संवेदनशीलता खै ?
चितवनको भरतपुर वीरेन्द्र बहुमुखी क्याम्पसको अगाडिको चौकमा रहेको स्टेशनरीबाट एउटा मानिसले रिर्चाज कार्ड किने । सो पसलमै उनले त्यो स्क्र्याच गरे र त्यो कार्ड अगाडि सडकमा फाले । त्यो सबै पसलको मान्छेले हेरिरहेका थिए । त्यो मानिस गइसकेपछि ती पसले पसलबाट बाहिर निस्के र सडकमा फालिएको त्यो रिचार्ज कार्ड ल्याए, आफ्नो पसलभित्र रहेको डस्टवीनमा फाले । केही समयपछि मैले त्यो लाइनमा लहरै रहेका पसल अगाडि र नजिकको सडक हेरें, त्यहाँ कुनै पनि प्लास्टिक थिएन । सडक एकदम सफा थियो ।
…
प्रायः हरेक वर्ष वीरेन्द्रनगरमा मेला तथा महोत्सव सञ्चालन हुन्छन् । मेला–महोत्सव मात्र होइन, वीरेन्द्रनगरमा अन्य धेरै कार्यक्रमहरू पनि हुन्छन्, जुन सार्वजनिक सहभागितामूलक हुन्छन् । ती कार्यक्रमहरू ठूलै माहोल लिएर आउँछन् । पछिल्लो समयमा वीरेन्द्रनगरमा भएका विभिन्न धार्मिक महोत्सव, विभिन्न संघ–संस्थाका अधिवेशन, विभिन्न राजनैतिक दलका प्रशिक्षण कार्यक्रम तथा भर्खरै मात्र समापन भएको कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलाको प्रचार–प्रसारको लागि विभिन्न साधनको प्रयोग गरियो । त्यो मध्ये धेरै प्रयोग गरिएको साधन थियो ब्यानर । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको प्रवेशद्वार मानिने मंगलगढीचौकदेखि वीरेन्द्रचौकसम्मका सडकमाथि ब्यानरहरू झुण्डाइए । त्यहाँमात्र होइन वीरेन्द्रनगरभित्रका प्रमुख सडकहरूमा यसैगरी व्यानर टाँगिए । ती मध्ये अधिंकाश ब्यानरहरू फ्याकिँएका छैनन । धेरै ठाँउमा भित्ताहरूमा तथा बिजुलीका पोलहरूमा टाँसिएका प्रचार सामग्री अझै उस्तै छन् । त्यस्ता ब्यानरले तत्काल त कार्यक्रमको शोभा बढाउँछ, स्वागत गर्न खोजिएको व्यक्तिलाई पनि प्रभावमा पार्नसक्छ तर कार्यक्रम समापन भइसकेपछि पनि त्यस्ता ब्यानर तथा प्रचार सामग्री नहटाउनाले यसले सहरको सुन्दरतामा नकारात्मक प्रभाव पार्न जान्छ । त्यस्ता सामग्रीहरू भरसक कम प्रयोग गर्नु पर्दछ, प्रयोग गरिएकै भए पनि समय सकिसकेपछि त्यसलाई त्यहाँबाट हटाउनु पर्दछ, समयमै सही तरिकाले व्यवस्थापन गर्नुपर्दछ । यसतर्फ सम्बन्धित निकायको ध्यान किन जान नसकेको ?
वीरेन्द्रनगरमा वर्षेनी विभिन्न महोत्सव भइरहन्छन् । पोहोर साल पनि एउटा महोत्सव भयो, अहिले साल पनि एउटा महोत्सव भयो । महोत्सव सकिसकेपछि महोत्सव भएको स्थानमा धेरै नै फोहोर जम्मा भएको हुन्छ । महोत्सव आयोजना गरिएको खुलामञ्चको चौरभरी नै प्लास्टिकहरू छन् । त्यसलाई हटाउन किन नसकेको ? कुनै अमुक अतिथिको अगाडि मान्छे धेरै देखाउन स्कुले विद्यार्थीलाई दिउँसभरी ¥यालीमा उभ्याउन सक्नेले एउटा सानो मैदानमा जम्मा भएको फोहोरलाई संकलन गरी नष्ट गर्न केही मान्छे पनि जम्मा गर्न सक्दैनन् ? सक्छन्, पक्कै सक्छन् तर त्यसप्रति उनीहरूको कुनै चाहना छैन । भएको भए महोत्सव सकिएको एक महिना बितिसक्दा पनि किन खुलामञ्चको चौरभरी प्लास्टिक छ ?
सामाजिक सञ्जालमा पंक्तिकारले उक्त गैरजिम्मेवारीपनप्रति प्रश्न खडा गर्दा त्यसलाई राजनैतिक दलसँग जोडेर केही भनाइहरू राखिए । यसलाई कसरी राजनीतिसँग जोड्न मिल्छ ? मेला उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको हो र उद्योग वाणिज्य संघ कुनै पनि राजनैतिक दलको हुँदैन । त्यहाँ प्रतिनिधित्व नगर्ने पक्षले पनि स–साना कुरालाई लिएर आलोचना गर्न मिल्दैनथ्यो । तर जुनसुकै संघ संगठनले गरेको भए पनि गलत काम त सधैं गलत हुन्छ । फोहोर उठाउने सम्बन्धमा उद्योग वाणिज्य संघ उदासिन भएको हुनाले यसको लागि उद्योग वाणिज्य संघ नै दोषी हो । तर त्यही फोहोर नउठाएकोले पूरै उद्योग वाणिज्य संघ खराब हो भन्ने होइन । उद्योग वाणिज्य संघले यस क्षेत्रको पर्यटन तथा व्यापार प्रवद्र्धनको निमित्त महत्वपूर्ण भूमिका खेलेकै हो । सुर्खेतलाई कर्णाली क्षेत्रको मुख्य क्षेत्र बनाउन पनि उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेल्यो, त्यो सह्रानीय छ । विचार बहसका कार्यक्रम पनि कर्णाली एक्स्पोको बेला चलाइयो जुन सदा प्रशंसनीय छ । तर सबै कुरा राम्रैसँग सकिँदा–सकिँदै सरसफाइको सवालमा भने गैरजिम्मेवार हुन त पाइदैन । त्यसमा पनि सुर्खेत उद्योग वाणिज्य संघ यस्तो निकाय हो जसले एक वर्षअघि वीरेन्द्रनगर सरसफाई अभियानको नेतृत्व नै गरेको थियो । उसकै नेतृत्व र पहलमा महिनौंसम्म हरेक हप्ताको शनिवार सरसफाइ अभियान चलाइए । त्यसले वीरेन्द्रनगरको सरसफाइमा महत्वपूर्ण भूमिका खेलेको कुरा कसैले नकार्न सक्दैन । तर सोही संस्थाले आयोजना गरेको मेला समापनपछि उक्त स्थलमा भएको फोहोर व्यवस्थापन नहुनुले कस्तो सन्देश जान्छ ? सम्बन्धित पक्षले ध्यान दिनुपर्ने कुरा यही हो ।
मैले खुलामञ्चको फोहोर र उधोग वाणिज्य संघको मात्र कुरा गरिराखेको छैन, त्यसभन्दा अगाडि वीरेन्द्रनगरमा भएको धार्मिक महोत्सवको कुरा पनि यो सँग जोडिन्छ । धार्मिक महोत्सवको बेला महोत्सवमा निम्ता पठाउन छापिएका फ्लेक्सहरू अझै पनि धेरै जसो बिजुलीका खम्बाहरूमा, रुखहरूमा, चौतारीहरूमा झुण्डिएकै छन् । धार्मिक महोत्सव सकिएको पनि धेरै समय भइसकेको छ तर पनि त्यस्ता प्रचार सामग्रीहरू अझैं पनि सार्वजनिक स्थानमै छन् । यसले सहरको सुन्दरतालाई नकारात्मक असर गर्छ । प्राथमिक असर त यो छँदैछ साथै यसबाट सूचनाको गलत बुझाइ पनि हुनसक्छ । यसतर्फ आयोजक निकायहरूले ध्यान दिनु जरुरी छ ।
पछिल्ला केही समयमा भित्ते लेखन खासै प्रचलनमा छैन । तर कहीं कतै विभिन्न राजनैतिक दलसम्बध संगठनहरूले भित्ते लेखन गरिनै रहेका छन् । क्याम्पसहरूको पर्खालमा नारा लेखेर कोही मान्छे उनीहरूप्रति प्रभावित हुने पनि होइनन्, यसले त झन् शिक्षा प्राप्तीको पवित्र उद्देश्य वोकेर शैक्षिक संस्थाको ढोकासम्म पुगेका उनीहरूलाई बाहिरै भित्तामा पोतिएका अक्षरहरूले पक्कै पनि सम्मोहित गर्दैनन् बरु तीनले विचलित बनाउँछन् । भित्ते लेखनको क्रम अत्यन्त पातलिएको भए पनि कहिंकतै लेखिएको भित्ते लेखन पनि त्यस्ता लेख्ने पक्षले नै मेटाउन जरुरी छ । आफ्नो प्रचार त राम्रो काम गरेर पो गर्नुपर्छ त, लेखेर वा लेखाइएर वा अरुलाई देखाएर आफूलाई राम्रो देखाउने प्रयत्न गर्नु कतिसम्म जायज ?
सहरलाई राम्रो बनाउन होटलमा सेमिनार आयोजना गरेर मात्र हुँदैन, प्रमुख अतिथिलाई दोसल्ला ओडाइ दिएर मात्र पनि हुँदैन, हामी प्रत्येकको व्यवहारमा आमूल परिवर्तन आउनु सख्त जरुरी छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा व्यापार व्यवसाय गरेका प्रत्येक व्यापारीले आफ्नो पसलबाट निस्केको फोहोर जथाभावी नफालेर जम्मा गरेर राख्ने र नगरपालिको गाडीमा पठाउने सानो कष्ट गरे मात्रै पनि सरसफाइको क्षेत्रमा उल्लेखनीय प्रगती हुन सक्दछ । यसका साथसाथै आफ्नो पसलको अगाडि मात्रै भए पनि सफा राख्न कोशिस गर्ने हो भने लभगभग व्यापारिक क्षेत्र रहेको वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अत्यन्त सुन्दर र सफा देखिनेछ । सकारात्मक कुरा चाहिँ के मान्नुपर्छ भने पछिल्लो समय वीरेन्द्रनगर बजारक्षेत्रमा व्यापारीहरू सरसफाइको लागि सजग छन् । यस्तो सकारात्मक पहल सुरु गरेकाले निरन्तरता दिने र अझैंसम्म सुरु गर्न नसकेकाले सुरु गर्ने हो भने हाम्रो आँखै अगाडि परिवर्तन सम्भव छ । सम्पूर्ण सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू, संघ–संस्थाहरू र जिम्मेवार निकायहरूले सरसफाइको मामलामा अत्यन्त सक्रिय भूमिका खेल्नुपर्दछ । तबमात्र हाम्रो सहर स्वच्छ र सरसफाइको एउटा उदाहरणको रूपमा रहनेछ ।
…
ग्राहकले फालेको फोहोर आफै व्यवस्थापन गरेर सहरको सरसफाइप्रति जिम्मेवार बनेका चितवनरका व्यवसायीहरूबाट वीरेन्द्रनगरका व्यवसायीहरूले किन नसिक्ने ? आखिर सहरको फोहोरले पार्ने नकारात्मक असरको पहिलो सिकार यहाँका व्यवसायीहरू नै हुन् । आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुनुछ भने आफू वरपरको वातावरणको सरसफाइप्रति पनि संवेदनशील हुन जरुरी छ । सुन्दर र सभ्य समाज निर्माणको जिम्मेवारी तपाईं हामी सबैको हो ।
साझा बिसौनी ।