बाढीपीडितको निःशुल्क उपचार

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ फागुन ।
बाढीपीडितहरूलाई लक्षित गरी एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर शनिवार हरिहरपुरमा सम्पन्न भएको छ । आयुर्वेदिक औषधिको सहज पहुँच तथा प्रचार गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । 
शिविरमा आउने धेरैजसो बाढीपीडित महिलाको महिनावारी गडबढी, तल्लो पेट दुख्ने, सेतोपानी बग्ने, पिसाब, यौनाङ्ग चिलाउने तथा पाठेघरको समस्या जस्ता बिरामी पाइएको भेरी अञ्चल आयुर्वेदिक औषधालय सुर्खेतले जनाएको छ । करिब २० महिनादेखि हरिहरपुरका विभिन्न स्थानमा खुला आकाशमुनीको बास बस्दै आएका ती बाढीप्रभावित महिलाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभावपर्दै गइरहेको डा. महेशकुमार खनालले बताए । उनले शिविरमा तीन सय ९५ जना महिलाको स्वास्थ्य जाँच गर्दा झण्डै अढाइ सयमा यौन समस्या रहेको जानकारी दिए । 
उनका अनुसार भेरी नदी वरीपारी सञ्चालन गरिएका शिविरबाट पाँच सय ३३ जनाले सेवा लिएका थिए । जसमा एक सय ३८ जना पुरुष समेत रहेका छन् । ‘बाढीप्रभावित क्षेत्रमा अस्वस्थ रहनसहन, कुपोषण तथा गरिबीले गर्दा धेरै प्रकारका समस्याहरू देखापरेका छन्,’ डा. खनालले भने, ‘हाम्रो स्रोत साधनले भ्याएसम्म सबै बिरामीलाई थप उपचारका लागि औषधालयमा आउन आव्हान गरेका छौं ।’ उनले जनतालाई सर्वसुलभ रूपमा आयुर्वेदिक उपचार सेवा पु¥याउनु नै औषधालयको मुख्य उद्देश्य रहेको जिकिर गरे । शिविरमा अम्लपित्त, वाथ, ग्रहणी, उच्च रक्तचाप, नशा सम्बन्धी समस्या, दम, पाइल्स, पिनास, दाँत, कान पाक्ने तथा टाउको दुख्ने समस्या भएका बिरामीले सेवा पाएका थिए । डा. खनाल नेतृत्वको २१ सदस्यी स्वास्थ्यकर्मीको टोलीमा कविराजद्वय श्रीराम आचार्य, दिनेशप्रसाद राय, वैद्यहरू नरेन्द्र कठायत, प्रेम शर्मा, नरबहादुर थापा लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः   ९ फाल्गुन २०७२, आईतवार १२:४९