विपद्विरुद्ध पूर्वतयारी
प्राकृतिक विपद्का कारण कर्णाली प्रदेशमा बर्सेनि धनजनको क्षति हुन्छ । विशेष गरेर बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति हुने गरेको छ । यस्ता तर विपद् जोखिम न्यूनिकरणका लागि पर्याप्त तयारी हुँदैन । जसका कारण पनि क्षति बढी हुँदै आएको छ । पछिल्लो समय भने सरकार पनि संवेदनशील देखिएको छ । कर्णाली प्रदेश सरकारले विपद्को समयमा उद्धार तथा राहतलाई सहज बनाउन प्रविधिको प्रयोगमा जोड दिने भएको छ । भौगोलिक विकटताका कारण उद्धार तथा राहतमा ढिलाइ हुँदा थप क्षति व्यहोर्दै आएको अवस्थालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको हो । विपद्सँग जुध्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उद्धार र राहतका लागि हवाई यन्त्र ड्रोनको प्रयोग थालेको छ ।
विपद्को समयमा हुने जोखिम घटाउन प्रविधिको प्रयोग सुरु गरिएको हो । हवाइ यन्त्र ड्रोनको सहायतामा उद्धारको काम गरिनेछ । जसले गर्दा तत्कालै राहत वितरण र उद्धारमा सहज हुनेछ । आन्तरिक मामिला तथा कानुुन मन्त्रालयसँग अहिले उक्त प्रयोजनका लागि एउटा ड्रोन छ । प्रविधिको प्रयोगले यसअघि महिनौ लाग्ने क्षतिको विवरण संकलन कार्यलाई अब छिटो–छरितो बनाउने मनत्रालयको विश्वास छ । उद्धार र राहतका लागि ड्रोनको प्रयोग गर्दा एक घण्टामै विवरण संकलन र अवस्थाबारे जानकारी लिन सकिने बताइएको छ । खासगरी भौगोलिक रूपमा विकट ठाउँहरूमा यो प्रविधि बढी प्रभावकारी हुने दाबी गरिएको छ । यसको प्रयोगका लागि जनशक्तिको भने अभाव छ । यति मात्रै होइन आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७९ निर्माण गरेको छ । विपद्को समयमा सबै क्षेत्रलाई चलायमान बनाउनका लागि प्रतिकार्य योजना बनाइएको हो । बाढी, पहिरो, आगलागी, चट्याङ्ग हावाहुरी, हिमपात, असिना, जंगली जनावरको आक्रमणजस्ता प्रकोप तथा घटनाबाट जोगिन र क्षति न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाइएको मन्त्रालयको दाबी छ । हाल कर्णालीमा प्रदेश आपतकालीन सञ्चालन केन्दद्र, जिल्ला आपतकालीन सञ्चालन केन्द्रहरू प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।
विपद्को तथ्याङ्क संकलन र उद्धारमा ढिलाइ हँुुदा मानवीय क्षति बढ्ने जोखिम हुन्छ । त्यसैले विभिन्न संयन्त्रमार्फत यसमा सुधार ल्याउन सकिन्छ । नीतिगत निर्णय मन्त्रालयबाट हुने भएपनि विपद्सँग जुध्न स्थानीय सरकार र विभिन्न संघ–संस्थाहरूको भूमिका महङ्खवपूर्ण रहन्छ । यसका लागि पालिकाहरूलाई पनि प्रविधिमा जोड्न सकेमा अझ प्रभावकारी हुन सक्नेछ । किनभने विपद्को पूर्वतयारी, प्रतिकार्य, उद्धार तथा राहतका सवालमा सबै निकायको हातेमालो आवश्यक छ ।
प्रकाशित मितिः २५ पुष २०७९, सोमबार ०५:०३
सम्पादकीय ।