स्वरोजगारको लक्ष्य पछ्याउँदै पालिका

सुर्खेत: सल्यानको शारदा नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले प्लम्बर तालिमदेखि लोक सेवामा प्रतिस्पर्धा गर्ने विद्यार्थीका लागि निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको छ । महिलाहरूलाई आय–आर्जनका गतिविधिमा जोड्न सीपमूलक तालिम र स्वरोजगारका अवसरहरू सिर्जना गरिएका छन् । शारदा नगरपालिकाले चालु आर्थिक वर्षको यो अवधिमा ६० जना विद्यार्थीलाई लोक सेवाको तयारी गर्न आार्थिक सहयोग गरेको हो । नगरपालिकाले बेरोजगारी समस्या र बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै पाइपको काम गर्ने तथा टायल र मार्वल लगाउने मिस्त्रीको सीप सिकाउन विभिन्न चरणका तालिम सञ्चालन गरेको छ । नगरप्रमुख प्रकाश भण्डारीले नगरवासीलाई स्वरोजगार बनाउने उद्देश्यले सीप विकासका कार्यक्रममा जोड दिइएको बताए । पालिकाले यो वर्ष स्वारोजगार कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरेको छ । भण्डारी भन्छन्, ‘दक्ष जनशक्ति उत्पादन गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हाम्रो प्राथमिकताको विषय हो ।’

नगरले युुवा, विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको छ । केही बजेट नगरपालिका आफ्नै हो भने कतिपय सीपमूलक कार्यक्रम गैरसरकारी संस्थाहरूको साझेदारीमा सञ्चालन गरिएको नगरप्रमुख भण्डारी बताउँछन् । उनका अनुसार लोक सेवा तयारीमा जुटेका विद्यार्थीहरू पहिलो चरणको पढाइ सकेर दोस्रो चरणमा प्रवेश गरेका छन् । न्यून आर्थिक अवस्था भएका पढ्न चाहने विद्यार्थीलाई नगरपालिकाले निःशुुल्क लोक सेवा तयारी कक्षा सञ्चालनको प्रबन्ध गरेको हो । त्यस्तै, रोजगारीका लागि विदेशीने मनस्थितिमा रहेका युुवाहरूलाई गाउँमै रोक्न सीपमूलक तालिमहरू प्रदान गरिएको छ । तालिमहरू सञ्चालन भइरहेको र सीप सिके पश्चात रोजगारीको सुनिश्चितता गरिने नगरपालिकाले जनाएको छ । रुचि र क्षमताअनुुसारको तालिमहरू प्रदान गरी रोजगारी सिर्जना गर्ने नगरपालिकाको लक्ष्य छ ।

पालिकाले एकल तथा अतिविपन्न परिवारका महिलाहरूलाई सिलाइ–बुनाइ र ब्यूटिसियन तालिमहरू दिएको छ । तीमध्ये कतिपय सीप सिकेर स्वरोजगार बनिसकेका छन् । पालिकाले पछिल्लो समय कृषि अनुुदानमा पनि जोड दिएको छ । संघ–संस्थाहरूको साझेदारीमा कृषिमा अनुदान कार्यक्रम सञ्चालन भइरहेका हुन् । नगरप्रमुख भण्डारीका अनुसार एकैपटक नभए क्रमिक रूपमा विदेशीने युुवालाई गाउँठाउँमै स्वरोजगार बनाएर आय–आर्जनमा लाग्न प्रोसाहित गर्ने योजना अघि बढाइएको छ । कृषिमा अनुुदान कार्यक्रम र युुवा व्यवसायीहरूलाई विशेष प्राथमिकतामा राखेर अनुदानका कार्यक्रमहरू सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

सल्यानकै दार्मा गाउँपालिकाले सीप विकास गरेर त्यसलाई उद्यममा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । स्वरोजगारको लक्ष्य हासिल गर्न सशक्तिकरण र आय–आर्जनका कार्यक्रममा जोड दिइएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । उनका अनुसार चालु वर्षमा स्वरोजगारमूलक विभिन्न कार्यक्रमका लागि पालिकाले ४० लाख बजेट छुट्याएको छ । ‘कृषि तथा पशुुजन्य उत्पादनमा आधारित भैसी पालन र दुध डेरी सञ्चालनमा अनुुदानका कार्यक्रम सञ्चालन गरिएका छन्,’ केसीले भने, ‘महिलाहरूको सशक्तिकरण कार्यक्रम अन्तर्गत सीपमूलक तालिम सञ्चालन भइरहेका छन् ।’ पालिकाले गाउँघरमा नागरिकहरूका आवश्यकता पहिचान गरेर सोही मागमा आधारित रही कार्यक्रमहरू सञ्चालन गर्छ । पालिकामा बेरोजगारी समस्या न्यूनीकरण गर्न सीप विकासका गतिविधिलाई उच्च प्राथमिकतामा राखिएको छ । यहाँ पनि गैरसरकारी संघ–संस्थाको साझेदारीमा थुप्रै सीपमूलक कार्यक्रम सञ्चालनमा छन् । स्थानीयस्तरमा हुने उत्पादनको बजारीकरण र कृषि अनुुदानका कार्यक्रमहरू प्राविधिकको सल्लाहअनुसार प्रदान गरिँदै आएको छ । रोजगारीका लागि विदेशिनुुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित दार्मा गाउँपालिकाले स्थानीयस्तरमै रोजगारी दिन सकिने अवसरको पहिचान गरिरहेको जनाएको छ । उक्त पालिकामा पनि न्यून आर्थिक अवस्था भएका लोक सेवा तयारी गर्न चाहने विद्यार्थीको अध्ययनका लागि तीन लाख बजेट छुुट्याएको छ ।

दैलेखको नौमुुले गाउँपालिकाले रोजगारीको अवसर सिर्जना गर्न साना तथा घरेलु उद्योगमा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष छबिराम सुवेदीले स्थानीयस्तरमा उत्पादन हुने कच्चा पदार्थको प्रशोधन र बजारीकरणका लागि उद्योगहरू सञ्चालनलाई महŒव दिइएको जनाए । गाउँमै जडिबुटी प्रशोधन लगायतका उद्योग चलाउन सके युवाहरू विदेश जानुपर्ने अवस्थालाई रोक्न सकिने उनको बुझाइ छ । सुवेदी भन्छन्, ‘उद्यममार्फत स्वरोजगारको लक्ष्य भेट्नेगरी योजनाहरू कार्यान्वयनमा लगिएको छ, स्थानीय वस्तुुको पहिचान, उपयोग र व्यवसायीकरणका लागि आवश्यक तालिमहरू सञ्चालनको तयारीमा छौँ ।’ नौमुलेमा लघुुउद्यम सञ्चालन गर्न यस वर्षका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । सुशासन र पारदर्शीतालाई ध्यानमा राखेर बेरोजगारी समस्या हल गर्नेतर्फ पालिका लागेको सुवेदीको दाबी छ ।

बेरोजगारी समस्या बढ्न थालेपछि पछिल्ला वर्षहरूमा स्थानीय सरकारले यसको न्यूनीकरणमा चासो दिएका छन् । पालिकाहरूले वार्षिक नीति, कार्यक्रम र बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुका साथै प्रदेश र संघीय सरकारसँग पनि पहल गर्दै आएका छन् । कर्णाली प्रदेशका अधिकांश पालिकामा सीप विकास, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्न थुप्रै कार्यक्रमहरू भइरहेका छन् । प्रदेशमा अहिले पनि बेरोजगार समस्या ठूलो छ । रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवाहरूको संख्या अधिक छ । स्थानीय सरकारले रोजगारमूलक कार्यक्रम सुरु गरेसँगै केही युवाहरूलाई राहत मिलेको छ । रोजगार तथा स्वरोजगारमूलक कार्यक्रमको माग बढी भएपनि पालिकासँग सोही अनुसारको पर्याप्त स्रोत नहुँदा सबै लक्षित वर्ग भने समेटिन सकेका छैनन् ।

स्वरोजगारको लक्ष्य हासिल गर्न कर्णाली प्रदेश सरकारले पनि विभिन्न योजना सञ्चालन गरिरहेको छ । मन्त्रालय मातहतका कार्यान्वयन कार्यालयमार्फत स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम सञ्चालन भइरहेका हुन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालुु आर्थिक वर्षमा विपन्न लक्षित, कृषि तथा पशुपन्छी प्रवद्र्धन, स्थानीय रैथाने बाली संरक्षण, कृषि सिँचाइ, यान्त्रीकरण व्याज अनुुदान र क्षमता अभिवृद्धिसम्बन्धी दर्जनौँ कार्यक्रमहरू कार्यान्वयन गरिरहेको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जनाए ।

प्रकाशित मितिः   २२ पुष २०७९, शुक्रबार ०५:०५