चक्रपथ निर्माणको काम ठप्प

नगरपालिकाले सकेन जग्गा विवाद सुल्झाउन

सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधीन चक्रपथ (रिङ्गरोड) को काम रोकिएको छ । वीरेन्द्रनगर नगरपालिकाले जग्गाको विवाद सुल्झाउन नसक्दा सडक निर्माणको काम ठप्प भएको हो । हालसम्म चक्रपथको ६८ प्रतिशत भौतिक प्रगति र ६२ प्रतिशत वित्तीय प्रगति भएको छ । वन क्षेत्र र व्यक्तिगत जग्गाको विवादका कारण लामो समयदेखि सडक निर्माण अलपत्र परेको छ । चक्रपथ निर्माण क्षेत्रका विभिन्न स्थानमा जग्गा प्राप्तिमा समस्या छ । स्थानीयले जग्गा दिन नमानेपछि चक्रपथ निर्माणको योजना बीचमै रोकिएको हो । स्थानीय सरकारले विवाद सुल्झाएको खण्डमा मात्रै बाँकी काम सुरु हुने सडक डिभिजन कार्यालय रूकुम–पश्चिमका डिभिजन प्रमुख आशुतोष कर्णले बताए । उनी भन्छन्, ‘कतिपय ठाउँमा अवरोध भएकाले काम ठप्प भएको छ, वन र व्यक्तिगत जग्गाको विवाद कायमै छ, विवाद समाधानका लागि नगरपालिकासँग समन्वय भइरहेको छ ।’

वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ निर्माणमा जग्गा विवादले काम ठप्प भएको हो । वडा नं. १, २ र १० मा व्यक्तिगत जग्गाको विवाद छ । त्यस्तै, बाङ्गेसिमलदेखि जिरो ड्यामसम्मको उत्तरी क्षेत्रमा वन पर्ने भएकाले त्यहाँ पनि सडक निर्माणका लागि जग्गा उपलब्ध हुन सकेको छैन । सडक निर्माण क्षेत्रमा साइड क्लियर नहुँदा काम अघि बढ्न नसकेको डिभिजन कार्यालयका सव–इन्जिनियर असल ऐडीले जनाए । उनका अनुसार चक्रपथको विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) मा समेत पछिल्लो समय विवाद देखिएको छ । सडक निर्माणमा जग्गा विवादसँगै स्थानीयको अवरोध पनि कायमै छ । ‘प्रभावित क्षेत्रका स्थानीयले आफ्नो जग्गा दिन मानेको अवस्था छैन,’ ऐडीले भने, ‘नगरपालिकाले यो विषयलाई सुल्झाउन ढिलाइ गरिरहेको छ ।’ सडक खण्डमा संरक्षित वन क्षेत्र पर्ने तथा विभिन्न समयमा अदालतले दिएका आदेशहरूका कारण पनि चक्रपथ निर्माण योजनाले गति लिन नसकेको उनको भनाइ छ ।

वडा नं. १ र १० पर्ने वन र व्यक्तिगत जग्गाको विवादका साथै अन्य वडाका कतिपय ठाउँमा स्थानीयले जग्गा छोड्न मानिरहेका छैनन् । झन्डै ३८ किलोमिटर लामो चक्रपथमध्ये हालसम्म २२ किलोमिटर मात्रै निर्माण भएको छ । १६ किलोमिटर सडक निर्माणको काम बाँकी नै छ । वीरेन्द्रनगर उपत्यकामा चक्रपथ निर्माण थालिएको झन्डै दुई दशक पुग्नै लागेको छ । वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ निर्माण २०६२ सालदेखि सुरु गरिएको हो । विगतमा संघीय सरकारको बजेटबाट निर्माण थालिएको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत ल्याइएको छ । बजेट र ठेक्का व्यवस्थापन संघीय सरकारले गर्छ भने निर्माणको काम प्रदेश सरकारमार्फत भइरहेको हो । हाल १३ करोड बजेटमा निर्माण सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार सडक डिभिजन कार्यालय रूकुम–पश्चिमले ३२ किलोमिटर निर्माण गर्नेछ भने बाँकी काम पूर्वाधार विकास निर्देशनालयले गर्नेछ । आर्थिक वर्ष २०७५÷०७६ मा पूर्वाधार विकास निर्देशनालयले बाङ्गेसिमलमा चार सय मिटर सडक चौडा गरेको छ । त्यसयता निर्माण कार्य अघि बढ्न सकेको छैन ।

जग्गा विवादकै कारण काम रोकिएको वीरेन्द्रनगर पालिकाका उपप्रमुख निलकण्ठ खनाल बताउँछन् । उनका अनुसार वडा नं. २ मा सडक निर्माण क्षेत्रमा व्यक्तिगत जग्गा परेकाले विवाद छ । निर्माणका क्रममा देखिएका विवाद सुल्झाउन नगरपालिकाले प्रयास गरिरहेको उनले बताए । ‘नगरपालिकाले चक्रपथ निर्माणको काम अघि बढाउन पहल गरिरहेको छ,’ उनले भने, ‘सम्बन्धित क्षेत्रका वडा अध्यक्षयहरूलाई समेत समस्या सुुल्झाउन भनिएको छ ।’ सडकको बीचमा पर्ने रूख कटानको अनुमति नदिइँदा पनि थप समस्या भइरहेको खनालले बताए । प्रभावित क्षेत्रका बासिन्दाले व्यक्तिगत जग्गा दिन नमान्दा कतिपय ठाउँमा सडकलाई जङ्गलतिर च्याप्नु परेको बताइएको छ । वन क्षेत्रबाट सडक लैजान झनै चुनौती रहेको नगरपालिकाले जनाएको छ । सडक डिभिजन कार्यालयले निर्माणाधीन चक्रपथको ६८ प्रतिशत काम सकेको दाबी गरेको छ । जग्गा र वनको विवादले अरु काम रोकिएकाले ठेक्का सम्झौताअनुसार पुनःम्याद थपका लागि परिपत्र गरिएको कार्यालयले जनाएको छ । स्थानीयको अवरोध र वन क्षेत्रको विवादले गर्दा काममा असहज तथा ढिला भइरहेको बताइएको छ । निर्माण व्यवसायी काम गर्न तयार भएपनि ठाउँ नै नहुँदा केही समय खाली बस्नुपर्ने बाध्यता रहेको सव–इन्जिनियर ऐडीले बताए । ‘ढिलाइ हुनुको मुख्य कारण भनेकै बेला–बेलामा भइरहने जग्गा विवाद हो,’ उनले भने, ‘यसको समाधान भए काम तोकिएकै समयमा सम्पन्न गर्न सकिन्थ्यो ।’

प्रकाशित मितिः   २० पुष २०७९, बुधबार ०५:०५