छ । औपचारिक शिक्षा लिनुपूर्व असल आचरण र बानीब्यहोरा सिकाउन अभिभावकहरूले बालबालिकालाई मन्टेश्वरी पठाउने गरेका छन् । जिल्लास्तरीय मन्टेश्वरी एशोसियसन गठन कार्यक्रममा नेशनल प्याब्सनका जिल्ला अध्यक्ष गायत्री राना, नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कमलकुमार सिंह र नेशनल प्याब्सन कर्णाली प्रदेश अध्यक्ष मेहेन्द्र पुनको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २५ पुष २०७९, सोमबार ०५:०१