‘६७ प्रतिशत महिला छाउगोठमै’

सुर्खेत: दैलेख र सुर्खेतका चार वटा पालिकाका महिलाहरूले अहिले पनि असुरक्षित रूपमा महिनावारी बार्ने गरेको पाइएको छ । ती पालिकाका ६७ प्रतिशत महिलाहरू रजस्वला भएको समयमा छाउगोठमा बस्ने गरेको एक गैरसरकारी संस्थाले जनाएको हो । वातावरणीय कृषि तथा विकास केन्द्र ‐केड) सुर्खेतले केही महिना अघि दैलेख र सुर्खेतका दुई÷दुई वटा पालिकामा छाउपडीको अवस्था विश्लेषण गरेको थियो । दैलेखको दुल्लू नगरपालिका र डुङ्गेश्वर गाउँपालिका तथा सुर्खेतको बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा गरिएको सर्वेक्षणले छाउपडी प्रथाका कारण महिलाहरूले जोखिमपूर्ण तरिकाले महिनावारी बार्ने गरेको देखाएको हो ।

अवस्था विश्लेषणका क्रममा पालिकाका १५ देखि ४९ वर्ष उमेर समूहका आठ सय जना महिलाहरू सहभागी थिए । अवस्थाको अध्ययन गर्दा अधिकांश महिलाहरूसँग छाउगोठमै पुगेर अन्तरर्वार्ता गरिएको केड सुर्खेतका कार्यक्रम अधिकृत सुमेश भट्टराईले बताए । उनका अनुसार केडले यो प्रतिवेदन झन्डै चार महिना लगाएर तयार पारेको हो । छाउपडी प्रथाको बढी प्रभाव रहेका दुई जिल्लाका चार वटा पालिका छनोट गरेर अध्ययन गरिएको भट्टराईले बताए । महिनावारी हुने उमेर समूहका महिलाहरूलाई महिनावारी भएको बेलाका भोगाइका साथै विभिन्न प्रश्नावली तयार पारेर अन्तर्वार्ता लगिएको थियो । त्यसका साथै अवस्था विश्लेषणका लागि तथ्याङ्क संकलन र समूहगत छलफलहरू गरिएका थिए । त्यसकै आधारमा प्रतिवेदन तयार पारिएको हो ।

चार पालिकामा गरिएको अध्ययनले ९१ प्रतिशत महिलाले महिनावारी बार्ने गरेको देखाएको छ । अध्ययनमा सहभागी भएका मध्ये करिब ६३ प्रतिशतले महिनावारी प्राकृतिक प्रक्रिया नभइ भगवानले गर्दा हुने गरेको धारणा राखेका थिए । ‘महिनावारी भएको बेला असुद्ध हुने भएकाले छाउगोठमा बस्ने गरेको उनीहरूको बुझाइ रहेको पाइयो,’ केडका कार्यक्रम अधिकृत भट्टराईले भने । महिनावारी बार्ने ९१ प्रतिशत किशोरी तथा महिलाहरू मध्ये ६७ प्रतिशत घरभन्दा पर बनाइएका असुरक्षित टहरा र गोठहरूमा बस्ने गरेका हुन् । यी चार वटा पालिकामा महिनावारी भएको बेला करिब ८४ प्रतिशतले दुध दहीबाट बनेका परिकार नखाने गरेको पाइएको छ । अध्ययन प्रतिवेदनअनुसार छाउगोठमा बस्दा करिब ८० प्रतिशतलाई जनावरको डर र जोखिम हुने गगरेको छ । त्यस्तै, ६८ प्रतिशत महिला तथा किशोरीहरूले छाउगोठमा बस्दा बलात्कार र यौनजन्य हिंसाको डर हुने गरेको बताएका छन् ।

प्रकाशित मितिः   २० पुष २०७९, बुधबार ०५:०४