मातृशिशु स्याहारमा स्थानीय सरकार

गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न घरदैलोमा स्वास्थ्यकर्मी

सुर्खेत: दैलेखको भगवतीमाइ गाउँपालिका–३ मेहलतोलीकी सरिता बुढा सुत्केरी भएकोे एकसाता भयो । सुत्केरी भएयता स्वास्थ्यकर्मीहरूले दुई पटक घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्था बुझे । उनलाई स्वास्थ्यको हेरचाह र पोषिलो खानाबारे आवश्यक परामर्श दिए । घरमै स्वास्थ्यकर्मी पुगेपछि सुरुमा त उनलाई अनौठो लाग्यो । यो पालिकाका अधिकांश स्वास्थ्य संस्थामा विगतमा स्वास्थ्यकर्मी भेट्न मुस्किल हुन्थ्यो । अहिले घरमै आएर सञ्चो–बिसञ्चो सोध्न थालिएको हो । ‘घरमै आएर स्वास्थ्यसम्बन्धी परामर्श पाएँ, चेकचाँज गरेर पोषिलो खाना खान सल्लाह दिनुभयो,’ सरिताले भनिन् । भगवतीमाइमा पछिल्लो समय स्वास्थ्य सामग्रीसहितको झोला बोकेर स्वास्थ्यकर्मी सुत्केरी खोज्दै घरमै पुग्छन् । पालिकाले आधारभूत मातृशिशु स्याहारमा चासो दिन थालेपछि त्यहाँका गर्भवती तथा सुत्केरीहरूलाई निकै सहज भएको छ । सरिता भन्छिन्, ‘स्वास्थ्यकर्मीहरूले मेरो स्वास्थ्य अवस्था मात्रै बुझ्नुभएन पोषिलो खानेकुरा तथा हेरचाहका लागि परिवारका सदस्यलाई पनि जानकारी गराउनुभयो ।’ न्यानो कोठामा बस्न र पोषिलो खाना खान स्वास्थ्यकर्मीले सुुझाएको उनले सुनाइन् । घरदैलोमै सुविधा पाएपछि स्वास्थ्य सेवा लिन पहिलाको तुुलनामा धेरै सजिलो भएको उनी बताउँछिन् ।

सोही वडाकी कालिका चन्दले स्वास्थ्यकर्मी घरमा आउँदा आफ्ना स्वास्थ्य समस्या राख्न सहज भएको बताइन् । भौगोलिक विकटता र यातायातको सहज पहुँच नभएको भगवतीमाइमा गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य चौकीसम्म जान पनि कठिनाइ छ । कालिकाले भनिन्, ‘आफ्ना समस्याबारे घरमै परामर्श पाइने भएपछि प्राथमिक उपचारका साथै रोगको पहिचान गरेर थप उपचारमा सहयोग पुग्ने गरेको छ । स्वास्थ्यकर्मीले परिवारका सदस्यलाई पनि परामर्श दिने हुुँदा सुत्केरी र शिशुको रेखदेखमा सबैको ध्यान जाने गरेको कालिकाको अनुभव छ । गएको जेठदेखि भगवतीमाइमा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घरमै पुग्ने अभियान थालिएको हो । पालिकाले यस्तो अभियानको सुरुवात गरेसँगै सबैजसो गर्भवती र सुत्केरीहरू लाभान्वित भएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक टीकाराम विष्टले बताए । उनका अनुसार पालिकाले सुत्केरीसँग चार पटक स्वास्थ्यकर्मीले भेटघाट गर्ने कार्यक्रम राखेको छ । ‘दुुई पटक स्वास्थ्यकर्मी घरमै पुुग्छन्,’ उनले भने, ‘दुुई पटक स्वास्थ्य संस्थामै भेटघाट गर्ने कार्यक्रम हुुन्छ ।’

गाउँपालिकाले परिवार स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरू घरमा पुगेर सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था जानकारी लिने गरेको छ । स्वास्थ्य अवस्था हेरेर आवश्यकता अनुसार उपचार सेवा पनि दिँदै आएको छ । सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित रूपमा गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको जनस्वास्थ्य निरीक्षक विष्टले जनाए । पालिकाले यो कार्यक्रम सञ्चालन गरेयता सुत्केरी आमा तथा नवजात शिशुुको पोषण र स्वास्थ्यमा सुुधार देखिएको छ । गर्भवतीको स्वास्थ्य परीक्षण गर्ने दरमा पनि उल्लेखनीय सुधार आएको हो । उक्त कार्यक्रमका लागि पालिकालाई संघीय सरकारले चालु आर्थिक वर्षमा ४० लाख बजेट दिएको छ ।

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या न्यूनीकरण गर्न गाउँपालिकाले सन्देशमूलक अभियान पनि सञ्चालन गर्दै आएको छ । कार्यक्रमको प्रभावले सुत्केरीको खानपान, सरसफाइ र स्याहारमा जागरण आएको भगवतीमाइ–३ मेहेलतोली स्वास्थ्य चौकीकी अनमी लक्ष्मी श्रेष्ठ बताउँछिन् । उनले गाउँघरमा सुत्केरीलाई गर्ने व्यवहारमा ठूलो परिवर्तन आएको जनाइन् । यहाँ विगतमा सुत्केरीलाई छुुट्टै कोठामा राख्ने र खाना बार्ने चलन थियो । अहिले स्वास्थ्यकर्मी घरमा सुत्केरी भेट्न जाँदा परिवार खुसी हुने, विभिन्न जिज्ञासा राख्ने र परामर्श लिने गरेका छन् । श्रेष्ठ भन्छिन्, ‘अस्पताल तथा स्वास्थ्यचौकीमा भन्न नसकेको कुरा स्वास्थ्यकर्मीलाई घरमै भेट्दा खुलेर भन्ने गरेको पाइन्छ, स्वास्थ्यकर्मीले भनेको कुरा घरपरिवारले समेत सकारात्मक रूपमा लिने गर्नुभएको छ ।’

कर्णालीका ७९ वटै स्थानीय तहमा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत आमा र नवजात शिशुलाई यसरी नै घरदैलोमा सेवा दिन थालिएको छ । आधारभूत मातृशिशु स्याहार कार्यक्रममार्फत मातृ मृत्युदर न्यूनीकरणमा पालिकाहरू सक्रिय भएका हुन् । नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्न सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी पुग्दा सेवा निकै प्रभावकारी भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । ‘यो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ र प्रभावकारी पनि मानिएको छ,’ उनले भने, ‘यसलाई थप प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वय र सहयोग जरुरी देखिन्छ ।’ स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै कर्णालीमा पछिल्ला वर्षहरूमा मातृृ मृृत्युदर घटेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ प्रदेशभर मातृ मृृत्युदर २१ थियो । त्यसको पछिल्लो वर्ष २०७७/०७८ मा २० र २०७८/०७९ मा १७ मा झरेको हो । मातृ मृत्युुदरमा क्रमिक रूपमा कमी आइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   २४ पुष २०७९, आईतवार ०५:०५