कोरोना संक्रमणको जोखिम

सुर्खेत: कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टको जोखिम बढेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कोभिड संकट व्यवस्थापन समितिको बैठक बसी जोखिमको पूर्वतयारी, हालको अवस्था र अब अपनाउनुपर्ने सतर्कताबारे छलफल गरिएको छ । छिमेकी मुलुक भारतमा कोभिडको नयाँ भेरियन्ट (बी.एफ–७) भित्रिएको खबर आइरहेकाले यहाँ पनि उच्च सजकता अपनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन् । सुर्खेत कर्णालीको प्रवेशद्वार समेत भएकाले पनि स्वास्थ्य सतर्कतामा जोड दिनुपर्ने जनाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट भित्रिने जोखिम देखिएकाले त्यसको प्रतिकार्य र स्वास्थ्य सतर्कतामा ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले सञ्चारमाध्यमहरूले सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन अनुरोध गरे । प्रजिअ रिजालले उद्योगी व्यवसायीहरूलाई पनि स्वास्थ्य मापदण्डको पालना गरेर व्यापार व्यवसाय गरिदिन आग्रह गरे । सार्वजनिक स्थलहरूमा भिडभाडजन्य गतिविधि गर्दा सावधानी अपनाउनुका साथै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ छ ।

स्वास्थ्य सतर्कता अपनाउन कोभिड संकट व्यवस्थापन समितिको आग्रह

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पछिल्लो समय कोरोनाको जोखिम कम भएका कारण परीक्षण, खोप र बजेटलगायतका आवश्यक वस्तुहरूको कमी रहेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा हाल तीन सय ९० डोज मात्र भेरोसेल खोप रहेको बताए । संक्रमणको जोखिम फेरि बढेकाले विगतमा जस्तै स्वास्थ्य सामग्री र पूर्वाधार पुनः तयार गर्नुपर्ने उनले जनाए । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार कर्णाली प्रदेशभर ४० हजार सिङ्गल डोज खोप र परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट मौज्दात छ । त्यस्तै, झन्डै तीन लाख थान सर्जिकल मास्क र ६० हजार थान एन–९० मास्क, चार सय ७५ थान अक्सिजन सिलिन्डर, ८१ थान अक्शिजन कन्स्ट्रक्सन र दुई लाख ट्याब्लेट पारासिटामोल मौज्दात रहेको जनाइएको छ । केन्द्रका प्रमुख डा. शक्ति सुवेदीले नयाँ भेरियन्टको जोखिम रहेकाले संक्रमण भित्रनु पूर्व नै आवश्यक सामग्री र सतर्कतामा सबै पक्षको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मितिः   २१ पुष २०७९, बिहीबार ०५:०१