हिमाली जिल्लामा आवासीय विद्यालयको परिकल्पना
सुर्खेत: शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्न आवासीय विद्यालयको प्रस्ताव अघि सारिएको छ । कर्णालीका हिमाली जिल्लाहरूमा प्रतिकूल परिस्थितिको प्रभावकारी सामना गर्न आवासीय विद्यालय स्थापनाको परिकल्पना गरिएको हो । शिक्षा क्षेत्रका लागि प्रदेशस्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशालाले आवासीय विद्यालय आवश्यक रहेको औंल्याएको छ । शैक्षिक सत्रभरी बालबालिकालाई पढाउने व्यवस्था गर्न आवासीय तथा घुम्ती विद्यालयको योजना ल्याइनुपर्ने बताइएको छ । विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, महामारी र प्राकृतिक विपद्जन्य घटनाका कारण हिमाली भेकका थुप्रै बालबालिका पढाइबाट वञ्चित हुने गरेका छन् । कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाका कतिपय विद्यालयमा नियमित पठनपाठनमा समस्या हुँदै आएको छ । त्यस्ता ठाउँहरूमा आवासीय विद्यालय सञ्चालन गरेर नियमित पठनपाठनको व्यवस्था मिलाइनुपर्ने सरोकारवालाहरूको जोड छ ।
हुम्लामा एक सय ५१ सामुदायिक विद्यालय छन् । जिल्लाका १७ वटा सामुदायिक विद्यालय मौसम प्रतिकूलताका कारण हरेक वर्ष झन्डै पाँच महिना ठप्प हुन्छन् । त्यहाँका ७५ सामुुदायिक विद्यालय आंशिक रूपमा प्रभाव हुने गरेका छन् । हुम्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलकप्रसाद भट्टराई प्रतिकूल मौसमका कारण बालबालिकाको पढाइमा असर परिरहेको बताउँछन् । उनका अनुसार भौगोलिक विकटताले गर्दा विद्यालय पुग्न दुई÷तीन घण्टा हिँड्नु पर्ने बाध्यता छ । उच्च हिमाली क्षेत्रका कतिपय विद्यालय प्रत्येक वर्ष मंसिरदेखि फागुुनसम्म बन्द हुने गरेको भट्टराईले बताए ।
हिमपातका कारण माथिल्लो डोल्पामा केही विद्यालय ६ महिना पूर्णरूपमा ठप्प हुन्छन् । सञ्चारको पहुँचसमेत नहुँदा वैकल्पिक माध्यमबाट पनि पठनपाठन सम्भव छैन । उच्च हिमपात र भौगोलिक कठिनाइका कारण बालबालिका नियमित विद्यालय जान सक्दैनन् । शिक्षा क्षेत्रको विपद् पूर्वतयारी र प्रतिकार्य योजना बनाउँदा हिमाली जिल्लाहरूलाई केन्द्रमा राख्नुपर्ने डोल्पाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर बस्नेत बताउँछन् । ‘उच्च हिमपातका कारण ६ महिना विद्यालय बन्द हुन्छन्, भौगोलिक अवस्था निकै जटिल छ,’ उनले भने, ‘जनशक्ति र शैक्षिक पूर्वाधारको अभाव हुँदा बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छैनन् ।’
स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा पठनपाठन झनै प्रभावित भइरहेको सरोकारवालाहरूले बताएका छन् । हिमाली क्षेत्रका धेरैजसो पालिकाहरूले स्थानीय शिक्षा योजना बनाएका छैनन् । अत्यधिक हिमपातका कारण चिसो हुनु, भौतिक संरचना तथा आवश्यक पूर्वाधारको अभाव, छरिएर रहेका बस्ती र सूचना तथा सञ्चारको पहुँच नहुनुले हिमाली जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ । कर्णाली प्रदेशका उत्तरी भेकका उच्च हिमाली क्षेत्रहरूमा मंसिरदेखि माघसम्म कठ्यांग्रिने मौसम हुन्छ । जसले गर्दा उक्त समयमा विद्यालय सञ्चालन हुँदैनन् । प्रदेशभरका करिब एक सय हाराहारी विद्यालमा हिमपातका तथा चिसोका कारण बर्सेनि पठपाठनमा असर पर्ने गरेको हो । सो क्षेत्रका झन्डै एक हजार विद्यार्थी पूर्णरूपमा प्रभावित हुने गरेको बताइएको छ ।
हिमाली क्षेत्रमा स्थानीय सरकारले पुस १५ देखि फागुनसम्म विद्यालयमा हिउँदे बिदा दिने गरको छन् । माथिल्लो डोल्पा, हुम्ला र मुगुका केही विद्यालयहरूलाई हिमपातले बढी असर गर्ने तथा विद्यालयहरू फागुनसम्म बन्द हुँदा बालबालिकाको पढाइ प्रभावित बन्ने गरेको छ । अन्य समयमा समेत हिमपात हुने र हप्तौसम्म विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था रहेको डोल्पाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बस्नेतले बताए । पठनपाठन नियमित गराउन हिमाली जिल्लाहरूमा आवासीय तथा घुम्ती विद्यालयहरू आवश्यक रहेको उनको भनाइ छ ।
हिमपातका कारण हरेक वर्ष कर्णालीका हिमाली क्षेत्रका १३ वटा पालिकाहरू प्रभावित हुने गरेका छन् । हिमपातका कारण कतिपय बस्तीहरू तल्लो क्षेत्रमा बसाइँ सर्ने गरेका छन् । उच्च क्षेत्रका बासिन्दा बेसी झरेपछि विद्यार्थीहरूको पठनपाठनमा पनि असर पर्ने गरेको छ । प्रतिकूल मौसमले गर्दा एक शैक्षिक सत्रमा एक सय २० दिनभन्दा बढी विद्यालयहरू बन्द हुने गर्छन् । पठनपाठन नियमित हुन नसकेका पाठ्यक्रम पूरा हुँदैन । जसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धीसमेत कमजोर हुने गरेको हुम्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भट्टराईले बताए । उनी भन्छन्, ‘विद्यार्थीहरूको अभ्यास र सीप विकास हुन सकेको छैन, विद्यालय नियमित नखुल्ने र शिक्षकहरू पनि समयमा विद्यालय नजाने जस्ता समस्या व्यापक छन् ।’ बालबालिकाको पढाइ निरन्तरताको विकल्प भनेकै आवासीय तथा घुम्ती विद्यालय सञ्चालन रहेको उनको भनाइ छ ।
कर्णालीमा शिक्षा क्षेत्रका लागि प्रदेशस्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार पारिएको छ । जसमा वातावरणनुकूलित आवासीय विद्यालयको विकास र सुधार गर्नुपर्ने विषय उठाइएको छ । यसैगरी शिक्षक तथा सहजकर्तालाई आवश्यक अनुशिक्षण र परामर्श प्रदान गर्ने तथा नियमित पठनपाठन सञ्चालन गर्न समुुदाय परिचालनका साथै सचेतीकरणमा जोड दिनुपर्ने सवाल मस्यौदामा समेटिएको छ । हिमाली क्षेत्रमा मौसम सुहाउँदो विपद् प्रतिकार्य योजना बनाउनुपर्ने, भौतिक संरचना बनाउँदा उपयुक्त स्थानको छनोट गरिनुपर्ने, विद्यालयहरू अस्थायी रूपमा सार्नेलगायतका योजना मस्यौदामा समावेश गरिएका छन् । सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले प्रदेशका १० वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि र सरोकारवालाहरूको सुझावका आधारमा शिक्षा क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार पारिएको जनाए ।
प्रकाशित मितिः १७ पुष २०७९, आईतवार ०५:०५
रजनी याेगी ।