‘शून्यको मूल्य’माथि अन्तरसंवाद

सुर्खेत: डा. नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ माथि अन्तरसंवाद गरिएको छ । शनिवार काठमाडौंमा पुस्तक सार्वजनिकसँगै त्यसमाथि अन्तरसंवाद गरिएको हो ।

डा. बाबुराम भट्टराई, डा. अरुणा उप्रेति, डा. रिता थापा र कलाकार सुरक्षा पन्तले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । अन्तरसंवादमा सहभागी जनश्वास्थ्यविद डा. अरुणा उप्रेतिले पुस्तक कर्णालीको ऐना भएको बताइन् । यसले कर्णाली र सिँगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रियकोण प्रस्तुत गरेको उनको भनाइ थियो । डा. उप्रेतिले शून्यको मूल्य कर्णालीको कहाली र त्यो कहालीभित्रको कहानी भएको टिप्पणी गरिन् ।

त्यस्तै अर्की वक्ता जनश्वास्थ्यविद डा. रिता थापाले स्वास्थ्यका कुरालाई मेडिकल जार्गनमा नभनी रैथाने भाषामा भनिएकाले पुस्तकले पाठकलाई तानिरहने बताइन् । भावुकता मात्र नभइ वैज्ञानिक मान्यतालाई आधार बनाएकाले यो पुस्तक तथ्योन्मुख भएको उनको धारणा थियो । स्वास्थ्य सेवालाई स्थानीयस्तरमा सुदृढ गर्न विभिन्न कथाका माध्यमले भनिएको कुरा सबै नीतिनिर्माताले बुझ्नुपर्नेमा समेत थापाले जोड दिइन् ।

कलाकार सुरक्षा पन्तले आफ्नो कर्णाली बसाइँको अनुभव सुनाउँदै शून्यको मूल्य तथ्य र भावनाको समिश्रण भएको बताइन् । डाक्टर केसीको कथा भन्ने शैलीले कायल पारेको बताउँदै उनले यस पुस्तकले सर्वसाधारण पाठकदेखि नीति निर्माण तहका पाठकलाई पनि तान्ने पन्तको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भाषामा लेखिएका कमै पुस्तकमात्र आफूले दोहो¥याएर पढ्ने गरेको बताउँदै शून्यको मूल्य दोहो¥याएर पढेको अनुभव सुनाए । मूल्य विज्ञान र कलाको समिश्रण भएर पुस्तक पठनिय बनेको उनले जनाए । ‘जान्ने भएपछि आँशु झारेर नरोएको धेरै भएको थियो । यो पुस्तकले मेरो आँखाबाट कतिपटक आँशु झार्यो मैले गन्नै सकिनँ’ भट्टराईले पठन अनुभूति बताए ।

बालरोग विशेषज्ञ डा. केसीको यो पहिलो पुस्तक हो । उनी लामो समयदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कार्यरत छन् । सांग्रीला बुक्सले प्रकाशित गरेको पुस्तक सिर्जनात्मक गैरआख्यान विधाको हो । यसअघि सुर्खेतमा सार्वजनिक गरिएको पुस्तक शनिवार काठमाडौंमा समेत अन्तरसंवादसहित सार्वजनिक गरिएको हो ।

प्रकाशित मितिः   १७ पुष २०७९, आईतवार ०५:०१