उत्कृष्ट फुटबलर घोषणा आज, कसले मार्ला बाजी ?

आज फिफाले सन् २०१६ को उत्कृष्ट फुटबलरको नाम घोषणा गर्दैछ ।

उत्कृष्ट फुटबलर को ? अन्तर्राष्ट्रिय फुटबलमा यो बहस सधैं चलिरहन्छ । एक दशकयता भने यो बहस क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीमा केन्द्रित छ । यही बहसमा सन् २००८ यता रोनाल्डो र मेसीको पक्षविपक्षमा विभाजित छन्, फुटबलपारखी ।

रोनाल्डो र मेसी विश्वकै उत्कृष्ट, एकआपसमा प्रतिद्वन्द्वी दुई स्पेनी क्लब रियल म्याड्रिड र बार्सिलोनासँग सम्बन्धित छन् । फरक क्लबसँगै यी दुई खेलाडीको फुटबल संस्कार र खेल्ने शैली पनि फरक छ । उनीहरूको स्वभाव झनै फरक छ ।

रोनाल्डो मैदानमा आक्रामक रूपमा प्रस्तुत हुन्छन् । उनको शारीरिक हाउभाउ पनि आक्रामक हुने गर्छ । त्यसैले रोनाल्डोका आलोचक उनलाई रिसाहा पनि भन्ने गर्छन् । उनको मैदानबाहिरको जीवन पनि विवादास्पद नै छ । कोख किनेर (सरोगेसी मदर) छोरा जन्माएका रोनाल्डो प्रेममिका फेरिरहन्छन् । नियमित रूपमा नाइट क्लब धाउँछन् ।

मेस्सी भने त्यसको ठीक विपरीत छन् । मैदानमा उनी सधैं शान्त रूपमा प्रस्तुत हुन्छन् । लामो समयदेखि एन्टोनेल्ला रोकुज्जोसँग प्रेमसम्बन्धमा छन् । उनीहरूका दुई नानी पनि भइसकेका छन् । मेस्सीले प्रेमिका फेरेको र नाइट क्लब धाएको समाचार सुनिएको छैन । यी दुई खेलाडीको विपरीत स्वभावले पनि समर्थकलाई प्रभाव पार्ने गरेको छ । रोनाल्डो र मेसीको फुटबल कलालाई मात्र हैन, मैदानभित्र र बाहिर उनीहरूले प्रस्तुत गर्ने व्यवहारलाई समेत लिएर समर्थकहरू पक्षविपक्षमा लामै समय बहस गर्छन् । फेरि पनि निष्कर्ष भने आआफ्नै अडान हुने गर्छ ।

समर्थकहरूको यही बहसलाई केही हदसम्म अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले प्रत्येक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडीको अवार्डले मत्थर पार्ने गर्छ । त्यसैले फुटबलका पारखीहरू प्रत्येक अंग्रेजी नयाँ वर्षसँगै फिफा वर्ष खेलाडीको घोषणाको प्रतीक्षामा रहन्छन्, जुन प्रतीक्षा यो वर्ष पनि छ ।

आज फिफाले सन् २०१६ को उत्कृष्ट फुटबलरको नाम घोषणा गर्दैछ । यो वर्षबाट भने अवार्डको अगाडि ‘बेलोन्डे अर’को ट्याग झुन्डिनेछैन । फ्रान्स फुटबलसँगको सहकार्यमा सन् २०१० देखि वर्षको उत्कृष्ट फुटबलरलाई ‘फिफा बेलोन्डेअर अवार्ड’ प्रदान गर्दै आएको फिफाले यसै वर्षबाट सहकार्य तोडेको छ । त्यसैले ६ वर्षपछि फिफाले फेरि वर्षको उत्कृष्ट एक फुटबलरलाई ‘फिफा बेस्ट प्लेयर अफ दी इयर’बाट पुरस्कृत गर्दैछ ।

यो अवार्डका लागि पछिल्लो आठ वर्षजस्तै यसपटक पनि रोनाल्डो र मेसी सर्ट लिस्टमा परेका छन् । यस वर्ष उनीहरूलाई टक्कर दिँदैछन्, अर्को स्पेनी क्लब एट्लेटिको म्याड्रिडका फ्रान्सेली स्ट्राइकर स्टोइन ग्रिजम्यानले ।

यी तीनै स्ट्राइकर सन् २०१६ मा निकै चम्किएका खेलाडी हुन् । सन् २०१६ रोनाल्डोका लागि अविस्मरणीय वर्ष नै बन्यो । यो वर्ष रोनाल्डोले आफ्नो करिअरकै ठूलो सफलता हात पारे । उनी सन् २०१६ मा क्लब र राष्ट्रिय टिम गरी दुवै टोलीबाट युरोपियन च्याम्पियन बने ।
रोनाल्डोले गत वर्ष आफ्नो क्लब रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाए । त्यसपछि गत भदौमा फ्रान्समा सम्पन्न मिनी विश्वकप भनिने युरोकपमा पनि रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई च्याम्पियन बनाए । सिनियर राष्ट्रिय टोलीबाट रोनाल्डोले जितेको यो नै पहिलो उपाधि हो ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडले उपाधि जित्दा रोनाल्डो नै सर्वाधिक गोलकर्ता थिए । टोलीका लागि उनी एक्लैले १६ गोल गरे । जब कि रोनाल्डोपछिका दोस्रो सर्वाधिक गोलकर्ता बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले सात गोल कम अर्थात् नौ गोलमात्रै गरेका थिए ।
यस वर्ष मेसीको उपलब्धि पनि कम छैन । मेसीले सन् २०१६ मा आफ्नो टोली बार्सिलोनालाई स्पेनी लिग, कोपा डेल रे र स्पानिस सुपर कप गरी तीन ठूला प्रतियोगिताको उपाधि दिलाए । बार्सिलोनाबाट ‘स्पेनी ला लिगा’को आठौं उपाधि उचाल्ने क्रममा मेसीले यो वर्ष २० गोल गरे । रोचक त के भने उनले आफ्ना सहकर्मीलाई थप १६ गोलका लागि अवसर सिर्जना गरिदिए ।

मेसीले यो वर्ष दक्षिण अमेरीकी देशहरूबीचको प्रतियोगिता कोपा अमेरिका सुरु भएको एक सय वर्ष पुगेको अवसरमा आयोजित विशेष संस्करण ‘कोपा सेन्टेनरियो’मा आफ्नो देश अर्जेन्टिनालाई फाइनलमा पुर्‍याए । चिलीसँग पराजित भएर आफ्नो देशलाई उपाधि दिलाउन नसके पनि सदाझैं छाप छाड्न भने सफल रहे । प्रतियोगितामा अन्य कुनै पनि खेलाडीले भन्दा बढी गोल अवसर सिर्जना गरेका मेसी प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता बने ।

फ्रान्सेली ग्रिजम्यानले पनि यस वर्ष रोनाल्डो र मेसीलाई टक्कर दिने उपलब्धि हात पारेका छन् । एट्लेटिको म्याड्रिड यस वर्ष स्पेनिस ला लिगामा तेस्रो स्थानमा सीमित बन्यो । आफ्नै देशले आयोजना गरेको युरोकपमा पनि ग्रिजम्यानको टोली फ्रान्स उपविजेतामै सीमित भयो । तर, एट्लेटिको म्याड्रिड र फ्रान्सेली राष्ट्रिय टोलीका एक्ला स्ट्राइकर ग्रिजमान दुवै प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भए । सन् २०१६ मा क्लब र देशका लागि कुल ४० गोल गरेका ग्रिजम्यान यही प्रदर्शनका आधारमा अवार्डका लागि अन्तिम तीनजनामा छानिएका हुन् ।

रोनाल्डो, मेसी र ग्रिजम्यान तीनै खेलाडीले गत वर्ष आफ्नो क्लब र राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण योगदान दिए । तर, सफलताको दृष्टिबाट क्लब र देशको दुवै टोलीबाट उपाधि जितेका रोनाल्डो प्रतिस्पर्धामा तुलनात्मक रूपमा अघि देखिएका छन् ।

गत महिना फ्रान्स फुटबलले घोषणा गरेको सन् २०१६ को ‘बेलोन डे अर’को उपाधि भने रोनाल्डोले जिते । त्यसले फिफा वर्ष खेलाडीको अवार्डमा पनि रोनाल्डोकै सम्भावना बढी देखाएको छ । यद्यपि विश्वका दुई सय दुई देशका कप्तान र मुख्य प्रशिक्षक, विशेष प्रक्रियामार्फत छनोट गरिएका ३० फुटबल पत्रकार तथा फुटबल समर्थकबाट छानिने फिफा वर्ष खेलाडीको अवार्ड यी तीनमध्ये कुनै पनि खेलाडीले जित्न सक्नेछन् ।

फिफाले दुई सय दुई राष्ट्रका कप्तान र मुख्य प्रशिक्षकहरूको मतलाई ५० प्रतिशत र फुटबल समर्थकहरूले फिफा डट कममा दिएको मतलाई ५० प्रतिशत मानेर विजेता खेलाडीको नाम सार्वजनिक गर्ने गर्छ । त्यसमा खेलाडीको उपलब्धि र सफलतामात्रै हैन, उनीहरूको व्यक्तिगत र सार्वजनिक आचरण पनि कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकबाट प्राप्त हुने मतको आधार बन्नसक्छ ।

अवार्डका निम्ति तीन खेलाडी प्रतिस्पर्धामा छन् । यी तीनै स्ट्राइकर सन् २०१६ मा निक्कै चम्किएका खेलाडी हुन् । रमाइलो संयोग, यी तीनमध्ये मत जसको पक्षमा गए पनि विजेता स्पेनी क्लबसँगै जोडिनेछन् । पछिल्लो ६ वर्षयता फिफा बेलोन डे अर अवार्डका लागि त दुई स्पेनी क्लब रियल म्याड्रिड र बार्सिलोनाकै खेलाडीबीच मात्र प्रतिस्पर्धा हुँदै आइरहेको छ । सन् २०१३ मा बायर्न म्युनिखबाट फ्रांक रिबेरी तथा सन् ०१४ मा बायर्नकै म्यानुअल न्युयर सर्ट लिस्टमा पर्नुबाहेक पछिल्लो ६ वर्षयता रियल म्याड्रिड र बार्सिलोनाकै खेलाडीमात्रै सर्ट लिस्टमा परेका छन् ।
यो अवधिमा बार्सिलोनाका मेसीले मात्रै चारपटक फिफा बेलोन डे अर अवार्ड जितेका छन् भने रोनाल्डोले दुईपटक जितेका छन् । त्यसअघि दुवै खेलाडीले फिफा प्लेयर अफ दी इयरको उपाधि जितेका छन् ।

फिफाले सोमबार नै वर्षको उत्कृष्ट महिला फुटबलरसमेत घोषणा गर्दैछ । यो वर्ष वर्षको उत्कृष्ट महिला खेलाडीका लागि जर्मनीकी मेलानी बेहरिंगर, अमेरिकाकी कार्ली ल्होइड र ब्राजिलकी मार्ता सर्ट लिस्टमा परेका छन् ।

यस्तै फिफाले सोमबार नै पुरुष र महिलातर्फको वर्षको उत्कृष्ट प्रशिक्षकको नामसमेत घोषणा गर्दैछ । फिफाले वर्षको उत्कृष्ट गोललाई प्रदान गर्ने पुस्कास अवार्ड तथा फेयर प्ले टोली पनि सार्वजनिक गर्नेछ ।

अन्नपुर्णबाट

प्रकाशित मितिः   २५ पुष २०७३, सोमबार १४:४५