पुल बनेपछि निर्धक्क विद्यालय (भिडियोसहित)

ज्यान नै हत्केलामा राखेर स्कुल जानुपर्ने । उर्लंदो भेरीमा काठको डुङ्गामा यात्रा गर्नुपर्ने बाध्यता । समयमा नै स्कुल पुग्न मुस्किल । डुङ्गा नचलेको दिन त उनको स्कुल नै छुट्थ्यो । नदी तर्नेक्रममा किताब र शरीरको लुगा पनि भिज्ने । पढेर ठूलो मान्छे बन्ने सपना बोकेकी हरिहरपुरकी चन्द्रा सिंहले साढे दुई वर्षसम्म आँखा चिम्लेरै नदीमा वारपार गरिन् । ती दिन सम्झिंदा अहिले पनि उनको शरीरमा पीडाका काँडा उम्रिन्छन् ।

स्थानीय भेरी माध्यमिक विद्यालयमा अध्यनरत चन्द्रा अब भने निर्धक्क भएर स्कुल जान थालेकी छन् । बाढीले बगाएको साढे दुई वर्षपछि रानीघाटस्थित भेरीमा झोलुङ्गे पुल बनेपछि नदीमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने उनको बाध्यता टरेको हो । ‘अब स्कुल जान समस्या छैन, पुल बनेपछि त समयमा नै स्कुल पुगिन्छ’ उनी भन्छिन्, ‘भाग्यमा बाँच्न लेखेको रहेछ, डुङ्गामा यात्रा गर्दा अप्रिय केही भएन । पहिला त डरले धेरै दिन स्कुल नै गइन, पुल बनेदेखि पाँच मिनेटमै स्कुल पुग्छु ।’ हातमा किताब च्यापेर पुलबाट स्कुल जाँदै गरेकी उनको अनुहारमा खुशीका धर्साहरू प्रष्टै देखिन्थे । पुल नहुँदा उनलाई स्कुल जाँदा नदी तर्न दुई घण्टा समय लाग्थ्यो । तर अहिले झोलुङ्गे पुल निर्माण भएपछि पाँच मिनेटमै स्कुलमा पुग्ने गरेको उनले बताइन् ।

साढे दुई वर्ष पहिला साउनमा आएको बाढीले भेरी नदीको पुल बगाएको थियो । समयमा नै पुल नबन्दा हरिहरपुरका विद्यार्थीहरू काठको डुङ्गामा नदी तरेर स्कुल जान बाध्य थिए । डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका कारण अधिकांश बालबालिकाहरूले बीचमै विद्यालय नै छाडे । यस्तै अधिकांश विद्यार्थीहरू नियमित रूपमा स्कुल गएनन् । तर हेल्भेटास नामक संस्थाले नदीमा अहिले झोलुङ्गे पुल निर्माण गरिदिएको छ । हिजोआज विद्यार्थीहरू ढुक्कसँग स्कुल आउजाउ गर्न थालेका हुन् । स्कुल जाँदै गरेकी रत्नकला थापाले भनिन्, ‘यहाँ भगवान् पनि रहेछन्, जसले हाम्रो लागि पुल बनाइदिए । पहिला डुङ्गामा यात्रा गर्न निकै डर लाग्थ्यो, कति दिन त म स्कुल नै गइन ।’ पुल बनेपछि आफूहरू ढुक्कसँग स्कुल जान थालेको उनको भनाइ छ । डुङ्गामा यात्रा गर्नुपर्दा घण्टौंसम्म कुरेको स्मरण गर्दै उनले अब वर्षात्को समयमा पनि निर्धक्क स्कुल जान पाइने भन्दै खुशीसमेत व्यक्त गरिन् ।

नदीमा बनेको पुल सञ्चालनमा आएको करिब दुई साता मात्र भएको छ । यसअघि पुल नहुँदा विद्यार्थीहरूले सास्ती भोग्दै आएको समाचार साझा बिसौनीमा बारम्बार प्रकाशित भएको थियो । करिब दुई महिनाको अवधिमा नै पुल निर्माणको काम सम्पन्न भएको हो । एक करोड ६१ लाख रूपैयाँको लागतमा पुल बनेको हेल्भेटासका ज्ञानेन्द्र राजभण्डारीले बताए । उनका अनुसार यो पुलको लम्बाई दुई सय ३७ मिटर रहेको छ । पुल निर्माण भएपछि विद्यालयमा विद्यार्थीहरू नियमित हाजिर हुन थालेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढा भन्छन्, ‘यो भर्नाको समय त होइन, तर पुल बनेपछि सानो कक्षाका विद्यार्थीहरू विद्यालयमा आउन थालेका छन् । पहिलाको तुलनामा विद्यार्थीहरूको संख्या बढेको छ, बीचमै पढाइ छाडेकाहरू पनि पुल बनेपछि हाजिर भएका छन् ।’ पुल निर्माण भएपछि अब वर्षात्को समयमा पनि विद्यालय नियमित सञ्चालन हुने उनको भनाइ छ । यसअघि वर्षात्मा नदीमा पानीको बहाव बढ्ने र डुङ्गा सञ्चालन नहुँदा विद्यालय नै बन्द हुँदै आएको थियो । उनले पुल निर्माण भएपछि विद्यार्थीहरू निर्धक्क भएर स्कुल आउन थालेको जनाए ।

हरिहरपुरको थापाडेरा, डोप्का, सिस्नेरी लगायतका गाउँबाट सात दर्जनभन्दा बढी विद्यार्थी भेरी माविमा भर्ना भएका छन् । उनीहरूलाई विद्यालय पुग्नका लागि भेरी नदी तर्नैपर्ने बाध्यता छ । यसअघि नदी तर्नका लागि डुङ्गा चढ्नैपर्ने बाध्यता थियो । तर अब नदीमा पुल बनेपछि उनीहरू यो समस्याबाट मुक्त भएका हुन् । भेरी माध्यमिक विद्यालयका अनुसार थापाडेरा, डोप्का, सिस्नेरी लगायतका गाउँका ९१ जना बालबालिकाहरू विद्यालयमा भर्ना भएका छन् । यस्तै पुल बनेपछि हरिहरपुर गाविसका सबै नागरिकलाई सुविधा भएको छ । बाढीले घर बगाउँदा अहिले पनि हरिहरपुरका एक सय ७४ परिवार गाउँबाट विस्थापित भइ गिरीघाटस्थित जंगलमा रहेको शिविरमा त्रिपालको टहरामा कष्टपूर्ण अवस्थामा बस्दै आएका छन् ।

हेर्नुस् भिडियोमा

प्रकाशित मितिः   २५ पुष २०७३, सोमबार १४:१८