सुर्खेत–हुम्ला नियमित उडान

सुर्खेत: सुर्खेत विमानस्थलबाट हुम्लामा नियमित हवाइ सेवा सुरु गरिएको छ । यो रुटमा लामो समयदेखि हवाइ सेवा अनियमित बनेको थियो । सुर्खेत–हुम्ला नियमित उडान पुनः सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । केही दिनयता सीता र समिट एयरले दैनिक दुईदेखि तीन उडान भर्न थालेका हुन् । सुर्खेत विमानस्थल प्रमुख देवेन्द्रप्रसाद पाण्डेले सुर्खेत–हुम्ला नियमित हवाइ सेवा सञ्चालन भएसँगै नेपालगञ्ज गएर जहाज कुर्नुपर्ने बाध्यता टरेको बताए ।

शनिवार नागरिक उड्डयन प्राधिकरणको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पाण्डेले कर्णालीका विकट जिल्लाहरूमा नियमित उडान हुन थालेपछि यात्रुहरूलाई निकै सहज भएको जनाए । यही पुस १ गतेदेखि बुद्ध एयरले काठमाडौं–सुर्खेत ७२ सीटे जहाज दैनिक दुई उडान गर्दै आएको छ । त्यसअघि उक्त रुटमा बुद्ध एयरकै ४२ सीटे जहाजले दैनिक एक उडान भर्ने गरेको थियो । ठूलो क्षमताको जहाजको नियमित उडान थालिएपछि यात्रुहरूलाई अहिले थप सहज भएको छ । विगत ६८ वर्षदेखि सञ्चालनमा आएको सुर्खेत विमानस्थलले चालु आर्थिक वर्षको ६ महिनामा ४४ लाख राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ४१ लाखमात्रै राजस्व संकलन भएको थियो । ठूला जहाजहरूको उडानले राजस्व संकलनमा वृद्धि हुँदै जाने देखिएको बिमानस्थल प्रमुख पाण्डेले बताए ।

प्रकाशित मितिः   १७ पुष २०७९, आईतवार ०५:०१