अलपत्र चक्रपथ

वीरेन्द्रनगर उपत्यकामा चक्रपथ निर्माण थालिएको झन्डै दुई दशक पुग्नै लागेको छ । वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ निर्माण २०६२ सालदेखि सुरु गरिएको हो । विगतमा संघीय सरकारको बजेटबाट निर्माण थालिएको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत ल्याइएको छ । बजेट र ठेक्का व्यवस्थापन संघीय सरकारले गर्छ भने निर्माणको काम प्रदेश सरकारमार्फत भइरहेको हो । हाल १३ करोड बजेटमा निर्माण सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार सडक डिभिजन कार्यालय रूकुम–पश्चिमले ३२ किलोमिटर निर्माण गर्नेछ भने बाँकी काम पूर्वाधार विकास निर्देशनालयले गर्नेछ । आर्थिक वर्ष २०७५/०७६ मा पूर्वाधार विकास निर्देशनालयले बाङ्गेसिमलमा चार सय मिटर सडक चौडा गरेको छ । त्यसयता निर्माण कार्य अघि बढ्न सकेको छैन । जग्गा विवादका कारण निर्माण कार्य प्रभावित भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाले जग्गाको विवाद सुल्झाउन नसक्दा सडक निर्माणको काम ठप्प भएको हो । हालसम्म चक्रपथको ६८ प्रतिशत भौतिक प्रगति र ६२ प्रतिशत वित्तीय प्रगति भएको छ । वन क्षेत्र र व्यक्तिगत जग्गाको विवादका कारण लामो समयदेखि सडक निर्माण अलपत्र परेको छ । चक्रपथ निर्माण क्षेत्रका विभिन्न स्थानमा जग्गा प्राप्तिमा समस्या छ । स्थानीयले जग्गा दिन नमानेपछि चक्रपथ निर्माणको योजना बीचमै रोकिएको हो । कतिपय ठाउँमा अवरोध भएकाले काम ठप्प भएको छ, वन र व्यक्तिगत जग्गाको विवाद कायमै छ । वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ निर्माणमा जग्गा विवादले काम ठप्प भएको हो । वडा नं. १, २ र १० मा व्यक्तिगत जग्गाको विवाद छ । त्यस्तै, बाङ्गेसिमलदेखि जिरो ड्यामसम्मको उत्तरी क्षेत्रमा वन पर्ने भएकाले त्यहाँ पनि सडक निर्माणका लागि जग्गा उपलब्ध हुन सकेको छैन । चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा समेत पछिल्लो समय विवाद देखिएको छ । सडक निर्माणमा जग्गा विवादसँगै स्थानीयको अवरोध पनि कायमै छ । प्रभावित क्षेत्रका स्थानीयले आफ्नो जग्गा दिन मानेको अवस्था छैन । नगरपालिकाले यो विषयलाई सुल्झाउन ढिलाइ गरिरहेको छ । सडक खण्डमा संरक्षित वन क्षेत्र पर्ने तथा विभिन्न समयमा अदालतले दिएका आदेशहरूका कारण पनि चक्रपथ निर्माण योजनाले गति लिन सकेको छैन ।

चक्रपथ वीरेन्द्रनगरको गौरवको आयोजना हो । त्यसैले पनि नगरपालिकाले प्राथमिकताका साथ यसलाई सम्पन्न गर्न आवश्यक छ । अहिले देखिएका विवाद समाधानका लागि समेत तदारुकता जरुरी छ । देखिएका विवाद समाधान गरेर चक्रपथलाई अघि बढाउनु वीरेन्द्रनगरको दायित्व हो ।

प्रकाशित मितिः   २१ पुष २०७९, बिहीबार ०५:०३